बलिउड निर्देशक सुरज बडजात्या आज नेपाल आउँदै, सोमबार मुस्ताङ पुग्ने
भदौ २०, २०७८
  • प्रदीप कार्की/न्युज कारखाना

बलिउडका चर्चित निर्देशक सुरज बडजात्या नेपाल आउँदै छन् । राजश्री फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको ‘उचाइ’को सुटिङका लागि उनी आज नेपाल आउन लागेका हुन् । उनी सोमबार मुस्ताङ पुग्ने भएका छन् । बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा मित्रताको कथा देखाइनेछ । 

फिल्ममा अमिताभ बच्चनसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहने फिल्मको लोकेसन तय गर्न निर्देशक सुरज आज नेपाल आउन लागेका हुन् । उनी आज काठमाडौं बसेर भोलि (सोमबार) बिहान हिमाली भेगमा लोकेसन हेर्न हेलिकाेप्टरमार्फत प्रस्थान गर्नेछन् ।

पहिलो चरणमा लुक्ला, नाम्चे आदि लोकेसन हेरेर फर्किएको टोलीले अब मुस्ताङमा सुटिङ हुने लोकेसन छान्ने भएको छ । पहिलो पटक बडजात्याले अमिताभ बच्चनसँग काम गर्न लागेका हुन् ।

नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए । उनकै कम्पनीले ३ वर्षअघिदेखि भारतीय फिल्म कम्पनीसँग कुराकानी अगाडि बढाएको थियो । ‘मैले बारम्बार नेपालमा पनि विदेशको झैँ लोकेसन छ भनेर बलिउडका फिल्मकर्मीलाई भन्ने गरेको थिएँ’, सुरजले भने, ‘कोरोनाले गर्दा केही समय ढिलो भयो ।’

फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर छन् अरुण रेग्मी । यतिबेला सुरज र अरुण हिमाली भेगमा छायांकनका लागि लोकेसन हेर्न ट्रेकिङ गाइड तिलकराम राईसँग पुगेका छन् । यही टिमसँग सोमबार निर्देशक बडजात्याको टोलीले 'ज्वाइन' गर्नेछ । 

‘उचाइ’को छायांकन मनाङ, मुस्ताङ, लुक्लालगायतका हिमाली भेगमा हुनेछ । केही सुटिङ काठमाडौं आसपासमा पनि हुनेछ । ‘हामीले काठमाडौंमा छायांकन गर्दा पनि नेपाली पर्यटनलाई टेवा पुग्ने लोकेसन छानेका छौँ’, रेग्मीले भने । उनले स्वयम्भू, बौद्धलगायतका स्थान छानिएको बताए । फिल्ममा डेनी डेन्जोङ्पाको पनि मुख्य भूमिका रहनेछ । ४ जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बताइएको छ ।


न्युज कारखाना समाचार संस्था हाे ।