१-९ असोजमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सव

१-९ असोजमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सव

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ २१, २०७८

आगामी असोज पहिलो साता नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव- २०२१ (नियुफ- २०२१) आयोजना हुँदै छ । भर्चुअल स्ट्रिमिङ प्लेटफर्म ‘फेस्टिभल स्कोप’मार्फत गरिने महोत्सवमा युरोपियन, नेपाली र हिन्दी सिनेमा देखाइनेछ । महोत्सव नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले आयोजना गर्न लागेको हो ।

महोत्सवको दशौँ संस्करण १ देखि ९ असोजसम्म हुनेछ । विभिन्न पुरस्कार जित्न सफल १५ वटा चलचित्र तथा अन्य २४ वटा चलचित्रहरू प्रदर्शन गरिनेछन् ।

महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ वटा युरोपेली चलचित्रहरू समावेश गरिएका छन् । यीमध्ये दुईवटा चलचित्रमा नेपाली भाषामा सबटाइटल राखिएका छन् । यस्तै, ३ वटा पुरस्कार जित्न सफल नेपाली चलचित्रहरू पनि देखाइने भएको छ ।

तिनमा विनोद पौडेल निर्देशित 'बुलबुल', धोन्डुप छिरिङ निर्देशित 'आमा खन्दो' तथा सर्जियो बास्सो निर्देशित 'सरिता' छन् । महोत्सवमा देखाइने नन्दन सक्सेना तथा कविता भालद्वारा निर्देशित भारतको वातावरणीय चलचित्र ‘आई क्यान नट गिभ यु माई फरेस्ट’ उत्कृष्ट कृषि चलचित्र विधामा भारतको राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत चलचित्र हो । यस्तै, गणेश पाण्डे निर्देशित 'को-हसबेन्ड्स्' पनि देखाइनेछ ।