टाउको जोडिएका जुम्ल्याहाको सफलतापूर्वक शल्यक्रिया

टाउको जोडिएका जुम्ल्याहाको सफलतापूर्वक शल्यक्रिया

एजेन्सी  |  विदेश  |  भदौ २१, २०७८

इजरायलमा चिकित्सकहरूले टाउको जोडिएका २ बालिकालाई शल्यक्रियापछि अलग गरेका छन्  । एक वर्षका जुम्ल्याहा बालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन् । शल्यक्रियाका सम्पन्न गर्न  चिकित्सकहरूलाई १२ घण्टा समय लागेको थियो । 

बियरसेवा शहरको सोरोका मेडिकल केन्द्रमा भएको सो शल्यक्रियाका लागि महिनौँदेखि तयारी गरिएको थियो । शल्यक्रियामा स्वदेश तथा विदेशका दर्जनौँ विज्ञहरू संलग्न थिए । शल्यक्रिया सफल भएको चिकित्सकहरूले बताएका छन् ।

शल्यक्रियापछि दुवै बालिकाको अवस्था सामान्य छ । ‘उनीहरूले आफैँ खाइरहेका छन् र श्वासप्रश्वासका लागि अक्सिजन आवश्यक परेको छैन’, सोरोका प्लाष्टिक सर्जरी विभागका प्रमुख एलदाद सिल्बरस्टिनले भने । 

इजरायलमा टाउको जोडिएका बच्चाको शल्यक्रियामार्फत अलग गरिएको यो पहिलो घटना हो । विश्वभर अहिलेसम्म यस्तै प्रकृतिका २० वटा शल्यक्रिया भइसकेका छन् । 

शल्यक्रिया गर्नु केही महिनाअघि बालिकाहरूको टाउकोको छाला तन्काउन ताप प्रदान गर्ने सिलिकन व्याग राखिएको थियो । खोपडी अलग गरेपछि नयाँ छाला हालिएको थियो ।

टाउको जोडिएका ती बालिकाहरूको जन्म सन् २०२० को अगस्टमा भएको थियो ।