आलमको मुद्दामा आज पनि भएन सुनुवाइ

आलमको मुद्दामा आज पनि भएन सुनुवाइ

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ २५, २०७८

नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन ।

रौतहटको फरहदवा बमकाण्डका घाइतेलाई जिउँदै इटाभट्टामा लगेर मारेको अभियोगमा आलमलाई जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि जेल पठाएको थियो । यसविरुद्ध उनी सर्वोच्च पुगेका हुन् । 

न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासमा आलमको मुद्दाको पेसी तोकिएको थियो । तर, न्यायाधीश फुयाँलले उनको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको हो । फुयाँलले यसअघि प्रहरीले जाहेरी लिन नमानेपछि पीडितको पक्षबाट मुद्दा लडेकाले उनले यो मामिला हेर्न नमिल्ने भएको हो ।

यसअघि २९ असारमा पनि आलमको मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइ रोकिएको थियो । २९ असारमा प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा आलमको मुद्दाको पेसी तोकिएको थियो । न्यायाधीश रेग्मी न्यायाधीश बन्नुअघि कांग्रेसको सदस्यता नै लिएकाले उनले कांग्रेसकै नेता आलमको मुद्दा हेर्न नमिल्ने भनिएको थियो ।

आलमको मुद्दामा मंसिर २०७७ देखि हालसम्म ९ पटक पेसी तोक्दा एक पटक पनि सुनुवाइ हुन सकेको छैन । आलमको मुद्दामा अर्को पेसी ८ असोजमा तोकिएको छ ।