एमालेमा ७० वर्षे उमेर हद बहस: अर्को महाधिवेशनमा धेरै नेतालाई कुना पसाउने खेल

एमालेमा ७० वर्षे उमेर हद बहस: अर्को महाधिवेशनमा धेरै नेतालाई कुना पसाउने खेल

डिल्ली आचार्य  |  दृष्टिकोण  |  भदौ २४, २०७८

एमालेको विधान महाधिवेशन सुरु हुन १२ दिन बाँकी रहँदा पार्टी नेतृत्व र कार्यकर्ताबीच पार्टीको विधान र भावी नेतृत्वबारे चर्चा चुलिएको छ ।

आगामी ४ देखि ६ असोजमा ललितपुरको गोदावरीस्थित नवनिर्मित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने विधान महाधिवेशनका लागि केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्वलाई पार्टीले विधान मस्यौदा वितरण गरिसकेको छ । 

छलफलका लागि जिल्ला कमिटी तहसम्म वितरण गरिएको विधान मस्यौदा भने बहुचर्चित ७० वर्षे उमेर हदबारे मौन छ । ७० वर्ष पूरा भएका नेताले पार्टीको केन्द्रीय तहदेखि टोल कमिटीसम्मको कार्यकारी पदमा बस्न नपाउने गरी एमालेको नवौँ महाधिवेशनले विधानमा व्यवस्था गरेको थियो । महाधिवेशनपछि आन्तरिक किचलो खेपेको एमालेले माओवादी केन्द्रसँगको एकता भंग भएपछि यो प्रावधान हटाएको घोषणा गर्‍यो । 

तर, पार्टी एकताका लागि भएको १० बुँदे सहमतिले पार्टीका सबै संरचनालाई माओवादी केन्द्रसँग एकताअघि (२ जेठ २०७५)मा फर्काएसँगै हाल एमालेको विधानमा गरिएको यो व्यवस्था क्रियाशील अवस्थामा छ । 

नवौँ महाधिवेशनकै म्यान्डेटअनुसार पार्टीको नीति र नेतृत्व चयनका लागि बेग्लाबेग्लै महाधिवेशनमा जुटेको एमाले विधान महाधिवेशनको संघारमा वितरण गरिएको विधानको मस्यौदामा उमेर हदको विषयमा किन मौन बस्यो त ?  यसका पछि एमालेको मूल नेतृत्वको दीर्घकालीन चलाखी झल्किएको देखिन्छ । 

के भन्छन् नेता ? 

एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली एमालेको नवौँ महाधिवेशनले विधानमा पारित गरेको ७० वर्षे उमेर हद हाल कायम नै रहेको बताउँछन् । उनका अनुसार यसलाई फेर्ने या कायम राख्ने भन्ने जिम्मा आगामी विधान महाधिवेशनलाई मात्र छ । 

त्यसो भए मस्यौदामा किन परेन ७० वर्षे प्रावधान ? 

ज्ञवाली ७० वर्षे उमेर हद हटाउनुपर्ने आवश्यकता नदेखेरै मस्यौदामा यो विषय नसमेटिएको दाबी गर्छन् । ‘७० वर्षे उमेर हद विधानमा कायम नै छ । यसलाई हटाउनुपर्ने आवश्यकता नरहेकै कारण केन्द्रीय कमिटीले विधान मस्यौदामा छलफलका लागि प्रस्ताव नगरेको हो’, ज्ञवालीले भने । 

महासचिव पोखरेल, उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यलगायतका थुप्रै नेताहरू उमेर हदकै कारण ११औँ महाधिवेशनमा कार्यकारी पदको दाबी गर्न नपाउने अवस्थामा पुग्नेछन् । 

उनका अनुसार एमालेको वर्तमान केन्द्रीय नेतृत्व र नेता ७० वर्षे उमेर हद कायम नै राख्ने पक्षमा छ । ‘विधान महाधिवेशनले यो व्यवस्था हटाउनुपर्ने महसुस गरेमा महाधिवेशनको हलले मात्र यो व्यवस्था हटाउने उनको तर्क छ । 

७० वर्षे प्रावधानमा ज्ञवाली जस्ता धेरै नेता यति स्पष्ट हुँदाहुँदै मस्यौदामा किन यो ७० वर्षे उमेर हद परेन भन्ने विषयमा भने नेताहरूको फरक फरक जबाफ छ ।

ओली टिम र माधव निकट नेतासँग बेग्लाबेग्लै सहमति 

१० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टी विभाजनको अन्तिम समयमा ओली नेतृत्वको एमालेलाई साथ दिएका १० जना स्थायी कमिटी सदस्यको महत्त्वपूर्ण चासो विधानमा ७० वर्षे उमेर हद कायम राखेर जाने भन्नेमा थियो । 

एमाले प्रवक्ता योगेश भट्टराई विधान महाधिवेशनबाट ७० वर्षे उमेर हदको व्यवस्थाले निरन्तरता पाउने बताउँछन् । उनले यसो बताउनुका पछाडि ओलीसँग भएको आन्तरिक सहमति कारक हो ।  ओली निकट एक नेताका अनुसार आफ्नै खेमा र माधव नेपाल खेमा छाडेर आएका नेताबीच ओलीले नै ७० वर्षे मानेर जाने प्रस्ताव गरेका हुन् । 

विधानले ७० वर्ष पूरा भएका नेता पार्टीको कार्यकारी भूमिकामा बस्न नहुने भनेको छ । भविष्यमा ओली नेतृत्वमा दोहोरिएको देख्न नचाहने र युवा पुस्ताका लागिसमेत एमाले विधानको ७० वर्षे प्रावधान राम्रो देखिए पनि यसको दूरगामी असर भने एमालेले ११औँ महाधिवेशनमा भोग्ने देखिएको छ । 

फेरि पनि ओली !

एमाले अध्यक्ष ओलीले पार्टी एकताका क्रममा धेरै पटक एउटा वाक्यांश दोहोर्‍याए, ‘केपी ओली दोहोर्‍याएर एउटा कक्षा पढ्दैन ।’  उनको आशय थियो, अबको महाधिवेशनमा अध्यक्ष बन्दिनँ र अब हुने निर्वाचनपछि बन्ने सरकारमा आफ्नो दाबी प्रधानमन्त्रीमा छैन । 

तर, ओलीको यो अभिव्यक्तिलाई खण्डन गर्दै उनी निकट नेता शंकर पोखरेलले केहीअघिको एउटा भाषणमा एमाले अबको एउटा महाधिवेशन र एउटा आमनिर्वाचन ओलीकै नेतृत्वमा जाने घोषणा गरे । 

उनको अभिव्यक्तिपछिको कारण भने यस्तो छ 

ओली निकट नेताहरू फेरि एक पटक ओलीलाई नै नेतृत्वमा ल्याउन चाहन्छन् । तर, धेरै नेता कार्यकर्ताको बुझाइ छ, ‘ओली ७० वर्ष पुगे, विधानको पुरानो व्यवस्था कायम भए ओली अध्यक्ष उठ्न पाउँदैनन् ।’ 

एमालेको नवौँ महाधिवेशनले पारित गरेको विधानको धारा ६५ को उपधारा ३ ले भन्छ, ‘सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनीत हुन उमेर हद ७० वर्ष हुनेछ ।’

विधानको यो धारा एमालेको कार्यकारी पदमा बस्न ७० वर्ष पूरा भएपछि नपाउने हो या ७० लागेपछि नपाउने हो भन्ने विषयमा मौन छ । ओली र उनी निकट नेताहरू भने विधानको यही व्यवस्थाले ओलीलाई एक पटक अध्यक्ष बन्न अवसर दिएको व्याख्या गर्छन् ।

त्यसो भए ओलीको उमेर कति भयो ? 

ओली ११ फागुन २००८ सालमा जन्मिएका हुन् । एमालेको महाधिवेशन ५ मंसिर २०७८ मा सुरु हुँदै छ । महाधिवेशन सुरु हुने दिन ओली ६९ वर्ष ८ महिना २९ दिनका हुनेछन् ।

ओली पक्षका नेताका दाबीअनुसार उनी ११ फागुन २०७८ मा मात्र ७० वर्ष पूरा भएर ७१ वर्ष लाग्नेछन् । 

‘त्यस कारण ओली ७० वर्ष पूरा हुन महाधिवेशनका बेला अझै ३ महिना चानचुन बाँकी रहने भयो, उहाँ ७० वर्षे उमेर हद क्रस नगरेको नेताका रूपमा रहने हुनुभयो’, ओली निकट एक नेता भन्छन् । 

उनको यो तर्कअनुसार ओली अध्यक्षका लागि योग्य हुन् । ओली निकट नेताका तर्ककै आधारमा महाधिवेशनमा प्रतिस्पर्धा गरेर ओली अध्यक्षमा निर्वाचित भए भने पनि ३ महिना नबित्दै उनी ७० वर्ष पूरा भएर ७१ वर्षका लाग्नेछन् । त्यसपछि उनले पद छोड्नपर्छ कि पर्दैन भन्ने विषयमा भने ओली निकट नेताहरूसँग पनि जबाफ छैन । 

‘उहाँलाई प्रतिस्पर्धा गर्न उमेरले नछेक्ने हो । निर्वाचित भइसकेपछि उमेर गयो भने के गर्ने भन्ने विषयमा अब हुने विधान महाधिवेशनले केही भन्ला नि !’, ओली निकट ती नेता भन्छन् । 

११औँ महाधिवेशनमा धेरै नेता ‘रिङ आउट’ 

एमालेमा ७० वर्षे उमेर हद विधान महाधिवेशनबाट पारित भएर कार्यान्वयनमा आयो भने अबको पाँच वर्षपछि नेतृत्व चयनका लागि हुने महाधिवेशनमा भने धेरै नेताहरू ‘रिङ आउट’ हुने देखिएका छन् । 

१०औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी मानिएका महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालमध्ये ११औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्न भुसाल मात्र योग्य हुने देखिएका छन् । 

महासचिव पोखरेल, उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यलगायतका थुप्रै नेताहरू उमेर हदकै कारण ११औँ महाधिवेशनमा कार्यकारी पदको दाबी गर्न नपाउने अवस्थामा पुग्नेछन् । 

पोखरेल ६९ वर्षका भइसकेका छन् । रावल ६५ वर्ष, नेम्वाङ, शाक्य र युवराज ज्ञवाली ६८ वर्षका भए भने बोहोरा ७३ वर्षका भइसकेका छन् । 

न्यूज कारखानाबाट