आइपिएलको पहिलो क्वालिफायरबाट को पुग्ला फाइनलमा ?

आइपिएलको पहिलो क्वालिफायरबाट को पुग्ला फाइनलमा ?
मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा (बाँया) र चेन्नई सुपर किंग्सका कप्तान महेन्द सिंह धोनी ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २४, २०७६

चेन्नई । इण्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो क्वालिफायरमा आज मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स प्रतिष्पर्धा गर्दैछन् । 

यस्तोमा क्रिकेटप्रेमीको एक प्रश्न छ– पहिलो क्वालिफायरबाट कुन टिम फाइनल पुग्ला ? 

यसबारे सहजै आँकलन गर्ने अवस्था छैन । किनकि दुवै टिम उत्कृष्ट छन् । 

चालू सिजनमा मुम्बईको बलिङ र ब्याटिङ दुवै राम्रो देखिएको छ । अलराउन्डर हार्दिक पाण्ड्याको प्रदर्शन पनि तारिफयोग्य छ । उनी आफ्नो बलिङ र ब्याटिङबाट टिमलाई जिताउन सक्ने क्षमता राख्छन् । यस्तै, मुम्बईका क्यारोन पोलार्ड पनि ‘गेम चेन्जर’ मानिन्छन् ।

त्यति मात्रै होइन, जसप्रित बुमराह र लासिथ मालिंगा पनि फर्ममा छन् । बुमराह सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सातौं स्थानमा छन् । उनले १४ खेलबाट १७ विकेट लिइसकेका छन् । यस्तै, मालिंगा चालू सिजनमा सर्वाधिक विकेट लिने खेलाडीको १० औं स्थानमा छन् । चालू सिजनमा १० खेल मात्रै खेलेका मालिंगाले १५ विकेट लिइसकेका छन् । 

यता चेन्नईलाई पनि कम आँक्न भने मिल्दैन । चेन्नईको सबैभन्दा बलियो पक्ष महेन्द्रसिंह धोनीको कप्तानी हो । उनमा जस्तोसुकै परिस्थितिमा पनि टिमलाई जित दिलाउने खुबी छ । त्यति मात्रै होइन, उनी टिमलाई आवश्यक पर्दा रन पनि बनाउँछन् । 

बलिङमा इमरान ताहिर फर्ममा छन् । उनी चालू सिजनमा सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा दोस्रो छन् । उनले १४ खेलबाट २१ विकेट लिएका छन् । उनीभन्दा अघि रहेका दिल्ली क्यापिटलका कागिसो रवाडाले १२ खेलबाट २५ विकेट लिएका छन् । दीपक चहरले पनि खेलप्रेमीको मन जितेका छन् । 

हेड टु हेडमा मुम्बई अघि 

यी दुई टिमबीच भएका हेड टु हेड खेलमा मुम्बई अघि देखिएको छ । मुम्बईले २६ खेलमध्ये १५ मा जित निकालेको छ भने चेन्नई ११ खेलमा विजयी भएको छ । 

सन् २०१५ पछिका ८ खेलमा पनि मुम्बई नै अघि छ । मुम्बई ६ खेलमा विजयी भएको छ भने चेन्नईले दुई खेलको नतिजा मात्रै आफ्नो पक्षमा पारेको छ । 

चालू सिजनअन्तर्गत समूह चरणका दुवै खेलमा भने मुम्बईले बाजी मारेको छ । 

हेड टु हेड नतिजाका आधारमा मुम्बईको पलडा भारी देखिन्छ । तर, मुम्बईले नै खेल जित्छ भन्न सकिँदैन ।