आत्माको चित्कार 'कालापानी यात्रा' सँग आँखा जुधाउँदा

आत्माको चित्कार 'कालापानी यात्रा' सँग आँखा जुधाउँदा

हरि उप्रेती  |  साहित्य  |  भदौ २१, २०७८

अहिले मेरो उमेरका पाइलाहरुले ६४ बसन्त पारगरिसकेका छन् । बत्तीस वर्षको वैंशालु युवाले कालापानी यात्रा गर्दा गरेको अनुभूतिका तरेलीहरूलाई लेखक आफैले ५४ वर्षको भए पछि पुस्तकको रूप दिए, पाठकका परेलीहरूलाई ।

पुस्तकको लोकार्पण गरिएकै समारोहमा उपस्थित भएर सोही दिन (२०७७/१२/१४) खरिद गरेको 'कालापानी यात्रा'  त्यसको भोलिपल्ट फागु पूर्णिमाको छुट्टीमा विस्तारै विस्तारै रोकिँदै अलमलिँदै गरेर पढी सकें ।

निकै आकर्शक शैलीमा लेखिएको र पढ्दा सुरुचीले पढिने महाकाली नदी जस्तै सलल बगेको रहेछ । असम्भव, अव्यवहारिक र असंगत कुरालाई पनि प्रचार प्रसार गराएर राष्ट्रवादी भएको प्रमाण देखाई राजनीतिक प्रतिस्पर्धा गर्ने नीति अवलम्बन गरेको त्यतिखेरक‍ो नेकपा मालेको दृष्टिकोण पुस्तकले देखाएको छ । पार्टीका नेता आफै अगाडि नसरेर युवा विद्यार्थीहरूलाई यो यात्राका लागि उकासेको देखिन्छ ।

केही विद्यार्थीद्वारा कालापानीमा यात्रा गरेर, भाषण गरेर, नेपालको झण्डा र अनेरास्ववियुको झण्डा उचालेर, देखाएर, गाडेर भारतीय चेकपोष्ट त्यहाँबाट हटदैन भन्ने कुरा बुझ्दा बुझ्दै पनि यो काम गराइएको सजीव चित्र छ पुस्तकभित्र ।

काठमाडौंबाट हिँडेदेखि कालापानी पुग्दासम्मको यात्राको वीचमा परेका ठाउँमा रहेका मानिसहरूले जुन आशा, अभिलाषा र विश्वासमा यात्राका सहभागीहरूलाई स्वागत गरे, आतिथ्यता प्रदान गरे त्यो संगठनको नियमले सिर्जना गरेको वाध्यता त थियो नै तर त्यसभित्र व्यक्तिगत सदभाव, सहानुभूति र शुभकामना पनि थियो अवोध मस्तिष्कको भन्ने देखिएको छ ।

पुस्तक नियात्रा साहित्यको एउटा उपहार पनि हो र महाकालीको घाउ दुखेको पीडाको पहिचान पनि हो । महाकालीको व्यथाबाट छटपटिएका गाउँ, कुना कन्दरा र झुपडीमा जीवन गुजारी रहेका नेपालीहरूको आत्माको चित्कारलाई समेटने प्रमाण पनि बनेको रहेछ यो पुस्तक ।

विद्यार्थी अवस्थाभएकोले जोशिलो, जाँगरिलो र परिवर्तन गर्न सक्ने क्षमताको प्रदर्शन गर्न रूचि लाग्नु जाग्नु स्वभाविक हो । त्यसमाथि पनि कम्युनिष्ट पार्टी आवद्ध विद्यार्थी संगठनका सदस्यहरू भएकाले लाल उत्साह (रातो टीका,रातो स्कार्फ,रातो झण्डा लाउदा,ग्रहण गर्दा र बोक्न पाउँदा प्राप्त हुने खुशी) का प्रभावहरू पर्याप्त मात्रामा छचल्किएका छन्। खरो र दरो कुरा गर्ने, आफूलाई पार्टीको अनुशासित सिपाहीको रूपमा प्रस्तुत गर्न रुचाउने तत्कालीन नेकपा मालेका महासचिव बामदेव गौतमका अर्ति उपदेशबाट दीक्षित भएका विद्यार्थीमा काठमाडौंबाट यात्रा प्रारम्भ गर्दा महाकाली क्षेत्रमा कब्जा जमाएर चेकपोष्ट खडा गरी बसेको भारतीय सेनालाई हामी भगाउने ऐतिहासिक अभिभारा पूरा गर्न जाँदैछौं भन्ने भावना जागेको देखिन्छ ।

यस्तै भावना र उत्तेजनामा कार्यकर्ता उफारेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न खप्पिस आवरणका कम्युनिष्ट नेताको चरित्र पुस्तकभित्र राम्ररी चित्रित भएको छ ।

एकातिर यात्रा रोमाञ्च, युवा जोश, राष्ट्रभक्ति, मातृभूमि प्रेमका उकाली ओराली चढदै र उक्लदै अगाडि बढेको छ भने अर्कातिर भारतको अतिक्रमण, हेपाहा प्रवृत्ति, नेपालको स्वामित्वमाथिको ठाडो हस्तक्षेपका विरूद्धमा आक्रोश ,घृणा र विरोधको उदघोषहरू पनि तरङ्गित भएकाछन् पुस्तकभित्र ।

शब्द र अक्षरहरूलाई खेलाउने र सुमसुम्याउने बानी बसिसकेक नन्दु उप्रेतीले घटना, परिघटना, सोच र समयलाई  श्रृङ्खलाबद्ध बनाएर विभिन्न बिम्ब र प्रतीकहरूको लालित्य मिसाउदै सजाएको पाएँ पुस्तकलाई ।

पुस्तकले दिएको जानकारी अनुसार ५१ जना अनेरास्ववियुका विद्यार्थीहरू र ६ जना पत्रकारहरू संलग्न भएको यात्राबाट कसरी नन्दु नै यात्रालाई जीवन्त रूपमा पुस्तकमा उतार्ने पात्र भए त्यो पनि एउटा जीवनको संयोग नै होला । पुस्तक नियात्रा साहित्यको एउटा उपहार पनि हो र महाकालीको घाउ दुखेको पीडाको पहिचान पनि हो । महाकालीको व्यथाबाट छटपटिएका गाउँ, कुना कन्दरा र झुपडीमा जीवन गुजारी रहेका नेपालीहरूको आत्माको चित्कारलाई समेटने प्रमाण पनि बनेको रहेछ यो पुस्तक ।

पुस्तक प्रकाशित हुदै इतिहास भएको रहेछ । यात्राका पात्रहरू अहिले को कहाँ रु को कता रु को कसको भइसकेको रहेछन् । कालापानी, लिपुलेक, लिम्पियाधुरा, गुञ्जी, कुटी, नावीहरूमा भारतले जमाएको कब्जालाई भौगोलिक चित्रणको सुत्रमा उन्दै भावना, उत्तेजना, आलाप विलाप, सरकारको उपेक्षा भाव, त्यस क्षेत्रका बासिन्दाहरुको नियतीलाई साहित्य, राजनीति, परराष्ट्र सम्बन्ध, सीमाको ऐतिहासिकतालाई फूलको थुँगा बनाएर बनाइएको माला रहेछ 'कालापानी यात्रा'

भीमदत्त पन्तको परिवर्तनकारी सोच, साहास र जनतासँगको उनको सम्बन्ध अनि उनले किसान जागरणमा गरेको योगदान र प्रेमसिंह धामीको विचार र योगदानका बारेमा पस्केका सन्दर्भहरूले अनि दत्तु जोशीको बलिदानी सन्दर्भले अहिलेका नेता भनाउदा सामन्तवादका नायकहरूलाई राम्रैसँग व्यङ्ग्य गरेको महसुस हुन्छ । उसबेला के भने, के देखाएर राजनीति गरेका थिए र अहिले के कस्ता काम गरिरहेका छन् भन्ने विरोधाभाषपूर्ण यथार्थको तस्वीर खिचेको देखिन्छ- पुस्तकलाई विश्लेषणको नजरले हेर्दा ।

हरेक घटनाक्रमको आफ्नै ऐतिहासिक महत्व हुन्छ । यो पुस्तक पनि भविष्यमा कालापानीबाट भारतलाई हटाउने ऐतिहासिक यात्रामा एउटा ऐतिहासिक कदम सावित हुनेछ । त्यस क्षेत्रको यात्रामा रुचि हुनेका लागि एउटा ‘गाइड बुक’ कै काम गर्नेछ यस पुस्तकले ।

पुस्तकका लेखक नन्दु उप्रेतीले यात्राका एकजना पात्र नवेन्दु ढकाललाई डा. कोटनीसको उपमा दिदै यात्रामा उनले पनि केही कुरा लेख्दै र टिप्दै गरेको प्रशङ्ग देखाएका कारण पुस्तकका पाठकले नवेन्दुले पनि भविष्यमा यही यात्राको अर्को पुस्तक प्रकाशन गर्लान् कि भन्ने आशा गरेको हुन सक्छ, मैले जस्तै गरी ।

म आफू पनि साहित्यानुरागी भएकोले पनि साहित्यका विधा, फाँट त्यसका नियम विधि र चरणहरूबारे जिज्ञासु बन्दै साधनाको प्रयासमा निरन्तर  लागिरहेको छु।साधनाकै क्रममा लेखिएका शब्दहरु वाक्यहरू कहिलेकाहीँ समीक्षा भइदिदा दङ्ग पर्छु।

साहित्यकार नन्दु उप्रेतीलाई भविष्यमा पनि पाठकहरूलाई यस्तै रूचिपूर्ण साहित्यका थुङ्गाहरू पस्किरहने शुभेच्छा दिदै उनको साहित्यको कलम  अझ तिखारिँदै चलिरहोस् भन्ने शुभकामना दिन चाहान्छु। यो पुस्तक दार्चुलाका गाउँ लगायत नेपालका अरु पनि गाउँ गाउँमा पुग्न सकोस् ।