महिला प्रदर्शनको समाचार लेख्ने पत्रकारलाई कुटे तालिबानले

महिला प्रदर्शनको समाचार लेख्ने पत्रकारलाई कुटे तालिबानले

एजेन्सी  |  विदेश  |  भदौ २४, २०७८

अफगानिस्तानको राजधानी काबुलमा महिला प्रदर्शनबारे समाचार लेख्ने पत्रकारलाई तालिबानले निर्घात कुटेका छन् । तालिबान सत्ताबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका बेला महिला प्रदर्शनको समाचार लेख्ने पत्रकारले कुटाइ खाएका हुन् ।  

सामाजिक संजाल ट्विटरमा राखिएका विभिन्न तस्बीरमा तालिबानले पत्रकारलाई लाठीले हिर्काएका देखिन्छ । ती पत्रकारको अनुहार र शरीरका विभिन्न भागमा नीलडाम देख्न सकिन्छ । महिलाबारे समाचार लेखेका २ जना पत्रकारलाई बाहिरी वस्त्र खोल्न लगाएर तालिवानले निर्मम ढंगले कुटेका छन् ।

कुटाइका कारण उनीहरूको पिठ्युँ, ढाड र कम्मर रातो देखिन्छ । अर्को एक भिडियोमा ३ जना पत्रकारलाइ सामूहिक रूपमा बाँधेर एउटा कोठामा लगिएको देखिन्छ । उनीहरूको अनुहारमा चोट र नीलो डाम देखिन्छ । 

आफूलाई सरकारमा सहभागी नगराएको र विभिन्न अधिकार कटौती गरेको भन्दै काबुलमा महिलाले प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनबारे समाचार लेख्न तालिबानले संचारकर्मीलाई उर्दी दिएका छन् ।