जामनगरको धार्मिक महत्त्व र नराम्रो लागेको भारतीय रेलको यात्रा

फर्कलान् र ती दिनहरू

जामनगरको धार्मिक महत्त्व र  नराम्रो  लागेको भारतीय रेलको यात्रा

हरिविनोद अधिकारी  |  साहित्य  |  भदौ १९, २०७८

कसैले भन्छन्, जीवन भगवानको अनुपम उपहार हो । कसैले भन्छन्, जीवन त पुरुष र प्रकृतिको भौतिक मेल हो, जसका लागि प्राकृतिक प्रक्रिया हुन्छ । एउटा आवश्यक प्रक्रिया पूरा भएपछि जीवनको उत्पत्ति हुन्छ । यहाँ पनि भौतिक मेलको कुरा गर्दासमेत भगवानको देनको पनि कुरा आउँछ किनभने यो जीवनका बारेमा अघिल्लै जीवनमा तय भएको हुन्छ पनि भनिन्छ ।

होला कि नहोला, तर पूर्वजन्म मान्नेहरू पनि यही संसारमा अत्यधिक छन् र अहिलको जीवनको राम्रो पक्षलाई सम्मान गर्दा अर्को जन्म नहुने या भइहाले पनि मानिस योनीमै हुने पनि भनिन्छ । मानिसको योनीमा आउनका लागि ८४ लाख योनीको चक्कर काटेर मात्र मानव चोला पाइन्छ भनेर नै मानवचोलाको अत्यधिक उपयोग गरेर यो ब्रह्माण्डको सेवा गरौँ भन्ने दर्शन पाइन्छ ।

हिन्दु धर्ममा या पौरस्त्य दर्शनमा नियतिले जन्मँदै आफ्ना भावी कर्महरूको लेखाजोखा गरेर छैठीमा लेखेको हुन्छ भन्ने पनि मान्यता छ । त्यसैले प्रत्येक धर्ममा केही लिखित , केही अलिखित र केही परंपरागत चलनलाई मानिन्छ ।
सबै  समाजमा भुत, प्रेत, पिसाच र तर्साउनेका बारेमा अनेक जनश्रुति सुन्न पाइन्छ । खासगरी आदिबासीहरूमा यसको बढी नै प्रभाव पाइँदो रहेछ विकसित देशहरूमा समेत ।

समयको क्रममा परिवर्तन पनि हुने रहेछ तर संस्कृति आफैँ पुस्तान्तरण हुँदै अगाडि बढ्दो रहेछ पनि । समयानुकूल परिवर्तन पनि हुने अनि त्यसलाई कुनै कारणले प्रमाणित गर्ने काम पनि हुने रहेछ ।

हामीले आफ्ना चलनलाई कसरी दैनिक बानीमा राखेर चलेका रहेछौँ भन्ने कुरा अरूले अनुसन्धान गरेर भनेपछि मात्र थाहा हुने रहेछ । नेपालमा पाइने धामी-झाँक्रीको प्रचलनका बारेमा ७ समुद्रपारिबाट विद्यावारिधि गर्न विदेशी आएपछि त्यसको पुरातन महत्त्वका बारेमा थाहा पाउँदा रहेछौँ । अझै पनि झारफुकमा विश्वास राख्ने मानिसहरू छन् । हामी त झन् अघिल्लो पुस्ताका भयौँ, कति पटक धामी, झारफुक गर्ने मानिसलाई घरमा बोलाएर उसको विश्वासमा ओखती गराएका छौँ ।

अझ कसैले त ओखती मूलो पनि गर्थे तर के ओखती खुवाएको हो भन्ने कुरा न दिनेलाई खासै थाहा हुन्थ्यो, न त खानेलाई नै थाहा हुन्थ्यो । त्यसको झझल्को अहिले पनि एलोप्याथिक ओखती गर्ने डाक्टरमा पाइन्छ । उनीहरू जाँच्छन् अनि ओखती लेख्छन् । बिरामीले वा बिरामीको साथमा गएको अर्को मान्छेले 'डाक्टर साहेब, के भएको रहेछ ? यो केको ओखती दिनुभएको हो ?' भन्यो भने रिसाएर 'तपाईं डाक्टर हो कि म ? मैले लेखेको छु, यही ओखती खानुस् । बिसेक हुन्छ । अब १५ दिन या ७ दिनपछि आउनुस्' भन्छन् र किरिमिरी अक्षरमा केही लेखेर दिन्छन् ।

नभन्दै त्यो रेल खाली पनि भयो र हामी करिब ५०० जति मानिसहरू मन्दिर जाने भनेर उत्रिएका थियौँ । जब उत्रियौँ, डर भाग्यो किनभने भारतीय रेलमा विभिन्न तरिकाले ठग्ने, लुट्ने कथा धेरै सुनेको थिएँ । म र लीलाबहादुरजी मात्र पहिलो पटक गएका रहेछौँ, अरू त सबै जनाको त्यो कम्तीमा पनि दोस्रो पटक या तेस्रो पटक या चौथो पटक रहेछ ।

ओखती पसलमा गएर ओखती किन्दा 'केका लागि यो ओखती दिएको हो ?' भनेर सोध्यो भने उसले पनि भन्ने कुरा यही हो, 'डाक्टरले भनेकै होला नि, त्यही हो ।'

बिसेक भए त ठिकै हो, बिसेक भएन र फेरि डाक्टरकहाँ गयो भने फी पनि लिन्छन् र फेरि ओखती थपेर दिन्छन् या नयाँ ओखती दिन्छन् । भन्यो भने 'अस्ति किन केही नभनेका त ?' भनेर उल्टै बिरामी र ऊसँगै जानेलाई झपार्छन् ।

कुरो जीवन बचाउने हो, आफैँले खानेका ओखतीको कुरा हो अनि त्यसबारेमा किन स्पष्ट जानकारी नदिने त ? सायद अहिले सूचनाको हकले धेरै बिरामीले क्षतिपूर्तिको माग गरेर पाएका पनि छन्, जबकि बिरामीले चाहिने ओखती बेलैमा खान नपाएकाले बिरामी बढेको पनि हुन्छ । अझ पढेलेखेकाहरूले पनि ओखती पसलेसँग सल्लाह गरेर 'मलाई यसो भएको हो, ओखती दिनुस् न' भन्ने चलन धेरै छ । यसको कारण के पनि हुन सक्छ भने डाक्टरको फी धेरै हुन्छ, अनेक जाँचबुझ गर्नुपर्छ र त्यस्तो जाँचबुझका लागि कति ठाउँमा दौडनुपर्छ भन्ने पनि होला ।

भनिन्छ- सबैमा यदि आध्यात्मिक चेतना हुने हो भने र  नैतिक शिक्षालाई अन्तरात्माले मनन गर्न सकेमा पक्कै पनि स्वास्थ्य सेवा अझ प्रभावकारी हुन्थ्यो होला । तर, स्वास्थ्य व्यापार र भद्रगोल रूपमा निजी क्षेत्रको जिम्मामा दिइरहने हो भने यसको नकारात्मक प्रभाव यति हुनेछ कि यसले निम्त्याउने  भयावह स्वरूपका केही झलक त देखिन थालेका छन्, अझ बढी समस्यामूलक हुन सक्छ ।

त्यसैले शिक्षा, स्वास्थ्य, आवास, पानीको प्रबन्ध सरकारले गर्नै पर्छ, जसले गर्दा आध्यात्मिक चिन्तन बढ्नेछ । आध्यात्मिक चिन्तन भनेको धर्मप्रति अन्धविश्वास होइन, यसो गर्नुहुन्छ तर यसो गर्न हुँदैन भन्ने चेतना हो, जसले समाजलाई डोहोर्‍याएको हुन्छ । त्यसैले धर्म र आध्यात्मिकतालाई एउटै सम्झन थालेको पनि देखिन्छ ।

सायद यसैको कारण होला, धार्मिक चिन्तन भएको मानिसलाई समाजले ज्ञानी, असल र जीवनमा मोह, माया र गलत कामहरूबाट टाढै बस्ने मानिसका रूपमा स्वीकार गरिएको हुन्छ ।

मलाई नेपालबाहेक अरू ठाउँमा धार्मिक कामका लागिसमेत भ्रमण गर्न मन लाग्दैन र नेपालमा पनि मलाई खासै धार्मिक पर्यटन गर्ने चाह छैन । तर, परिस्थिति कहिले कस्तो बन्छ भने आफ्नो इच्छा, आफ्नो चाहना भन्दा पनि यस्तो समाजका लागि, परिवारका लागि पनि धार्मिक यात्रा सम्पन्न गरिँदो रहेछ । मैले पनि यस्तो धार्मिक यात्राको प्रसंग जोमसोम हुँदै कागबेनी र मुक्तिनाथसम्मको यात्राका बारेमा कतै सामान्य विवरण दिएको थिएँ । अहिले मेरो अर्को धार्मिक नै भन्नुपर्‍यो, भारत गुजरातको श्रीकृष्ण प्रणामी सम्प्रदायको पावन भूमि जामनगर, जसलाई सो सम्प्रदायले श्री ५ नवतनपुरी धामको रूपमा श्रद्धाले हेर्छन्, पाठपूजा गर्छन् र प्रणामी सम्प्रदायका मुख्य महाराजश्रीको पीठका रूपमा मूल मन्दिर पनि त्यहाँ नै छ ।

हाल त्यसका गादीपति भनौँ या पीठाधीशका रूपमा श्री १००८ कृष्णमणि महाराज हुनुहुन्छ । उहाँकै ५० वर्षको जन्मोत्सवको अवसरमा म पनि पुगेको हुँ । उहाँको जन्म दिन रहेछ १ जनवरी । सन् २०१५ को पहिलो दिनमा उहाँलाई शुभकामना दिनका लागि विश्वभरिबाट भक्तालु जम्मा हुनुभएको रहेछ । हामी पनि मसमेत गोरखपुरबाट रेलबाट जामनगरसम्मको यात्रामा गएका थियौँ ।

जामनगरलाई प्रणामी सम्प्रदायको मुख्य थलोका रूपमा मान्छन् । गुजरात नेपालबाट धेरै नै टाढा पर्छ । अरब सागरको पूर्वी तटमा अवस्थित जामनगर त्यति उर्वर ठाउँ होइन । प्रणामी सम्प्रदायमा आदिपुरुष देवचन्द्रजी महाराजले त्यहाँ आएर निजानन्द सम्प्रदाय, जसलाई अहिले हामीले श्रीकृष्ण प्रणामी धर्मको सुरुवात गर्ने महापुरुषको रूपमा मान्ने गछौँ, अहिलेको पाकिस्तानमा पर्ने अमरकोटमा उहाँको जन्म वि.स. १६३८ सालमा माता कुँवरबाई र पिता मतु मेहताको परिवारमा भएको थियो ।

के विश्वास गरिन्छ भने, जामनगरमा आएर देवचन्द्र महाराजजीेले वि.स.  १६६४ देखि १६७८ सालसम्म अनवरत १४ वर्ष श्रीमद्भागवतको कथा ध्यानले एकचित्त भएर सुन्नुभएको रहेछ । उहाँलाईं बालकृष्णले साक्षात् दर्शन दिएर उहाँमा अन्तरचेतना आएछ र श्रीकृष्णका नाममा निजानन्द सम्प्रदायको सुरुवात गर्नुभएछ, जसलाई अहिले विश्वभर श्रीकृष्ण प्रणामी सम्प्रदायका रूपमा लिइँदो रहेछ ।

उहाँमा अन्तरज्योति प्राप्त भएपछि उहाँले निजानन्द सम्प्रदायको एउटा रूपरेखा तयार गरेर प्रचारमा लाग्नुभएछ । त्यसैबीचमा उहाँलार्ई एक जना प्राणनाथजीले साथ दिन थाल्नुभएछ वि.स.  १६७५ मा । खासमा देवचन्द्र महाराजजीले स्थापना गर्नुभएको नयाँ सम्प्रदायलाई उहाँका शिष्यत्व ग्रहण गर्ने प्राणनाथजीले तारमत सागरको रूपमा भागवत, पुराणहरू, वेदको सारांश खिचेर गुजराती भाषामा नयाँ वैदिक साहित्यको रचना गर्नुभएको बुझिन्छ ।

त्यसबाहेक प्राणनाथजीले नै हिन्दी, खडी भाषा, सिन्धी, जाटी, उर्दू, फारसीमा आफैँले आफ्नो मूल ग्रन्थको भाव नबिगारी स्वतःस्फूर्त रूपमा तारतम सागर ग्रन्थ तयार गर्नुभएछ र त्यसकै आधारमा प्रचार गर्न थाल्नु रभएछ । 

प्राणनाथजी प्रचारका क्रममा वि.स. १७३५ मा हरिद्वार कुम्भमेलामा आउनुभएका बेलामा उहाँमा प्रस्फुटित ज्ञान र आध्यात्मिक चेतनाका लागि उहाँलाई सनातनी ओमकार धर्मका सबै सम्प्रदायले बुद्ध निष्कलङ्क अवतार भनी प्रशंसापत्र दिएछन् भनिन्छ । अनि, उहाँमा रहेको अद्भूत क्षमता देखेर र सनातन धर्मका लागि तारमत सागरको महत्त्वलाई मनन गरी महामतिको रूपमा घोषणा गरिएछ ।

उहाँलाई बुद्ध निष्कलङ्क अवतार भन्नुको तात्पर्य के हुन सक्छ भने, हजारौँ वर्षदेखिको वेदको अर्थलाई क्लिष्ट नबनाई नयाँ चेतनाको धर्म संचालन गरी त्यसलाई नै बुद्ध धर्मको रूपमा मानिएकाले फेरि पनि नयाँ आध्यात्मिक चेतनाको सिर्जना गरी मानव जातिलाई दुःख, कष्टबाट मुक्ति दिने मार्गको बाटो देखाएकाले बुद्ध निष्कलङ्क अवतारको रूपमा मान्यता दिएको होला । बुद्ध भनेको बुद्धिको पर्याय हो ।

हामी अर्थात् ७ जना थियौँ जामनगर जाने समूह । म, मेरी पत्नी देवकी अधिकारी, देवकीजीकी दिदी, मेरी जेठीसासू श्रद्धेया दिदी राधा गजुरेल, मेरी कान्छी छोरीका ससुरा मेरा आदरणीय सम्धी रेवतीप्रसाद सापकोटा, उहाँकी पत्नी मेरी कान्छी सम्धिनी सीता सापकोटा, सम्धीजीका गाउँले दाजु लीलाबहादुर सापकोटा, श्रीकृष्ण प्रणामी धर्मका ज्ञाता सुन्दरसाथ तुतुकाजी श्रेष्ठ हुुनुहुन्थ्यो ।

म तालिमका क्रममा बर्दिया र नेपालगंज पुगेको थिएँ, उतैबाट उहाँहरूलाई भेट्न भैरहवा आएँ । गोरखपुरको रेलको टिकट अग्रिम रूपमा नै लिइएको रहेछ सातै जनाका लागि किनभने त्यसबेला जामनगर  जाने यात्रीहरूको भीड नै रहेछ । त्यसैले हामी पुुसको ५ गते नै भैरहवा पुगेका थियौँ । ६ गते बिहानै ३ बजेको रेल थियो गोरखपुरबाट सिधा द्वारका जाने । यदि त्यो दिन नचढ्ने हो भने अरू २० दिनसम्म कुनै टिकट थिएन स्लिपरमा ।

द्वारकाभन्दा केही स्टेसन वर नै जामनगर झर्नुपर्ने रहेछ । २ रात एकदिन गरी ३ दिनमा मात्र जामनगर पुगिने रहेछ । मेरालागि रेलमा यति लामो सफर पहिलो थियो । तर, नेपालमै टिकट लिन पाइने, रिजर्भेसनमा स्लिपरको व्यवस्था गर्न पाइने सुविधाले सजिलो भएको थियो ।

हिन्दुस्तानका बारेमा धेरै हल्ला चलेकाले असुरक्षाको डरचाहिँ मनमा थियो । तर, जानका लागि गएपछि त्यो सबै डर आफैँ भाग्यो । भारतको रेलको समयतालिका खासै नियमबद्ध नहुने रहेछ । बिहान ३बजेका लागि भनेर हामी स्टेसन नजिकै महँगो भाडामा बसेका थियौँ लजमा तर बिहानको ९ बजेसम्म पनि रेल आउँदैन । अनि, म विस्तारै स्टेसन मास्टरको कार्यालयमा गएँ । वास्तै गर्दैनन् । भेट पनि गर्न दिँदैनन् । उनका सहायक, जो टिकट बेच्न बसेका छन्, उनीहरूले भने, 'अब २ घण्टामा रेल आउँछ । मुजफ्फरपुरबाट रेल हिँडिसकेको छ । अब चाँडै आउँछ र २ नम्बरको प्लेटफर्ममा उभिन्छ । ध्यान दिएर बस्नुहोला ।'

तर, जुन रेलको कुरा गरेका थिए, अथवा रिजर्भेसन थियो, त्यो रेल त ७ नम्बर प्लेटफर्ममा पो अडियो भनेर विद्युतीय सूचना पाटीमा देखायो । कति बजे आउने हो ? भन्दा कोही पनि भन्दैनन् । मसँग राष्ट्रिय सूचनासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको झोला काँधमा थियो । मैले सूचना केन्द्रको झ्यालमा गएर सोधेँ अंग्रेजी भाषामा, 'आज साँँच्चै रेल आउँछ कि आउँदैन ?'

भित्र त आफ्नो कोठाबाट लुक्नका लागि स्टेसन मास्टर त्यहाँ आएका रहेछन् । उनले मलाई सूचनाको हकसम्बन्धी कार्यकर्ता ठानेछन् र तत्काल आफ्नो कोठामा बोलाएर नरम भाषामा 'अबको ३ घण्टामा पक्कै आउनेछ बरु नास्ता, चिया खाऊँ' भन्दै खातिरदारी पो गर्न थाले । त्यसले के देखायो भने भारतमा  सूचनाको हकको कस्तो प्रभाव रहेछ ।

मलाई हाँसो त उठ्यो तर उनले दिएको चिया खाएँ अनि एकछिनमा आउँछ भनेर ७ नम्बरको प्लेटफर्ममा गयौँ । नभन्दै आधा घण्टामा रेल आयो । भीड थियो, दौडादौड गर्दै रिजर्भेसनको सिट फेला पारेर बस्यौँ । अब कम्तीमा पनि २ रात र अर्को एक बिहानका लागि दौडादौड गर्नुपर्दैन भन्दै बस्यौँ ।

मेरालागि नयाँ अनुभव थियो तर रात पर्न थालेपछि भने डर लाग्न थाल्यो किनभने रेलको गति धिमा थियो र तोकिएको समयमा पुग्ला जस्तो लागेन । हामी सातै जनाको सँगै स्लिपर भएकाले एकै ठाउँमा बसेर खाना, जुन घरबाट लिएर गइएको थियो, च्युरा भुटेर, कुराउनी, सेलरोटी,  सुख्खा रोटी, दालमोठ, निम्की खान्थ्यौँ । बेलामौकामा मिनरल वाटर लिएर आउँथ्यो र हामी सुत्ने तरखरमा लाग्नका लागि टिकट जाँच्नेको प्रतीक्षा गरिरहेका थियौँ किनभने उसले कहीँ हामीसँग टिकट नभएकाले बहाना बनाएर सुतेका ठानेर जरिमाना नगरोस् ।

नभन्दै टिकट जाँच्ने टिकट चेकर आए तर विद्युतीय टिकट भएकाले उनको रेकर्डमा भएको र हाम्रो स्लिपर नम्बर दाँजेर हेरे । धन्यवाद भन्दै हाम्रा टिकट देखाएपछि उनी गए । अचम्म त के देखियो भने त्यस्तो रिजर्भेसनको कोठामा मानिसहरू भरिभराउ थिए । जताततै मानिसै मानिस, शौचालय जान पनि मुस्किल अनि पालैपालो शौचालय जानुपर्ने पनि भयो । कुरा बुझ्दा त ती मानिसहरू कहाँबाट चढे भन्दा पनि ती टिकट चेकरका लागि अतिरिक्त आम्दानीका स्रोत रहेछन् । तर, त्यसरी चढ्नेले के पनि गर्दा रहेछन् भने जुन डिब्बामा टिकट जाँचेका हुन्छन्, त्यतै भाग्ने पनि रहेछन् शौचालयबाट । उनीहरूलाई थाहा हुने रहेछ कताबाट टिकट चेक गरिरहेको छ भनेर ।

बेलाबेलामा रेलवे सुरक्षा बल स्वचालित मेसिन गन लिएर हिँडेका पनि पाइयो । आखिर त्यो पनि एउटा सुरक्षाको आधार हुँदो रहेछ । सामान्यतः हामी जस्तै जामनगर जाने नेपालीहरूको ठूलो संख्या त्यस रेलमा रहेछ । बाटामा देखिने स्टेसनहरूको नाम खासै याद भएन तर कहिले जामनगर पुग्ने होला भन्ने मात्र लागिरहेको थियो । हामी एक प्रकारले एउटै परिवारका जस्ता मानिसहरू भएकाले रमाइलोसँग ब्युँझिएका बेलामा गफ गर्दै समय व्यतीत गरिरहेका थियौँ । खाँदै पनि थियौँ ।

बेलामौकामा चिया लिएर आउँथ्यो, हामी सम्धीजी र म चियाको स्वाद लिएर पिउँथ्यौँ । साँच्चै चिया स्वादिलो पनि थियो । एक कप चियाको ५ रुपैयाँ भारु थियो । मिनरल वाटरको चाहिँ एक बोतल किने २० रुपैयाँ थियो तर ३ बोतल किने ५० रुपैयाँ लिन्थ्यो । अझ कोहीकोहीले त ४० रुपैयाँमा नै ३ बोतल दिन्थे ।

मलाई एउटा कुराको भने नराम्रो लाग्यो, तेस्रो लिङ्गीहरूले पहिले नाचगान गर्थे तर एकछिनपछि पुरुष जातिहरूलाई मनपरी गाली गर्दै पैसा असुल्थे । युवा या प्रौढलाई बेइज्जत नै गर्ने गर्थे । तर, प्रहरी या रेलवे कर्मचारी देखे भने भाग्दा पनि रहेछन् । किन यस्तो गरेका होलान्, त्यसको जबाफ कसले दिने र ?

मेरी पत्नीले भन्थिन्, 'बाबा, सम्धीज्यू छक्का आए, मुख छोपेर सुत्नुस् ।'

मेरालागि पहिलो अनुभव थियो भारतीय रेलको, त्यो पनि लामो यात्रा । झन्डै एक हजार ३०० किलोमिटरको यात्रा । धन्न ! एक्सप्रेस भने पनि एकदम विस्तारै हिँड्ने पो रहेछ । टिकटमा त कतिबेर जामनगर पुग्ने समयको पनि निश्चित थियो तर तोकेभन्दा झन्डै ७ घण्टापछि पुर्‍यायो जामनगर ।

स्टेसनमा हामी झरेपछि अटो रिक्साले बुझेका रहेछन्- यिनीहरू श्रीकृष्ण प्रणामी मन्दिर जाने हुन् भनेर । नभन्दै त्यो रेल खाली पनि भयो र हामी करिब ५०० जति मानिसहरू मन्दिर जाने भनेर उत्रिएका थियौँ । जब उत्रियौँ, डर भाग्यो किनभने भारतीय रेलमा विभिन्न तरिकाले ठग्ने, लुट्ने कथा धेरै सुनेको थिएँ । म र लीलाबहादुरजी मात्र पहिलो पटक गएका रहेछौँ, अरू त सबै जनाको त्यो कम्तीमा पनि दोस्रो पटक या तेस्रो पटक या चौथो पटक रहेछ । मलाई अलिक बढी नै डर लागेको रहेछ किनभने पहिले पहिले सुनेका कुराले डर लागेको रहेछ ।

मन्दिरमा सबै जानकारी राखिएको रहेछ- आज कति मानिसहरू नेपालबाट आउँछन् र तिनको आवासको, खानाको व्यवस्था पनि राम्रैसँग गरिएको रहेछ । हामी गएर नुहाउनु थियो, भक्तालुहरूले मन्दिरमा पूजा आजा गर्नु थियो र नेपाली महाराजश्री कृष्णमणि महाराजजीसँग भेटघाट गर्नु पनि थियो ।

स्वाभाविकै हो, नेपालीहरअंप्रति उहाँको सद्भाव हुनु पनि अनि सबैको पीठाधीश हुनुभएकाले समानताको व्यवहार जो जरुरी थियो । हामीसँग गोरखपुरबाट आएका चन्दनकी आमा निर्मला गुप्ता, सुनीता गुप्ता, श्यामसुन्दर झा पनि हाम्रै पछि यस कारणले लागे कि हाम्रा मानिसहरूले महाराजजीसँगको सम्बन्धका बारेमा गरेका कुरा सुनेका थिए । नभन्दै तिनीहरूको पनि व्यवस्था तुतुकाजी दाइ र दिदी राधाले गरिदिनुभयो ।

गुरु महाराजजीको ५० वर्षमा देखिएका र भोगेका अनुभव तथा त्यहाँको वातावरणका बारेमा र अरू जामनगर अर्थात् श्री ५ नवतनपुरी धाम, सुरतको मंगलपुरी धाम, पन्नाजीको मन्दिर, वृन्दावनका बारेमा एक महिनासम्मको  मेरा अनुभवहरू अर्को पल्ट ।
क्रमशः