१४औँ महाधिवेशनमा युवाहरूको चुनौती सामना गर्न दोस्रो पुस्तालाई हम्मेहम्मे पर्नेछ: प्रतिमा गौतम
भदौ २५, २०७८

नेपाली कांग्रेसको वर्तमान नेतृत्व, १४औँ महाधिवेशन तथा आगामी महाधिवेशनमा हुने नेतृत्व चयन र पदाधिकारीमा हुने युवा नेतृत्वको उम्मेदवारी, चुनौती जस्ता समसामयिक विषयमा कांग्रेसकी महिला युवा नेतृ प्रतिमा गौतमसँग लोकसंवादडटकमका लागि घनेन्द्र ओझाले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ । 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि वडा तहका अधिवेशन जारी छन् । विवाद र मतभेदका बीच अधिवेशन चलिरहेको छ, यसलाई कसरी हेरिरहनुभएको छ ?

नेपाली कांग्रेसको महाधिवेशनलाई पर्वको रूपमा लिइन्छ । ५ वर्षमा आउने चुनाव कोरोनालगायतका विभिन्न कारणले गर्दा यस पटक केही ढिला गरेर आएको छ । यद्यपि, कांग्रेसहरू निकै उत्साहित छन् । 

यस क्रममा कुनै ठाउँमा र केही सवालमा बाधा, अप्ठ्यारा स्वाभाविक रूपमै आएका छन् । मास पार्टी हुनुका कारण र धेरै कार्यकर्ता रहनुका कारण पनि यस्ता विषयहरू आइरहन्छन् र तिनको उचित समाधान र सम्बोधन पनि हुन्छ नै ।

प्रदेश २ लगायतका अन्य जिल्लामा एकै पटक महाधिवेशन गर्नुपर्ने माहोल निर्माण गर्नुपर्ने हो पार्टीले तर त्यो निर्माण गर्न नसक्दा केही असहजता देखिएको हो तर त्यो उत्साह चाँडै उठ्नेछ भन्ने लाग्छ । 

क्रियाशीलका विवादका नाममा क्रियाशील काटिएर आउनु, नेताले व्यक्तिगत रूपमा आफूलाई हेरेर क्रियाशीलको कुरा अगाडि बढाउनु आदिले कांग्रेसप्रति आस्थावान्हरूको मन अवश्य दुखेको अवस्था छ । 

डडेल्धुरालगायतका जिल्लामा जुन विवाद देखियो, त्यसमा आशंका छ । क्रियाशील विवाद नभईकन सहज रूपमा लिएर जानुपर्नेमा कांग्रेस अल्मलिएको भने देखिन्छ । यसमा नेतृत्वको ध्यान राम्ररी नपुगेको हो कि भन्ने पनि लाग्छ । 

१४औँ महाधिवेशनमा क्रियाशील सदस्यता दोब्बर पुर्‍याइयो, यसको अन्तर्य के हो ?

कुनै तलब, सुविधा नभईकन ‘म पार्टीमा काम गर्छु’ भन्दा पनि पार्टीमा कार्यरत धेरै साथीहरूले क्रियाशील सदस्यता नपाउँदा दुखेसो आउने गरेका कारण साथीहरूको इच्छाबमोजिम क्रियाशील सदस्यता बढाइएको हुनुपर्छ । 

आवश्यकताअनुसार हुनुपर्नेमा सत प्रतिशत बढाइएको भन्ने कुरो आएको छ । त्यसले कांग्रैसमा काम गरेका इमान्दार मानिसलाई अलिक धक्का पुर्‍याउँछ कि भन्ने आशंका भने कायम छ । 

आफ्नो विरासत जोगाउन स्थानीय तथा केन्द्रीय नेताहरूले आफूअनुकूल र अन्य पार्टीबाट आएकालाई समेत क्रियाशील सदस्यता वितरण गरेको आरोप छ नि ?

अहिले देशभर कांग्रेस पार्टी समायोजनको क्रममा छ । विजय गच्छदारलगायत सुनिल थापाको समूह पनि कांग्रेसमा आएका छन् । त्यस कारण ठ्याक्कै यसरी भन्न नमिल्ला । 

अर्को पार्टीबाट कांग्रेसप्रति प्रतिवद्ध भएर आएका साथीहरूलाई पनि स्थान दिनु जरुरी छ । नत्र उहाँहरू कांग्रेस पार्टीमा प्रवेश गरेँ भन्नुको अर्थ छैन । 

कतैकतै व्यक्तिगत स्वार्थका कारण पनि यस्ता कुरा आएका छन् । तर, ती पनि क्रियाशील सदस्यता लिएर आइसकेपछि उनीहरू पनि कांग्रेसको कार्यकर्ता बनेर पार्टीभित्र काम गर्न इच्छुक बनेर आए भनेर हामीले बुझ्नुपर्छ । 

सबैजसो पार्टीमा युवा नेतृत्वको कुरा धेरै उठ्ने र सेलाउने गरेको छ । कांग्रेसमा पनि पटक पटक युवा नेतृत्वको कुरो उठेको छ । यस पटक भने सभापतिदेखि पदाधिकारीमा नै उम्मेदवारी नै परेको छ । के हाम्रा युवा नेताहरूले आफ्नो अडान कायम राख्न सक्लान् ?

२०/२५ वर्ष प्रजातान्त्रिक आन्दोलनलाई समय दिएर एउटा चरण पार गरेर आएका युवा नेता छन् कांग्रेसमा । त्यसरी आउनु भनेको छोटो समय होइन । 

अहिले कांग्रेसमा तेस्रो तथा चौथो पुस्ता आइसकेको छ । हामीभन्दा अघिल्लो पुस्ताले अझै युवा भन्न नछाडेका कारण हामीले आफूलाई युवा भन्ने कि नभन्ने भन्ने सवाल पनि छ । 

बीपी कोइराला तथा गणेशमानजीको पालामा पनि हालका नेताहरूले ३५/३६ वर्षको उमेरमा पार्टी र देशको बागडोर सम्हालिसकेका कारण अहिले हाम्रो उमेर पुगेको छैन, बेला भएको छैन भन्नुचाहिँ आपत्तिजनक कुरा हुन्छ । यो पूर्वाग्राही कुरा पनि हुन्छ । देश, सरकार र पार्टी चलाउन सक्षम युवाहरू तयार भएर आइसकेका हुनाले यस पटक युवाहरूलाई रोक्न सक्ने कुनै संभावना देखिँदैन । 

जहाँसम्म युवा नेताले आफ्नो उम्मेदवारीमा अडान कायम राख्लान् त भन्ने प्रश्न छ, म आफूचाहिँ हाम्रा युवा नेता साथीहरूप्रति विश्वस्त छु । उहाँहरूले घोषणा गरेको उम्मेदवारी पक्कै कायम राख्नुहुनेछ । राजनीतिमा, चुनावमा हार वा जीत सामान्य कुरा हो, मूल कुरा आफ्ना अडान, दृष्टिकोण र मान्यता हुन् भन्ने हामी युवाहरूलाई प्रस्ट थाहा छ । यसर्थ पनि युवा नेतृत्व लोकतान्त्रिक प्रतिस्पर्धाबाट भाग्दैन भन्ने मलाई लाग्छ । र, १४औँ महाधिवेशनमा युवाहरूको चुनौती सामना गर्न दोस्रो पुस्तालाई हम्मेहम्मे पर्नेछ ।

कांग्रेसमा त ‘दाजु’, ‘दिदी’ले ‘यस पटक बस्नुहोस्’ भन्ने प्रचलन कायम छ । यसले युवा नेतालाई फेरि थान्को नलगाउला र ? कम्तीमा हार्नकै लागि भए पनि आफ्नो अडान कायम राख्न सक्लान् ?

यस विषयलाई पहिलेको महाधिवेशनले पनि केही चुनौती दिइसकेको छ । यसभन्दा अघि पनि केही युवा साथीले चुनाव लडिसक्नुभएको छ । 

राजनीतिमा सबै लडेको ठाउँमा जितिन्छ भन्ने पनि हुँदैन । र, जित्नकै लागि मात्र राजनीति गरिन्छ भन्ने पनि होइन । 

यस पटक युवाहरू अन्तिम समयसम्मका लागि तयार छन् भन्ने मलाई लाग्छ । कल्याण गुरुङजीले हार्नुहोला वा जित्नु होला, जति भोट आउला, मैले चिनेको कल्याण गुरुङको उम्मेदवारी फिर्ता हुँदैन । 

धेरै युवाहरू महामन्त्रीका आकांक्षी पनि हुनुहुन्छ । पद त एक/दुईवटा मात्र हो । त्यस कारण केहीले फिर्ता लिए पनि अबको कार्यकारीमा युवाको राम्रै प्रतिनिधित्व हुन्छ भन्ने हामीले बुझेका छौँ । 

देशभरिको वडा अधिवेशनले पनि त्यो संकेत दिइसकेको छ । १९, २०, २२ वर्षका युवाहरू आइरहेका छन् । त्यस कारण अब युवाहरूले तलैदेखि हामी नेतृत्वका लागि तयार छौँ भनेर आइसकेपछि हामी माथिका युवालाई पनि प्रेसर भएको छ । त्यसैले हामी युवाको उम्मेदवारी कायमै रहनेछ र धेरैले जीत पनि हासिल गर्नुहुन्छ भन्ने धेरैको बुझाइ छ । 

युवा नेतृत्वका लागि कल्याण गुरुङदेखि गगन थापा र विश्वप्रकाश शर्मासम्मले सभापति, महामन्त्रीको उम्मेदवारी घोषणा गरिरहँदा तपाईंहरू अर्थात् कांग्रेसकै युवा नेतृत्वका दाबेदारहरूले शुभकामनासमेत दिएको देखिएन त ?

शुभकामना दिनु वा नदिनु कसैको व्यक्तिगत कुरा होला । हामी त नेतृत्वमा युवा आउनुपर्छ र कुनै न कुनै रूपमा अहिलेको पुस्तालाई चुनौती दिनुपर्छ भनेर खुला शुभकामना नै दिन्छौँ । 

अहिलेको युवा पुस्ताले अर्को पुस्ताको न्यायका लागि पनि यसो गर्नुपर्छ । 

अलगअलग टिमबाट युवा आउने कुरा महत्त्वपूर्ण हो । त्यस कारण युवालाई जुनसुकै टिमबाट आए पनि युवाले समर्थन गर्ने कुरो हालको अवस्थाले देखाउँछ । यो हामी कांग्रेसका लगभग सबै युवाहरूको घोषित नीति, रणनीति जस्तै नै हो ।

राजनीतिमा गुट, उपगुट हुन्छन् । सबैलाई चुनाव जित्नुपरेको छ, त्यसैले बलियो गुट खोज्नु पनि स्वाभाविक हो । विगतमा बलिया युवा नेताहरू कमजोर गुटमा लागेका कारण पराजित भएको उदाहरण पनि त छ । 

जतिसुकै गुट भए पनि अन्तिममा चुनाव हुने भनेको २ वा अहिलेको सन्दर्भ बढीमा ३ गुटमा हो । तर, जुनसुकै गुटमा भए पनि त उहाँहरू सबै चार तारामुनि नै हुनुहुन्छ, कांग्रेसकै कार्यकर्ता, नेता हुनुहुन्छ नि होइन ?

एउटै गुटमा रहिरहँदा त्यो 'इगो' मा परिणत हुने डर हुन्छ । र गुटगुटमा पनि पार्टी नै अलग भएजस्तो गरी अलग भएर पनि जानुहुँदैन ।  

पार्टी स्थायी हुन्छ । गुट भनेको अस्थायी हो । हरेक महाधिवेशनमा पुरानो गुट भत्किने र नयाँ गुट बन्ने गरेको पाइन्छ । त्यो स्वाभाविक पनि हो । 

यस पटक भने युवाहरू जुनसुकै गुटबाट लडे पनि युवाहरूलाई समर्थन गर्ने माहोल आएको छ । युवालाई छानीछानी मतदान गर्नुहुनेछ हाम्रा प्रतिनिधिहरूले भन्नेमा हामी विश्वस्त छौँ  । युवाहरू पार्टी नेतृत्वका लागि सफल हुँदै छन् र सफलताको बाटो लिइरहेका देखिन्छ पनि । 

कांग्रेसका विभिन्न ‘दाइ’ वा ‘दिदी’ गुटमा रहेका युवाहरू मिलेर जाने आधार केही छन् ?

युवालाई युवाले समर्थन गर्छन् । पद एउटा अथवा दुईवटा हुन्छन् । एउटै टिममा सबै मान्छे अट्दैनन् । त्यस कारण अलगअलग टिमबाट युवा आउने कुरा महत्त्वपूर्ण हो । त्यस कारण युवालाई जुनसुकै टिमबाट आए पनि युवाले समर्थन गर्ने कुरो हालको अवस्थाले देखाउँछ । यो हामी कांग्रेसका लगभग सबै युवाहरूको घोषित नीति, रणनीति जस्तै नै हो ।

तपाईंले लामो समय विद्यार्थी राजनीति गर्नुभयो, पार्टीको राजनीतिमा पनि हुनुहुन्छ, संसदीय चुनाव पनि लड्नुभयो, तपाईंको योगदानलाई पार्टीले कसरी लिएको छ भन्ने लाग्छ ?

पार्टीभित्र भन्दा पनि पार्टीका साथीभाई तथा नेताहरूले कसरी हेर्छन् भन्ने हो । तर, पार्टीमा योगदानको मूल्यांकनको पद्धति कांग्रेसमा देखिँदैन । कांग्रेसमा त्यस किसिमका दस्तावेज राख्ने अनि अध्ययन भएको देखिँदैन । यस मामलामा पार्टी अस्तव्यस्त नै देखिन्छ । 

पार्टीको केन्द्रीय समितिको बैठकमा को जुनियर, को सिनियरको विवादमा हस्ताक्षर नभएर लामो समय रहेको हामीले बारम्बार देखेका छौँ । 

पार्टीमा केन्द्रीय नेताहरूलाई प्रभाव पार्नेले हालिमुहाली गरेको हामीले स्पष्ट देखेका छौँ । तर, काम गर्ने र फिल्डबाट आएका साथीभाइलाई देशभरका नेताहरूले भने माया गरेको र मूल्यांकन गरेको देखिन्छ । 

मेरै सन्दर्भमा भन्नुहुन्छ भने १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य लड्दा केन्द्रीय नेताहरूले खासै मूल्यांकन गर्नुभएन, म उहाँहरूको टिममा परिनँ । 

तर, देशभरका साथीहरूले यस्तो माया गर्नुभयो नि, मैले टिमभित्र परेर हार्ने साथीहरूले भन्दा धेरै राम्रो मत प्राप्त गरेँ । 

त्यस कारण पार्टीका नेतृत्वले विवेक गुमाउँदा पनि पार्टीमा लागेका कार्यकर्ताले विवेक गुमाएको देखिँदैन । साथीहरूमा भने विवेक देखिन्छ ।  

अघिल्लो महाधिवेशनमा गुटमा पनि यति सन्तुलित ढंगले मतदान भएको देखिन्छ कि २ वटा टिमबाट बराबर मान्छे निर्वाचित भएका छन् ।

जस्तो कि त्यसबेलाका पूर्वाञ्चल विकास क्षेत्रबाट गुरुराज घिमिरे र भीष्मराज आङ्देम्बे, पश्चिमाञ्चलबाट गोविन्द भट्टराई र सुरेन्द्र पाण्डे, मध्यमाञ्चलबाट नवीन्द्रराज जोशी र मोहन बस्नेतलाई जिताएर एकदमै विवेक पुर्‍याएका देखिन्छ ।

यस पटकको महाधिवेशनमा तपाईंको योजना के छ ?

अघिल्लो महाधिवेशनमा पनि म केन्द्रीय सदस्यमा लडेकी थिएँ । यस पटक पनि केन्द्रीय सदस्यका रूपमा नै लड्ने हो । पार्टीका नेताले यस पटक विवेक गुमाउनुहुन्न भन्ने मलाई लागेको छ । 

आन्तरिक र अनौपचारिक छलफलमा हामीबाट गल्ती भयो जस्तो नेताहरूले महसुस गर्नुभएको छ । 

त्यसैले यस पटक नेताहरूले पनि विवेक पुर्‍याउनुहुन्छ र देशभरका साथीहरूले पनि विवेक पुर्‍याउनुहुन्छ जस्तो लाग्छ । त्यस कारण पनि यस पटक मेरो केन्द्रीय सदस्यमा उम्मेदवारी हुनेछ ।

गुरुराज घिमिरे, मनोजमणि आचार्य र कल्याण गुरुङसँग कुरा गर्दा युवाहरूको एउटा टिम नै बनाएर सभापतिदेखि अन्य पदाधिकारीमा चुनाव लड्ने कुरा गर्दै हुनुहुन्थ्यो नि, तपाईंको यस्तो योजना छैन ?

उहाँहरू जति स्पष्ट बोल्नुहुन्छ, म पनि त्यति नै स्पष्ट बोल्छु । युवा नै युवाहरूको एउटा टिम बनाएर चुनाव लडे त झनै राम्रै । 

तर, अहिले देखिएका २ वा ३ प्यानलबाट युवाहरू अगाडि आउनुहुन्छ जस्तो मलाई लाग्छ । अन्त्यमा, पाका र युवा नेताको समायोजनमा प्यानल बनेर अघि बढ्न पनि सक्छ जस्तो मलाई लाग्छ । 

दोस्रो पुस्ताका पाका नेतालाई ससम्मान विस्थापित गर्न (त्यो भनेको निर्वाचनमा हराएर पनि हो) तपाईंहरू योग्य र सक्षम हुनुहुन्छ भन्ने केही आधार छन् ?

सक्षम भनेको कार्यक्षमताले, कामले र लोकप्रियताले पनि देखाउने हो । यी सबै कुरामा युवाहरू सक्षम हुनुहुन्छ । अब उमेरका हिसाबमा पनि युवाहरू परिपक्व भइसक्नुभयो । 

गगनजीले स्वास्थ्य मन्त्रालय राम्रोसँग चलाएर देशभर चर्चा पाउनुभएको छ । केन्द्रीय समिति तथा देशभर आफ्नो आवाज बुलन्द गरेर बद्री पाण्डेजी, गुरु घिमिरेजी अनि कल्याण गुरुङजीलगायतका नेताहरूले आफूलाई सक्षम सावित गरिसक्नुभएको छ ।  

पुस्ता हस्तान्तरणको अवस्थाका लागि कतिपय अवस्थामा उमेरका कारण र कतिपय यो महाधिवेशनले पनि निर्णय गर्नेछ । 

महिला नेतृको हिसाबले महिलाका हक, अधिकार, आरक्षण र समावेशिताको कुरा कस्तो होला यस पटकको महाधिवेशनमा ?

महिलाको सन्दर्भमा संविधानमा जुन ३३ प्रतिशत अरक्षणको प्रावधान छ, त्यसलाई त कार्यान्वयन गर्नै पर्‍यो । तर, त्यसका लागि पुरुष साथीहरू पनि लाग्नुपर्छ । 

अहिले क्रियाशीलमै ३३ प्रतिशत पुगेको देखिँदैन । २२ प्रतिशतजति पुगेको होला । त्यसका लागि नेतादेखि पार्टीका सबै लाग्नुपर्छ । एउटा समूहलाई समावेश गर्न त महिला मात्र लागेर पुग्दैन । 

हिजो एउटा क्षेत्रबाट २ जना महाधिवेशन प्रतिनिधि हुन्थे भने अहिले ८-१० जना भएका छन् । त्यस हिसाबले यो संख्या ठूलो हो । यो भनेको महिलाहरूका लागि चुनौतीपूर्ण अवसर पनि हो । 

राम्रोसँग आफूलाई लिएर अघि बढ्ने हो भने अर्को वर्ष महिलाहरू नै निर्णायक तहमा पुगेका देख्न सकिन्छ । अहिले पनि महिलाको भोट निर्णायक हुने देखिन्छ । 

यस पटक नै पनि २ वटा महामन्त्री र उपसभापतिमा एक जना महिलालाई राख्नुपर्छ भन्ने आवाज उठेको छ । त्यसो भयो भने अर्को पटक महिलाले सभापतिमा लड्न सक्ने क्षमता देखाउँछन् भन्ने आवाज पनि उठेको छ । 

सहमहामन्त्रीमा विधानले व्यवस्था गरेको हुनाले त्यसको कुरो भएन ।

सुजाता कोइरालाले सभापतिमा दाबी गरिरहनुभएको छ । उहाँको अडान कायम रहन्छ कि रहँदैन, हेर्न बाँकी छ । त्यस्तै, अर्को महाधिवेशनमा आफूलाई महिलाले सभापति, महामन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ कि हुन्न, त्यो भने हेर्न बाँकी छ । 

यस पटक महिलाहरूको उपस्थिति राम्रो छ । पार्टीभित्र महिलाहरूको सशक्तीकरण राम्रो देखिएको छ । 

तपाईंका समकालीन ऊर्जाशील आँट भएका महिला विद्यार्थी नेतृहरू पार्टीको कार्यकारी पदमा आफ्नो दाबी किन पेस गर्न सक्नुहुन्न र आफैँ पनि सदस्यका रूपमा उठ्दै हुनुहुन्छ ?

मेरो सन्दर्भमा भन्दा हामी केन्द्रीय राजनीतिमा प्रवेश नै गरेका छैनौँ । हामीले आफूलाई देशभर अझै चिनाउन बाँकी छ । मलाई केही साथीहरूले सहमहामन्त्री लड भन्दा लड्दिनँ भने । किनकि लडेर हार्ने होइन, जितेर अगाडि बढ्ने हो ।

हामीले अहिल्यै माथिमाथि मात्र खोजेर भएन नि त ! यस पटक होइन, अर्को पटक तपाईंले हामीलाई यो प्रश्न गर्न सक्नुहुन्छ । 

अहिले त हामी मूलगेटबाट छिर्नै सकेका छैनौँ । हामी त्यो हुलमा छिर्नै सकेका छैनौँ । हामीले धरहराको टुप्पो नै देखिरहेका छैनौँ । 

यस पटक हामी पहिलो पटक त्यहाँ सदस्यमा लडेर आफ्नो भूमिका देखाएर अर्को पटक हामी त्यो तयारी गर्छौं । 

युवाहरूको गुट जस्तो महिलाहरूको कुनै त्यस्तो गुट बनाएर आउने संभावना छ ? 

मैले अघि नै भनेँ, युवाहरूको पनि छुट्टै गुट बनेर आउँदैन । त्यसो भए कल्याणजीको गुटमा सबै जना आउँथे होलान् नि त ! कल्याणजीले युवाहरू राखेर आफ्नो प्यानल पनि बनाउनुहोला । भोलि देखिएला । तर, अहिलेसम्म उहाँले बनाउनुभएको छैन । 

युवाहरू जहाँबाट आउनुहुन्छ, हामीले समर्थन गर्ने कुरा हो । महिलाहरू पनि सयनै भएकै गुटमा अघि बढ्ने हो । छुट्टै टिम बन्ने अवस्था छैन । र, त्यो बन्नु पनि हुँदैन । त्यसो भए त महिलाहरूको छुट्टै पार्टी खोलेर हिँडे भइगयो नि ! नेपाली कांग्रेसमा किन बस्नुपर्‍यो ? 

तपाईंले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिरहँदा तपाईंलाई नै प्रतिनिधिले मत दिएर जिताउनुपर्ने कारण र आधार के नि ?

चुनाव लडेपछि मलाई मत देऊ भन्ने त सामान्य विषय नै भयो । मैले पहिले पनि यसमा तयारी गरेकी थिएँ, पार्टीमा महिलाहरूको अस्तित्व कायम गर्न । 

महिलाहरूलाई राजनीतिमा आउन गाह्रो छ हाम्रो परिवेशमा । पद्म कन्या क्याम्पसमा पहिला छात्रा नेतृहरूलाई व्यवस्थापन गर्न गाह्रो थियो । तर, ती सबै पलायन भएर अहिले कहाँ गए त ? व्यवहार, परिवार सबै मिलाएर राजनीतिमा आउन लामो समय दिन गाह्रो छ महिलालाई । 

राजनीति भनेको केवल २ दिन दिने त होइन नि ! जीवनको लामो समय दिनुपर्ने हुँदा नेपाली महिलाहरूका लागि राजनीतिमा आउन गाह्रो कुरा छ । 

बल्लबल्ल छुटफुट भएर आएका नेतृत्वहरू, सबै कुरो व्यवस्थापन गरेर आउने र तल जरादेखि नै लागेर आउने महिलाहरू संख्यात्मक रूपमा कम हुनुहुन्छ । 

अहिले पनि विभिन्न क्षेत्रबाट आउने महिलाहरू हुनुहुन्छ । लामो समय एनजीओमा काम गर्ने, जागिरबाट रिटायर्ड भएका, आफ्नो घर व्यवहार पूर्ण भएर अब म राजनीति गर्छु भनेर आउनेहरू पनि हुनुहुन्छ । उहाँहरू पार्टीमा हुनुहुन्छ, पार्टीभित्र हुनुहुन्छ, यो राम्रो कुरा हो । 

तर, मलाई के लाग्छ भने, निरन्तर रूपमा राजनीतिलाई चिनेर, विभिन्न आन्दोलनमा अघि बढेर, यो मुलुकको परिवर्तनका लागि पनि हामीले लडेका छौँ । २०४६ र २०६२/०६३ सालका आन्दोलन त हामीले पनि प्रत्यक्ष रूपमा नेतृत्व गरेर आएका हौँ । हामी जस्ता महिला अरू पनि हुनुहुन्छ । यो हाम्रो पृष्ठभूमिलाई पनि हेर्नुपर्‍यो । 

त्यसबीचमा हामीले व्यक्तिगत जीवनलाई जीवन नै होइन भनेर पार्टीभित्र समाहित भएको कुराचाहिँ सानो कुरा होइन । 

जीवन नै सम्पूर्ण रूपले दिएर पार्टीलाई दिएर अघि बढ्ने भन्ने कुरा सबैले सक्दैनन् । यसलाई मान्छेहरूले एउटा तपस्याकै रूपमा लिन्छन् । 

पार्टीको मूल फोहोर भयो । अब हामी युवा भन्नेहरू छिरेर पार्टीलाई सङ्लो बनाउनुपर्छ । राजनीतिमा भएको विकृतिले मान्छेहरूले पार्टीमा रुचि राख्दैनन् । 

पाटीभित्रका विभिन्न किसिमका विकृतिहरूलाई हामीले पन्छाएर अगाडि बढ्ने साहस गर्नुपर्छ । पार्टी र राजनीतिलाई अलिक सफा ढंगबाट लैजान सक्छौँ कि भन्ने एउटा आँट र उत्साह लिएर हामी अगाडि बढेका हौँ ।

राजनीतिलाई अलि सफा बनाएर, सङ्लो बनाएर अघि बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । 

अहिले पनि राष्ट्रको राजनीति त्यति मीठो छैन । यस्तो विकृत राजनीतिलाई सफा गर्न सक्छौँ कि भन्ने हाम्रो प्रयासका लागि पनि हामी अगाडि बढ्न चाहेका हौँ ।

निःस्वार्थ भावले राष्ट्रका लागि केही गर्न सकिन्छ भनेर नै राजनीतिमा आएका हौँ । म राजनीतिमा आउँदा सांसद हुन्छु, मन्त्री हुन्छु, तलब खान्छु, पैसा कमाउँछु भनेर आएको होइन । 

राजनीति जुन ढंगबाट अगाडि बढ्नुपर्ने हो, त्यस किसिमले अगाडि बढेको छैन । हामी युवाहरू सबै मिलेर मुलुकका लागि, पार्टीका लागि सही ढंगको राजनीति गर्नुपर्छ । राजनीतिले मुलुकलाई समृद्ध बनाउनुपर्छ, पार्टीमा देखिएका विकृति हटाउँदै अगाडि बढाउने खालको नेतृत्व पार्टीभित्र आओस् भन्ने हामी पनि चाहन्छौँ । हामी पनि त्यसकै लडाइँमा छौँ ।