छेकेन भूगोलले: कर्मथलो बेलायत, सेवा नेपाली गीत सङ्गीतको

छेकेन भूगोलले: कर्मथलो बेलायत, सेवा नेपाली गीत सङ्गीतको

चोक गुरुङ  |  साहित्य  |  भदौ १९, २०७८

भनिन्छ, सङ्गीतलाई कुनै पनि भूगोलले छेक्न सक्दैन । यो सर्वव्यापी हुन्छ र यसको परिभाषा पनि ब्रह्माण्डजस्तै अथाह छ । तर विभिन्न समयमा धेरै मानिसहरूले आ-आफ्नै तरिकाले सङ्गीतलाई परिभाषित गरेको पाइन्छ । कोही देवताहरूले बोल्ने भाषा हो, भन्छन् । कोही भन्छन्, दुःख शुखमा साथ दिने एउटा माध्यम हो । कसैले थकाई मार्ने चौतारी हो भने, त कसैले जादु हो भने । सङ्गीतलाई जसले, जसरी परिभाषित गरेता पनि सङ्गीतको झङ्कारले मानिसको मन मुटुलाई छोइरहेको हुन्छ । मानिसको जीवनमा शरीरको नङ र मासुजस्तै सङ्गीतको सम्बन्ध रहेको हुन्छ ।

बेलायतमा नेपाली सङ्गीतको चर्चा गर्दा नेपाल र बेलायतको सम्बन्ध स्थापना भएको दुई सय वर्ष भए पनि सुरुको वर्षहरूमा अत्यन्त थोरै नेपालीहरू कूटनीतिक सम्बन्ध बिस्तारको लागि बेलायत रहने गरेका थिए । बेलायती सेनामा रहेको ब्रिटिस गोर्खा सैनिकहरू बेलायत बाहिर कार्यरत थिए । तर समय वित्दै जादाँ बेलायतमा नेपालीहरूको सङ्ख्या वृद्धि हुँदै गयो र नेपाली सङ्गीतको विकाश तीव्र गतिमा भइरहेको छ । हाल बेलायतमा रहेर नेपाली सङ्गीतको विकाशको लागि कार्यरत गायक, सङ्गीतकार र गीतकारहरूको केही चर्चा गर्ने कोसिस गरिएको छ ।
गायक गायिका:

नोर्देन तेन्जीङ्ग भुटिया- विगत ३५ वर्षदेखि बेलायत बस्दै आएका नोर्देन तेन्जिङ भुटिया नेपाली पप गायन क्षेत्रको अग्रणी नाम हो । सन् १९७१ मा ब्रिटिस गोर्खा सेनामा भर्ती भएर हङकङ प्रवेश गरेपछि उनको गायन प्रतिभाले मौलाउने अवसर प्राप्त गरेको हो । सन् १९७३/७४ सालमा बीएफबिएस गोर्खा रेडियो हङकङ र सन् १९७६ /७७ ब्रुनाईमा रेकर्ड गरिएका उनको गीतहरू निकै लोकप्रिय रह्यो । नोर्देनका गीतहरूमा गाजलुले आँखै छोप्ने, मुसुमुसु हाँसी देऊ, चिसो वतासले, मायाले माया गासीदेउँ, कहाँ तिम्रो माया पाउँ र मलाई धेरै माया जस्ता धेरै गीतहरूले स्रोतहरूको मन जितेपछि नेपाली सङ्गीतमा उनको लोकप्रियता चुलियो । नोर्देनलाई साथ दिने गायकहरू नबिन राई, फ्रेङ्क्लीन् मुखिया, विजय थापा र दीपक राई हुन ।

पवित्र मान शाक्य– वि.सं. २०३९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर गायन क्षेत्रमा प्रवेश गरेका हुन, पवित्र मान शाक्य । गीत गाउन सुरु गरेको छोटो समयमा वि.सं. २०४०/२०४१ सालमा रेकर्ड गरिएको ‘कति बस्छौ..’ र ‘उन्नत राखौँ देशको शिर’ जस्ता गीतहरू रेडियो नेपालमा धेरै बजेको गीतमा पर्दछन् । सन् १९९५ सालबाट बेलायत बस्दै आएका पवित्र मान शाक्यको पहिलो गीति एल्बम ‘आँसु’ सन् १९८१, दोस्रो ‘बार बनी’ सन् १९९०, तेस्रो ‘लाइफ एन्ड लाइभ’ सन् १९९३, चौथो ‘सिरीमा’ सन् १९९५, पाँचौँ ‘वेस्ट अफ पवित्र मान शाक्य’ सन् १९९८, छैटौँ ‘धैर्य’ सन् २००८ र सातौँ एल्बम ‘धरातल’ सन् २०१८ को तयारीमा रहेको छ । उनले गाएका आशु, आँखाहरूमा, कुहिरोले ढाक्यो र निम्त्यायो तिमीलाई बोलको गीतहरू निकै चर्चित छन् ।

शर्मिला बर्देवा– बेलायतको पुराना गायिकाहरूमा शर्मिला बर्देवा एक स्थापित गायिका  हुन् । सन् २००१ सालबाट बेलायत बस्दै आएकी उनले बाल्यकालबाट गीत गाउन सुरु गरेकी हुन् भने शास्त्रीय सङ्गीतमा उच्च दीक्षित गायिका पनि हुन् । उनको पहिलो गीति एल्बम ‘तिमीबिना पनि’ सन् १९९५, दोस्रो ‘भेट्न मन लाग्छ’ तेस्रो ‘फूलको आवाज’ चौथो ‘स्पर्श’ सन् २०१० र पाँचौँ एल्बम ‘मुस्कान’ सन् २०१४ । छैटौँ एल्बमको तयारीमा रहेका शर्मिलाले नेपाली, मैथिली, भोजपुरी र नेवारीमा गरेर ७ सय गीतहरू गाइसकेकी छन् । फूलको आवाज, आँखैमा झलझली, सुनको बिहानी, चाँदीको पानी, सरसर, माया जालजस्ता उनका थुप्रै गीतहरू लोकप्रिय छन् ।

भगवान् चाम्लिङ– ब्रिटिस सेनामा भर्ती हुनु अघि नै स्वर परीक्षणको लागि रेडियो नेपाल छिरेका भगवान् चाम्लिङ सुरुमै महेन्द्र राईसँग गाएको ‘टेम्के रानी वन’ बोलको गीत निकै चर्चा चलेको थियो । उनको पहिलो ‘नजर’ एल्बम सन् १९९२ सालमा बजारमा आएको थियो । त्यस पछि ‘रहर’, ‘सम्झे नजिक’, ‘सौगात’, ‘साकेला’ र पछिल्लो पटक सन् २०१६ सालमा ‘परिवर्तनका स्वरहरू’ गीति एल्बम प्रकाशित भएको छ । भाग्य कोर्ने विधाताले.., हङकङ सहर.. र भन्देऊ है सन्देशलानेले.. जस्ता निकै लोकप्रिय गीतहरू उनैका सिर्जना हुन । सुरुमा लोक गीतबाट गायन यात्रा सुरु गरेका चाम्लिङले आधुनिक हुँदै पछिल्लो समयमा अधिकारवादी गीतहरू पनि गाउने गरेको पाइन्छ ।

अनिला राई– सन् २००४ सालमा बेलायत प्रवेश गर्नु अघि नै गीत गाउन सुरु गरेकी अनिला राईको गायन क्षेत्रमा दिनदिनै सक्रियता बढिरहेको छ । उनको पहिलो गीति एल्बम ‘यो मनको रहर’ सन् १९९९ सालमा बजारमा आयो । त्यसै गरेर ‘जुन ठुली’ सन् २००१, ‘कालीको लाली जोवन’ सन् २००२, ‘द लाइफ’ सन् २००९ र सन् २०१५ मा ‘स्वाराङ्कन’ बजारमा ल्याएकी छिन् । पछिल्लो समयमा चलचित्र बिरबिक्रममा राजेश पायलसँग गाएको ‘टलटल टल्किने’ बोलको गीत निकै चर्चामा आएको गीत हो । यसबाहेक यो मनको रहर, तिमी बाहेक र मेरो नजरजस्ता गीतहरू पनि श्रोताहरूको मन जित्न सफल गीतहरू हुन । लोक गीतबाट गाउन सुरु गरेकी अनिलाले लोक, आधुनिक र लोक पपजस्ता गीतहरू गाउने गरेको पाइन्छ ।

बेलायतमा रहेका अन्य गायक गायिकाहरूको चर्चा गर्दा गायिका सितु खरेलको नाम पनि अग्रपङ्क्तिमै आउँछ । उनका एल्बमहरूमा: –‘स्मारिका’, –‘सिम्रिक’, –‘परी’, –‘निर्माण’, ‘सितु’ र ‘बतास सँगै’ रहेका छन् । त्यसैगरी गायक बि सी राईका एल्बमहरूमा– ‘तिमीलाई’, ‘ती पलहरू’, ‘बिहाइन्ड द क्रउड’ ‘सिली’ र ‘अर्को पाइला’ । अर्का गायक भूमिराज राईका एल्बमहरूमा– ‘सृष्टि’, ‘दसी’, ‘भेट भो माया’ र ‘मोशन’ । गंगाराज राईको ‘आभाष’ र ‘उपमा’ । दीपक गुरुङको– ‘यो मन’, त्यसै गरी गायक मान तबेबुङको –‘इन्टेक १९९३’ ।

त्यसै गरी बेलायतलाई पछिल्लो समय कर्मथलो बनाएका गायकहरूमा सपन राई, धन गुरूङ, गणेश पुन, नीर पुमा, उमाकान्त गुरुङ, सुसन बाला राई, कल्याण गुरुङ, नयन लिम्बु, भिमसेन लामा, मिलन लामा, मोहन गुरुङ, किसन राई, पूर्ण लिम्बु, प्रकाश राई, पारू राई, ध्रुव लामा, मोहन गुरुङ किशोर मूखिया, आकाश सुनुवार, सुजित गुरुङ, गौरी माया साउदेन, छबिन्द्र चोङवाङ, जग पुन, दीपक थापाजस्ता धेरै गायक गायिकाहरू क्रियाशील रहेका छन् । कुनै समयको चर्चित गीत ‘सरकारी जागिर’का गायक क्रन्ति आले बेलायतमा रहेका छन् । कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ लामो समय पछि नेपाल फर्किएका छन् ।

गीतकार

बेलायतमा पुराना गीतकारहरू त्यति धरै नभए पनि गीत लेख्नेहरूको सङ्ख्या भने अत्यधिक रहेको छ । नेपाली साङ्गीतिक बजारमा गीति लेखन व्यावसायिक हुन नसकिरहेको अवस्थामा रहरले मात्र गीत लेखेजस्तो पनि देखिन्छ । धेरै गीतकारले एक/दुई एल्बममा सीमित रहेका छन् भने केही गीतकारहरू फुटकर गीत लेख्ने गरेका छन् । दिपा लिम्बू राई– ‘कोसिस’ सन् २००० । निलम आङ्गबुहाङ्ग राई– ‘जुनी जुनी’ सन् २००५, ‘जुनी जुनी–२’ सन् २००९, गीति सङ्ग्रह ‘अन्तर मनका तरङ्गहरू’ सन् २००९ र ‘नीलम’ सन् २०१४ । निर्मला राई परिवेश– ‘रोशनी’ सन् २००९ र ‘रोनाशा’ सन् २०११ । मिजास तेम्बेको ‘उदगार’ सन् २००६, हेम कुमार राई– ‘उधारो’ सन् २००९ । निरा पुन –‘निराशा’ सन् २०१३ र ‘निरन्तरता’ एल्बम बजारमा ल्याउने तयरीमा छिन् । सूर्य गुरुङ –‘तिम्रो माया’ । दुत पुन– (चिमखोले काइँला) ‘लण्डनको कोशेली’ सन् २००९ र ‘युके तिर जाउली’ सन् २०१३ । कल्पना आङबुहाङको ‘आमा’ सन् २०१२ र ‘आमा’–२ सन् २०१५ । रन्जना राई –‘रोज’ सन् २०१२, मुकेश राई ‘मनोकाङ्क्षा’ सन् २०१३ । लछुमन गुरुङको –‘अतीत’ सन् २०१५ । जानु काम्बाङको– ‘अनुभव’ सन् २०१५ ।

अन्य गीताहरूमा अग्नि प्रसाद लिम्बु, दिलसिं मेन्याङबो, ईश्वर चाम्लिङ, विश्वकाजी राई, डिल्ली राई, विश्वासदीप तिगेला, योगराज राई, भावना परिस्कृत, नवराज राई, आनन्द रानाहँछा राई, जितेन्द्र चेम्जोङ, नरेश काङमाङ, घनबहादुर थापा मगर बेलायतलाई कर्मभूमि बनाएर गीत लेखनमा लागिपरेका सर्जकहरू हुन् ।

सङ्गीतकार

गायक र गीतकारहरूको तुलनामा सङ्गीतकारको सङ्ख्या थोरै रहेको पाइन्छ । सङ्गीत विधा केही गहन र प्रयोगात्मक भएकोले औपचारिक शिक्षा सिक्नै पर्ने हुन्छ । सङ्गीतमा राम्रो शिक्षा लिएका मध्ये एक सङ्गीतकार बि.सी राई पनि हुन । बेलायत बसाइको कारण उनले त्यति धेरै गीतहरूमा सङ्गीत संयोजन गर्न नसके पनि उनको एल्बमहरूमा आफैले सङ्गीत गर्ने गर्दछन् । बि सीको आफ्नो सङ्गीत रहेको एल्बमहरू ‘बिहाईन्ड द क्रउड’ ‘सिली’ र ‘अर्को पाइला’ हो ।

विद्यार्थी जीवन देखिनै गीत सङ्गीत मा निरन्तर लागिरहेका सङ्गीतकार हुन्, चोक गुरुङ । सन् २००० मा बेलायत प्रवेशसँगै ‘त्यो पारि गाउँको डाँडामा’ बोलको पहिलो गीत रेकर्ड गराएर नेपाली सङ्गीत आकाशमा उदाएका हुन् उनी । त्यसपछि लगातार देशै रमाइलो, दुःखी जीवन, अप्रिल फोर अनि अनुरोध गीति एल्बममा शब्द, स्वर तथा सङ्गीत दिएका छन् । इलाम कोसेली भाग एक भिसिडी साथै एकल सङ्गीतमा प्रकट र साँचो एल्बम बजारमा ल्याएका छन् । अर्का सङ्गीतकार हुन्, नरेश नाति । उनले एल्बम नल्याए पनि दर्जन बढी गीतहरूमा सङ्गीत गरेका छन् ।