चन्द्रप्रसाद न्यौपाने: सबैभन्दा ठुलो महाकाव्य ‘चन्द्रयुग’देखि ‘संसारमा कतै नभएको अद्भूत प्रतिभा’सम्म
भदौ २६, २०७८

उहाँ दुवै हातले एकै पटक लेख्नसमेत सक्नुहुन्छ । यसरी भन्दै जाँदा उहाँ के मात्र गर्न सक्नुहुन्न भन्नुपर्ने हुन्छ । उहाँ अर्थात् चन्द्रप्रसाद न्यौपाने । 

उहाँका अनुसार उहाँले नेपाली छन्द साहित्यमा सबैभन्दा ठूलो महाकाव्य लेख्नुभएको छ । यो उहाँको फोस्रो दाबी होइन ।

२१ हजार श्लोकको ‘चन्द्रयुग’ महाकाव्यले यसलाई पुष्टि गर्छ । ‘चन्द्रयुग’को ३२ हजार श्लोकको दोस्रो खण्ड पनि प्रकाशन भइसकेको छ । 

उहाँले अहिलेसम्म ७० हजार श्लोक लेखिसक्नुभएको छ । यो भनेको झण्डै ७० वटा किताब बराबर हो । उहाँका अनुसार ‘चन्द्रयुग’जतिको महाकाव्य हुन ३० वटा महाकाव्य जोड्नुपर्छ । 

उहाँका एक दर्जन महाकाव्य प्रकाशन भइसकेका छन् । एक दर्जन प्रकाशनको चरणमा छन् । हालसम्म सबै गरेर न्यौपानेका ४० वटा पुस्तक प्रकाशन भइसकेका छन् । अरू थुप्रै प्रकाशनको चरणमा छन् । 

उहाँले एक पेजमा अट्ने ४९ कोठाको नेपाली र अंग्रेजी दुवै सम्वत्को भित्रे पात्रो पनि बनाउनुभएको छ ।

आफैँले कम्पोज गरेर वाइण्डिङ गर्दै आफ्ना दर्जनौँ कृति प्रकाशन गरेको बताउनुहुन्छ उहाँ । 

उहाँले खेत जोत्नुभएको छ, शिक्षकको जागिर पकाउनुभएको छ, के मात्र गर्नुभएको छैन र उहाँले । त्यसैले उहाँलाई कमलमणि दीक्षितले ‘अद्भूत प्रतिभा’ भनेर एउटा समालोचनामा समेत भन्नुभएको छ । 

पारिवारिक अवस्था

उहाँको बुबा १८ वर्षको उमेरमा काम गर्नका लागि हिन्दुस्तान जानुभएको थियो । त्यही बेला भारतले दोस्रो विश्वयुद्धका लागि लड्न भनेर केही सिपाही माग्यो । त्यसका लागि उहाँका पिताजी बेलायत जानुभएको थियो । 

वि.सं. १९९८/९९ सालमा उहाँका बुबाले बेलायतबाट अंग्रेजीमा फस्र्ट क्लास पास गर्नुभएको हो । जलवीरे वा बाह्रबिसे खोलामा अंग्रेजी बोल्न जान्ने भनेको उहाँको बुबा मात्र हुनुहुन्थ्यो । देश, विदेश घुमेको पनि उहाँ नै हुुनुहुन्थ्यो । 

उहाँका बुबालाई ज्योतिषको ज्ञान पनि थियो । संस्कृत पनि पढ्नुभएको हो बुबाले । 

उहाँको बुबाका ११ भाइ दाजुभाइ । त्यस हिसाबले अंशमा थोरै जग्गा पर्‍यो उहाँलाई । सायद त्यस कारण पनि हो, उहाँ स्वयंले धेरै जग्गा जोड्नुभयो । 

जोड्न पनि यति धेरै जोड्नुभयो कि त्यो अहिले उहाँलाई नै सम्हाल्न धौधौ परेको छ । 

बुबा नेपाल फर्कंदा त्यस बेला २ हजार ७०० चाँदीका कम्पनी डबल लिएर आउनुभएको रहेछ । 

त्यसबेला काठमाडौंको महाराजगंजमा उहाँलाई २ रोपनी जग्गा दिन्छु भनेको पनि रहेछ त्यति पैसाले । तर, उहाँले भने गाउँमा गएर २०० रोपनी जग्गा किन्नुभएछ । 

लेकदेखि बेँसीसम्मका सबै जग्गा किन्नुभएछ । त्यसले भात खान भने दुःख भएन । 

तर, जागिर थिएन बुबाको । पेन्सन पनि थिएन । पैसा भनेकै त्यही २ हजार ७०० चाँदीका कम्पनी डबल थिए । 

त्यसबेला बेलायतको पैसाभन्दा नेपालको पैसा महँगो भएको उहाँ बताउनुहुन्छ । 

जन्म र बाल्यकाल 

चन्द्रप्रसादको जन्म २०२४ सालमा भएको हो । उहाँ सन्तानका रूपमा नवौँ तथा छोराका हिसाबमा भने सातौँ छोरो । अरू २ भाइ अनि ४ वटी दिदीबहिनी । कुल एक दर्जनभन्दा एक बढी । 

उहाँको पिताजी पनि ज्योतिषी । त्यसको असर होला, चन्द्रप्रसाद र उहाँको ठू्लो दाजु पनि ज्योतिषी । उहाँको ठूलो दाजुले राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा राजा वीरेन्द्रका कान्छो छोरा निराजनको पनि चिना बनाउनुभएको रहेछ । 

उहाँका दाजु राजदरबारमै बस्नुभयो रे ६ वर्ष ।

८-९ वर्षको उमेरमा उहाँको चकचक भनेर साध्य छैन भन्नुहुन्छ स्वयं । सुरिलो रूखमा माथि टुप्पोमा गएर खुट्टाले च्यापेर उँधो मुन्टो लगाएर झुण्डिने गर्नुहुन्थ्यो रे ! अरू देख्नेले डराएर ‘अब यो झरेर मर्ने भयो’ भन्थे रे ! 

जलवीरे खोला अलिक ठाडो खोला हो । हिमनदी पनि हो यो । उहाँ त्यस खोलामा माथि पुलबाट हामफाल्ने गर्नुहुन्थ्यो । धेरै बेरपछि बाहिर निस्कने गर्नुहुन्थ्यो । 

अझ त्यो भन्दा पनि पानीमुनि रुमाल लुकाई खेल्ने चलन थियो उहाँहरूको । पानीमुनि ढुंगाले थिचेर रुमाल राख्ने र त्यो पत्ता लगाउने । पत्ता लगाएबापत बाहिर आएर अरूलाई एक मुड्की हान्ने । 

घाँसपात, घरायसी काम उहाँ सबै गर्नुहुन्थ्यो । गोठाला जाने पनि छँदै थियो । नाम्लो, चकटी, गुन्द्री उहाँलाई बनाउन नआउने केही थिएन ।
१०-१२ वर्षसम्म उहाँले आफ्नो खेतबारीमा आफू एक्लैले हलो जोत्नुभयो । 

प्रारम्भिक शिक्षा

उहाँका बुबाले पहिलो दिन १८ वटा अक्षर पाटीमा लेख्नुभएको थियो । त्यो उहाँलाई एकै दिनमा कण्ठ भयो । अर्को दिन पनि १८ वटा । यसरी २ दिनमा बाह्रखरी सकियो ।  

उहाँ २०३२ सालमा ८ वर्षको उमेरमा विद्यालय भर्ना हुनुभएको हो । फुल्पिङकोट प्राविमा उहाँको प्रारम्भिक शिक्षा सुरु भएको हो । 

उहाँको खास नाम चामुण्डा शर्मा थियो । ज्ञानबहादुर थापा सरले ‘होइन, चन्द्रप्रसाद शर्मा राख्नुपर्छ’ भनेपछि चन्द्रप्रसाद हुनुभयो उहाँ । 

५ कक्षामा गएपछि भने टंकप्रसाद आचार्य सरले ‘शर्मा होइन, थर नै राख्नुपर्छ’ भनेपछि चन्द्रप्रसाद न्यौपाने हुन गयो उहाँको पूरा नाम । 

१० कक्षासम्म उहाँ पढाइमा कुनै पनि परीक्षामा दोस्रो हुनुभएन ।

घरबाट उहाँको विद्यालय जानलाई तेर्सो हिँड्दा एक घण्टा लाग्थ्यो । सानो ढुंगा र माटोले बनाएको चोटो पनि भएको विद्यालय थियो, ३ कक्षासम्मको । लगभग सय जना विद्यार्थी थिए ३ कक्षासम्ममा ।

बस्नलाई बेञ्च वा अन्य केही थिएन । घरबाट लिएर गएका चकटीमा हुन्थ्यो बसाइ । 

जुत्ता लगाएको अचम्मको मान्छे !

उहाँहरू कक्षा २ मा पढ्दा एक दिन २२-२४ वर्षको एक जना जुत्ता लगाएको मान्छे स्कुलमा पुगे । ती मान्छेलाई हेर्न विद्यार्थीको तँछाड मछाड । 

जुत्ता सेतो थियो । त्यसबेलासम्म कोही विद्यार्थीको पनि जुत्ता थिएन । त्यो बडो रमाइलो कहानी बन्यो । सरले चाहिँ कुरा गर्नुभयो ती मान्छेसँग । 

निकै पर तल पुगुन्जेलसम्म हेर्नुभयो उहाँहरूले जुत्ता लगाएको मान्छेलाई । 

उहाँले भने जीवनमा पहिलोपल्ट १८ वर्षको उमेरमा चप्पल लगाउनुभएको हो । 

३ घण्टासम्म फरर कथा

उहाँको माहिलो दाजुलाई महाभारत, रामायणका सबै कथा कण्ठस्थ आउँथ्यो । 

दाजुले सुनाएका सबै कथा उहाँ अक्षर नबिराई ३ घण्टासम्म फरर भन्न सक्नुहुन्थ्यो । 

स्कुलमा हाफ टाइमपछि ‘चन्द्रप्रसाद, ल कथा भन्न आइज’ भनेपछि उहाँ एक घण्टा फरर रामायण भन्नुहुन्थ्यो । विद्यार्थी, शिक्षक तथा अन्य अभिभावक पनि उहाँको रामायण सुन्न आउँथे । 

यसमा देन भने उहाँको माहिलो दाजुको रहेको बताउनुहुन्छ । उहाँका दाजुले खाना खाएर गोठमा सुत्न जाँदा २-३ घण्टा सबै ग्रन्थ कण्ठस्थ सुनाउनुहुन्थ्यो । यसरी सुनेर उहाँलाई हरेक ग्रन्थ कण्ठस्थ भएको रहेछ । 

एक पेजमा १० वर्षको पात्रो

उहाँले २०४३ सालमा पहिलो पटक १० वर्षको भित्ते पात्रो तयार गर्नुभएको थियो, त्यो पनि ए फोर साइजको कागजमा । ४९ वटा ७-७ इन्चका वर्गाकार कोठामा आाधुनिक तथा वैज्ञानिक किसिमले तयार गर्नुभएको सुनाउनुहुन्छ । 

उक्त पात्रोमा १० वर्षको नेपाली तथा अंग्रेजी दुवै सम्वत् थिए रे ! 

उहाँको २१ हजार श्लोकको ‘चन्द्रयुग’ बृहत्तर महाकाव्य छापिएको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो महाकाव्य रहेको उहाँको दाबी छ । ‘चन्द्रयुग’ महाकाव्यको ३२ हजार श्लोकको दोस्रो खण्ड पनि छापिइसकेको छ । 

पात्रो भने सूत्रबाट हेर्नुपथ्र्यो । ४९ वटा कोठामा १० वर्षको पात्रो कसरी बन्छ ? भनेर सबै मान्छे चकित पनि थिए । ‘वास्तवमा त्यो एक प्रकारको आविष्कार नै थियो’, उहाँ भन्नुहुन्छ । 

त्यो पात्रो निकालेपछि उहाँ सदरमुकाम चौतारा जानुभयो । उहाँले त्यो सीडीओ अफिसमा दिनुभयो । उहाँलाई सीडीओले बोलाएर यो कसरी भयो ? भनेर हरेक अड्डाको टेबलमा हुने सिसामा थिचेर राख्नू भनेका सम्झिनुहुन्छ उहाँ । 

‘यो तयार गर्ने भाइलाई यो कागजको जति मूल्य छ, त्यसको दोब्बर दिनू’ भनेर सीडीओले भनेका पनि उहाँ सुनाउनुहुन्छ । २८ वटा अफिसमा यसरी उहाँको पात्रो राख्न लगाएर सम्मान गरिएको रहेछ ।

उहाँ त्यस बेला भर्खर १९ वर्षको हुनुहुन्थ्यो । त्यसपछि उहाँ ‘ज्योेतिषी बाजे’ भनेर सदरमुकाममा कहलिनुभयो । 

त्यसपछि उहाँलाई जिल्लाभरिका पण्डित, ज्योतिषी, शिक्षक तथा बौद्धिक व्यक्तित्व सबैले चिने । किनकि त्यो पात्रो सबै स्कुल तथा घरघरमा पुग्यो । 

तर, ती पात्रो भने सबै भूकम्पले पुरिएको बताउनुहुन्छ उहाँ ।

सधैँ पहिलो

फुल्पिङकोटपछि उहाँ २०३६ सालमा आनन्द मावि जलवीरेमा जानुभयो पढ्नका लागि । लगभग १३ पञ्चायतको केन्द्रबिन्दु थियो उक्त विद्यालय । 

उहाँको घरबाट लगभग एक घण्टाको दूरीमा थियो स्कुल । महिनाको ५ रुपैयाँ तिर्नुपथ्र्यो पढ्नका लागि । तर, त्यस बेला पैसाको अन्य स्रोत नहुँदा धान बेचेर जुटाउनुपथ्र्यो खर्च । 

उहाँ ४ कक्षामा भर्ना हुनुभएको हो जलवीरेमा । धेरै ठाउँका मान्छे जम्मा हुने हुँदा विद्यार्थी लगभग एउटा कक्षामा नै १३० जनाभन्दा बढी थिए । सेक्सन भने रोल नं. जोर र  बिजोर हुनेको ए र बी गरेर छुट्याइएको थियो । उहाँको भने सेक्सन ए । 

एक जना डियाना मिस हुनुहुन्थो अमेरिकाबाट आएकी । अंग्रेजी पढाउने । उहाँले उहाँको बृहत्तर महाकाव्य ‘चन्द्रयुग’मा ती मिसका बारेमा कविता पनि लेख्नुभएको छ । 

‘त्यति राम्री त मैले मान्छे देखेको छैन’, उहाँ भन्नुहुन्छ । अझ पाइन्टसम्म नदेखेको त्यस बेला मिडी लगाएकी मिस देख्दा अचम्मै लाग्थ्यो रे ! 

पहिलो जाँच आयो । केके लेखियो, उहाँलाई थाहा छै्रन । तर, नतिजा आउँदा भने सबैभन्दा धेरै नम्बर उहाँको नै आयो । उहाँ स्कुलमा कहिले पनि दोस्रो हुनुभएन । 

पौडी च्याम्पियन

बरु खेल्न भने जुनसुकै खेलमा पनि पछि नपर्ने उहाँको स्वभाव रहेछ, पौडीदेखि अन्य खेलसम्म । 

केही उत्ताउला साथीहरूले ‘ल, पौडी खेल्न जाऔँ’ भनेपछि कुदिहाल्ने उहाँ । जस्तोसुकै भेलमा पनि हामफाल्ने । अहिले पनि त्यस्तै लाग्छ रे उहाँलाई । 

त्यस्तो नहोस्, तर अहिले पनि गाडी नारायणी नदीमा पल्टियो भने पनि पौडेर तर्छु भन्ने आँट छ रे उहाँको । 

उहाँ बाढीमा नै ५ मिनेट हराउनुहुन्थ्यो रे ! अनि, साथीहरूले ‘ल, चन्द्रे मर्‍यो । अब घरमा भन्नुपर्छ’ भनेपछि उहाँ फुत्त टाउको देखाउनुहुन्थ्यो रे ! 

उहाँ उत्तानो परेर पानीमा सुत्न सक्नुहुन्छ रे ! ‘त्यसको पनि कला छ, त्यो मैले ४ महिना अभ्यास गरेर जानेको हुँ’, उहाँ भन्नुहुन्छ । 

सरहरूको प्यारो

उहाँ सरहरूको अत्यन्त प्यारो । जस्तोसुकै प्रश्नको पनि उत्तर दिन सक्ने । 

अरू साथीहरू यसो चोरचारदेखि तास खेल्ने आदि गर्थे । तर, उहाँको भने त्यस्तो केही थिएन । नचाहिने बानी भने केही लागेन रे उहाँलाई । 

आफूले कम पढियो भने अरूले जित्ला भन्ने डरचाहिँ थियो रे ! त्यस कारण पनि पढाइभन्दा अन्यत्र ध्यान जान नै पाएन भन्नुहुन्छ उहाँ । एउटा विषयमा पनि अरूले जित्यो भने आफू पछि परिन्छ भन्ने रहेछ उहाँलाई । 

हिसाबको कीरो

उहाँलाई गणित भनेपछि सबै नै आउने । सबै विद्यार्थी उहाँसँग सिक्न आउँथे ।

स्कूलमा छउन्जेल पढ्यो, घर आएपछि घरायसी काम छँदै छ ।  

एक पटकको कुरा हो, एक जना नयाँ गणित शिक्षक आउनुभएको थियो । उहाँले १० कक्षाको बीजगणितको हिसाब मिलाउन सक्नुभएन । 

चन्द्रप्रसाद ९ कक्षा पढ्दै हुनुहुन्थ्यो त्यसबेला । तर, उहाँले गएर त्यो हिसाब मिलाइदिनुभयो । हिसाब भनेपछि पानी नै जस्तो थियो उहाँलाई । 

किताबमा कुन र कतिवटा अभ्यास छन् अनि त्यसमा केके हिसाब छन् भन्ने उहाँलाई कण्ठै थियो । उहाँलाई किताब नै नचाहिने हिसाब गर्नका लागि । 

अरू विषय ठीकै थियो । तर, हिसाबमा भने उहाँ ज्यादै नै तेज । कक्षामा दोस्रो हुने र उहाँको नम्बरको अन्तर नै सय/डेढ सयको हुन्थ्यो रे ! 

एक घण्टे परीक्षाले सेकेण्ड डिभिजन

उहाँले २०४२ सालमा एसएलसी दिनुभएको हो । त्यसबेला उहाँको ब्याचमा ३१ जना थिए । उहाँ पढाइमा त्यति तेज भए पनि एसएलसीमा भने दोस्रो श्रेणीमा मात्र उत्तीर्ण हुनुभयो । 

यसको कारण के रहेछ भने पहिलो दिनको अंग्रेजीको परीक्षा बिग्रियो भन्ने लागेछ उहाँलाई । त्यसपछि अब सबै दोहोर्‍याएर दिने त हो नि ! भनेर उहाँले भोलिपल्टदेखि एक घण्टा मात्र परीक्षा दिने गर्न थाल्नुभएछ । त्यो पनि एक घण्टा नभई बाहिर जान नदिने कारणले । 

दुवै हातले एकै पटक लेख्ने 

सबैभन्दा रोचक कुरो त उहाँ दुवै हातले एकै पटक लेख्न सक्नुहुन्छ । एसएलसीको जाँचमा अर्थशास्त्र विषयमा उहाँले दुवै हातले सँगै लेख्दै एक जना साथीको पनि जाँच दिनुभएको रहेछ । त्यो पनि झण्डै एक घण्टा मात्र । 

उहाँले जाँच दिएको ती साथीको पनि अर्थशास्त्रमा ५३ नम्बर आएछ । उहाँ लेख्नमा पनि असाध्यै छिटो । 

एक पटक कसले छिटो लेख्ने भनेर प्रतियोगिता गराउँदा एक मिनेटमा उहाँले नेपाली ११५ वटाभन्दा बढी अक्षर लेख्नुभएको छ । अंग्रेजीमा ह्रस्व, दीर्घ नहुने हुँदा उहाँ ३०० अक्षर लेख्न सक्ने बताउनुहुन्छ । 

पहिलो जागिर र बाबुको ऋण

२०४२ सालमा हो उहाँले एसएलसी दिएको । २०४३ सालमा नतिजा आयो । त्यसै साल १ भदौमा उहाँ मास्टर जागिर खान पुग्नुभयो, नजिकैको लक्ष्मीदेवी प्राथमिक विद्यालयमा । उहाँका पिताजीले जग्गा दिएर उक्त स्कुल बनेको थियो, उहाँकै जग्गामा । 

जागिरमा उहाँको तलब थियो मासिक ५७५ । भदौ, असोज र दशैँ पेस्की गरी उहाँले पहिलो पटक एक हजार ७२५ रुपैयाँ प्राप्त गर्नुभयो । जीवनको पहिलो कमाइ थियो त्यो । 

जलवीरेमा ध्रुवकाजी श्रेष्ठ भन्ने एक जना साहु हुनुहुन्थ्यो उहाँका बाजेको पालादेखिका । कपडालगायत अन्य सामग्री सबै उधारो ल्याउने प्रचलन थियो श्रेष्ठको पसलबाट । 

केही वर्षअघिदेखि उहाँको बुबाको उधारो थियो एक हजार १०० रुपैयाँ ध्रुवकाजीकहाँ । त्यो उधारो तिर्न नसक्दा बुबाको बेइज्जत नै भएको उहाँ सुनाउनुहुन्छ । जो जलवीरे गए पनि साहुले भनेर पठाउने हुँदा बुबा जलवीरे त जानै नसक्ने । 

अनि, उहाँले त्यो कमाइको एक हजार ७०० रुपैयाँबाट पहिलो पटक बाबुले गरेको ऋण एक हजार १०० रुपैयाँ तिर्नुभयो । ‘ऋण तिरिसकेपछि बुबा कति खुसी हुनुभयो, त्यसको कुरा गरी साध्य नै छैन’, चन्द्र भन्नुहुन्छ । 

उक्त ऋण तिरेपछि बाँकी रहेको ६२५ रुपैयाँमा पनि उहाँले १०० रुपैयाँका १०/१० रुपैयाँका नोट लगेर टोपीमा लगाइदिनुभयो । 

बाँकी ५२५ रुपैयाँमा डेढ/दुई सयरुपैयाँ  खेतालाको पैसा तिरिदिनुभयो र अरू बाँकीले भने दशैँ मनाउनुभयो ।

१९ वटा प्रश्नको सही जबाफ

उहाँले त्यस विद्यालयमा सात वर्ष पढाउनुभयो । त्यसपछि अर्को विद्यालयमा जानुभयो । उहाँले कुल २४ वर्ष पढाउनुभयो । 

यस क्रममा तीन वर्ष अस्थायी शिक्षकका रूपमा काम गर्नुभयो । २०४६ सालमा आएर मात्र उहाँ स्थायी हुनुभएको हो । 

२०४६ सालमा स्थायी शिक्षकका लागि दरखास्त आह्वान भएको थियो । परीक्षामा उहाँलाई १९ वटा प्रश्न सोधिएको थियो । ती सबै प्रश्नको उत्तर दिएर उहाँ स्थायी शिक्षक हुनुभएको हो । 

अन्तर्वाताकारले ‘हालसम्म सहभागी ४०० जनामा सोधेका सबै प्रश्नको उत्तर तपाईंले मात्र दिएको हुँदा तपाईंको जागिर पक्का छ । राम्रोसँग पठनपाठन गर्नुहोला र अनैतिक क्रियाकलापमा नलाग्नुहोला’ भने रे ! त्यस बेला राजनीतिलाई ‘अनैतिक क्रियाकलाप’ भनिने रहेछ । 

लोभलाग्दो सक्रियता

उहाँले जागिर खाएको विद्यालयबाट सदरमुकाम पुग्न पैदल दूरी १३ किलोमिटर थियो । शुक्रबारको छुट्टीपश्चात उहाँ चौतारा जानुहुन्थ्यो अनि रातभर नसुती लेटर प्रेसमा कम्पोज गर्नुहुन्थ्यो । 

उहाँले आफैँले कम्पोज गरेर २०४६ सालमा पहिलो पटक ‘पालुवा’ खण्डकाव्य प्रकाशन गर्नुभयो । यसको कारण थियो- पैसाको अभाव । 

१०-१२ जनाको घरपरिवार र अन्य खर्च जागिरले चलाउन मुस्किल थियो । पैसा नभएकै कारण सबै कम्पोज आफैँले गरेर किताब निकाल्नुभएको थियो । लगभग १०० वटा किताब त उहाँ छापेर बाइण्डिङ गरेर एक दिनमा निकाल्नुहुन्थ्यो । 

शनिबार बेलुका आनन्दले सुतेर उहाँ आइतबार बिहान स्कुल पुग्नुहुन्थ्यो । त्यस बेला बाटोमा खाजा, भात खाने चलन थिएन । उहाँ दिनभरि भोकै पढाउनुहुन्थ्यो । 

बेलुका आएर खाना खानुहुन्थ्यो एकै पटक । त्यसपछि फेरि बिहान हलो-जुवा लिएर केही गरा खेत जोत्न तथा घाँसपात गर्न पनि भ्याउनुहुन्थ्यो । 

फेरि बेलुका घर फर्किएर गाउँका सबै घरघरमा केही समस्या छ कि भनेर सोध्दै हिँड्नुहुन्थ्यो । उहाँको त्यो सक्रियता देख्दा सबै छक्क पर्थे ।

सबैभन्दा ठूलो महाकाव्य ‘चन्द्रयुग’

बेलुका घरका सबै सुतिसकेपछि उहाँ १० बजेदेखि १२ बजेसम्म लेख्नुहुन्थ्यो, त्यो पनि नअड्किईकन फररर । 

छन्दमा ७० हजार श्लोक आफूले लेखिसकेको बताउनुहुन्छ उहाँ । ७० हजार श्लोक लेखेपछि अहिले नेपाली साहित्यमा सबैभन्दा बढी श्लोक आफूले लेखेको दाबी गर्नुहुन्छ उहाँ । 

उहाँको यो दाबी ४५० वटा किताब अध्ययनपश्चात् आएको हो । उहाँको अहिले ‘नेपाली महाकाव्यको इतिहास’ प्रकाशनको चरणमा रहेको छ । 

उहाँको २१ हजार श्लोकको ‘चन्द्रयुग’ बृहत्तर महाकाव्य छापिएको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो महाकाव्य रहेको उहाँको दाबी छ । ‘चन्द्रयुग’ महाकाव्यको ३२ हजार श्लोकको दोस्रो खण्ड पनि छापिइसकेको छ । 

सामान्यतया एक हजार वा एक हजार २०० श्लोकका महाकाव्य निकाल्ने परम्परा देखिएको छ । त्यस्ता ३० वटा महाकाव्य जोड्नुपर्छ उहाँको जत्रो महाकाव्य हुनलाई । 

राजनीतिले जन्माएको महाकाव्य

उहाँ राजनीति गर्ने मान्छे होइन भन्नुहुन्छ आफूलाई । तर, कम्युनिस्टमा भोट हाल्यो भन्ने आरोपमा उहाँलाई घरभन्दा तीन घण्टा परको विद्यालयमा सरुवा गर्‍यो कांग्रेस सरकारले ।

१० बजे स्कुल पढाउनलाई बिहान सात बजे खाना खाएर हिँड्नुपथ्र्यो । उकालो पनि नाकै ठोसिने किसिमको थियो । बेलुका फेरि ओर्लिएर घाँसदाउरा । अब लेख्ने कति बेला त ? 

उहाँ स्कुल जाने बेलामा सानो रेकर्डर खल्तीमा हालेर हिँड्नुहुन्थ्यो । उहाँलाई छन्द खररै आउने । स्कुल जाने बेलामा बाटोमा देखिएका दृश्य भट्याउँदै हिँड्नुहुन्थ्यो । मान्छेहरू ‘यसले नयाँ भाका ल्यायो’समेत भन्थे उहाँलाई । 

‘छन्दशास्त्र’ भन्ने पुस्तकमा उहाँले ५ हजार ५०० वटा छन्दको उदाहरण पनि दिनुभएको छ । पिंगलबाट जुन छन्दको सम्पादन भयो, त्यस बेलादेखि अहिलेसम्म संसारभर प्रयोग भएका छन्दका बारेमा उहाँले खोज पनि गर्नुभएको छ । 

रेकर्डरबाट कापीमा उतार्नुहुन्थ्यो घरम आएर । यसरी उहाँले ‘मान्छेको यात्रा’ भन्ने महाकाव्य लेख्नुभएको रहेछ । उक्त महाकाव्य दुई हजार ५०० श्लोकको छ । 

उहाँका हालसम्म १२ वटा महाकाव्य प्रकाशन भइसकेका छन् । १२ वटा प्रकाशन हुने चरणमा छन् । १० वटा खण्डकाव्य अनि निबन्धसंग्रह पनि छन् उहाँका । यसरी उहाँका ४० वटा कृति प्रकाशन भइसकेका छन् । 

लेटर प्रेसदेखि कम्प्युटरसम्म

२२ वटा किताब त उहाँ आफैँले लेटर प्रेसमा कम्पोज गर्नुभएको हो । यो सबै उहाँले जागिरे जीवनमा गर्नुभएको कर्म हो । 

उहाँ अहिले भने कम्प्युटरमै लेख्नुहुन्छ । २०५३ सालमा उहाँले कम्प्युटर सिक्नुभएको हो । कम्प्युटर सिक्न सदरमुकाममा उहाँलगायत जिल्ला विकासका इन्जिनियर गरेर ८-१० जना भर्ना हुनुभएको थियो । 

उहाँले कम्प्युटरको टाइपिङ त एकै दिनमा सिक्नुभयो । यसका लागि उहाँलाई सहयोगी भयो, पहिले कम्पोज गरेको लेटर प्रेस । त्यसमा विभिन्न अक्षर लिएर भिन्नभिन्न ठाउँमा गएर बनाउनुपथ्र्यो । 

लेटर प्रेसमा त कम्पोज गर्दा अक्षर नै सकिन्थे । तर, कम्प्युटरमा त सबै अक्षर एकै ठाउँमा अनि जति हाने पनि नसकिने भएपछि के चाहियो !

उहाँले एकै दिनमा सबै सक्नुभयो टाइपिङको काम । एक हप्तामा उहाँले बेसिक कोर्स सबै पूरा गर्नुभयो कम्प्युटरको पनि । 

सामाजिक अभियन्ता

गाउँमा कोही बिरामी भए पनि उहाँ आफैँ पुग्नुहुन्थ्यो । निवेदनसमेत आफैँले लेखिदिने सबैको । अरूले भने त्यसरी काम गर्दा पाँच रुपैयाँ लिँदा रहेछन् । तर, उहाँले यसरी सबैको काम गरिदिँदा पनि कसैसँग एक पैसा पनि लिनुभएन ।

उहाँलाई राजनीतिमा खासै रुचि थिएन । कांग्रेस, कम्युनिस्टबारे पनि केही थाहा थिएन । थाहा नपाएरै पनि उहाँले २०४४ सालमा एक जना दलितलाई पानी ल्याउन लगाएर सार्वजनिक रूपमा खानुभएको रहेछ । 

थाहै नपाई जातीय विभेदविरुद्धको कदम उहाँले त्यस बेला नै उठाइसक्नुभएको रहेछ अहिले सम्झिँदा । 

विवाह

उहाँको विवाह २०४२ सालमा भएको हो । २०४२ सालमा उहाँको जीवनमा तीनवटा महत्त्वपूर्ण घटना घटेका रहेछन् । 

वैशाखमा उहाँको विवाह, माघमा एसएलसी अनि भदौमा जागिर । 

उहाँले विवाहमा पहिलो पटक चप्पल लगाउनुभएको रे ! त्यो पनि उल्टो भएछ । एक जनाले ‘उल्टो भयो’ भनेपछि बल्ल सुल्ट्याउनुभयो रे चप्पल । यसअघि कहिल्यै नलगाएकाले यस्तो भएको उहाँ बताउनुहुन्छ । 

उहाँका दुई छोरा अनि दुई छोरी । ‘चार जनाले गरेर १३ वटा विषयमा डिग्री गरेका छन्’, उहाँ भन्नुहुन्छ । 

दीक्षितले देखेका ‘अद्भूत प्रतिभा’

उहाँले २०५१ सालमा ‘विद्रोही’ नामक एउटा छन्दमा रहेको खण्डकाव्य प्रकाशन गर्नुभएको थियो । काभ्रेको नालामा त्यस बेला एउटा कार्यक्रममा कमलमणि दीक्षित, रमेश खकुरेलहरू जानुभएको थियो । 

मोहन दुवाललाई काभ्रेमा चन्द्रप्रसादले कविता लेख्छ भन्ने थाहा थियो । त्यस कारण उहाँलाई पनि बोलाइएको थियो नालामा । 

त्यस बेला उहाँले रमेश खकुरेललाई ‘विद्रोही’ खण्डकाव्य दिनुभयो । खकुरेलले ‘केटोले राम्रो लेख्दो रहेछ’ भनेर दीक्षितकहाँ चन्द्रप्रसादलाई चिनाउन लिएर जानुभयो । 

‘केटो अद्भूत रहेछ । गाउँमा बसेर भर्खरको केटोले गजब छन्द लेखेछ’ भनेर खकुरेलले दीक्षितलाई चन्द्रप्रसादको परिचय दिनुभयो । त्यसपछि दीक्षितले ‘मेरो घरमा आउनू’ भनेर ठेगाना लेखेर दिनुभयो । उहाँ दीक्षितलाई भेट्न जानुभयो । दीक्षितले ‘छन्दमा यस्तो लेख्न सक्ने केटो’ भनेर मदन पुरस्कार पुस्तकालयको ‘नेपाली’ भन्ने पत्रिकामा उहाँका बारेमा ‘संसारमा कतै नभएको अद्भूत प्रतिभा’ भनेर एउटा समालोचना नै लेख्नुभयो । 

‘कम्पोजिटर आफैँ, छाप्ने आफैँ, बाइण्डिङ गर्ने आफैँ, लेखक आफैँ, खेती गर्ने आफैँ, पढाउने आफैँ, घर व्यवहार धान्ने आफैँ, सबै चिज जान्ने संसारमा कहीँ नभएको अद्भूत प्रतिभा भनेर लेख्नुभएको छ’, न्यौपानेले भन्नुभयो । 

प्रत्याहार र जेल 

उहाँको एउटा महाकाव्य छ, ‘प्रत्याहार’, जसमा रावणलाई नायक बनाएर रामलाई खलनायक बनाइएको छ । महाकाव्य धार्मिक युद्धको विरुद्ध छ, जो सिंगो भारत वर्षकै विरुद्धमा थियो । 

यस महाकाव्यलाई लिएर विश्व हिन्दु महासंघले उहाँलाई जेल हाल्नुपर्छ, कारवाही गर्नुपर्छ भनेर पनि दबाब दिएको थियो । 

त्यस कारण कमलमणि दीक्षितले छद्म नामबाट उक्त महाकाव्यको समालोचना लेख्नुभएको छ ।

कम्प्युटरले गाउँ नै झलमल

गाउँमा बसेर पनि यस्तो लेख्दै गरेको केटो भनेर दीक्षितले उहाँलाई २०५९ सालमा एउटा कम्प्युटर पनि दिनुभयो । 

रातो बङ्गला स्कुलले प्रयोग गरेको त्यो कम्प्युटर उहाँले गाउँमा लिएर त जानुभयो तर गाउँमा बिजुली थिएन कम्प्युटर चलाउन । 

त्यसपछि उहाँले त्यो कुरो रुद्रनाथ बस्याल, तत्कालीन सीडीओ भन्नुभयो । सीडीओले विद्युत् प्राधिकरणलाई ‘उहाँ जस्तो राष्ट्रिय प्रतिभाको घरमा ३ दिनभित्रमा बत्ती बाल्नू’ भनेपछि उहाँको गाउँ नै झलमल भयो । 

त्यसबेला दीक्षितले उहाँलाई लेख्नुभएका आधा दर्जनजति हस्त लिखित चिठी नै थिए उहाँसँग । तर, २०७२ सालको भूकम्पमा ती सबै पुरिए । 

फुल्पिङकोट पञ्चायतको चन्द्रप्रसाद शर्मा

उहाँले २०३७ सालमा ‘सरस्वती वन्दना’ भन्ने कविता लेखेर रेडियो नेपालमा पठाउनुभएको थियो । कविता सवाई छन्दमा थियो । 

‘फुल्पिङकोट पञ्चायतका चन्द्रप्रसाद शर्माको कविता’ भनेर वासुदेव मुनालले तीन हप्तासम्म उक्त कविता वाचन गरेर सुनाउनुभयो । त्यस बेला ‘फलानोको छोराको नाम रेडियोबाट आयो’ भनेर उहाँको नाम पनि निकै चलेको थियो रे  गाउँमा ! 

बृहत्तर महाकाव्य

उहाँका अब ४० वटा कृति छापिन बाँकी छन् । उहाँका महाकाव्य नै भने २ दर्जनजति छन्, जसमा एक दर्जन छापिइसकेका छन् । 

‘चन्द्रयुग’ भने उहाँको बृहत्तर महाकाव्य हो । पूर्वमा महाभारतलाई बृहत्तर महाकाव्य भनिन्छ । पश्चिममा भने इलिएटको महाकाव्यलाई भनिन्छ । 

उहाँ भन्नुहुन्छ, ‘यो महाभारतजतिकै शत्तिशाली महाकाव्य हो ।’

उहाँका माहिलो दाजुले सुनाउनुभएको थियो महाभारत । महाभारतमा एक लाख २१७ श्लोक छन् । 

एक पटक महाभारतको सत्य हरिश्चन्द्रको करुण रसको श्लोक सुनिसकेपछि उहाँलाई पछिसम्म बाँच्ने किताब लेख्नुपर्ने रहेछ भन्ने प्रभाव पर्‍यो । त्यसैले उहाँको ‘चन्द्रयुग’ जन्मिएको हो । 

‘चन्द्रयुग’ महाभारत पछि दोस्रो ठूलो महाकाव्य हो भन्नुहुन्छ उहाँ । आफूले अन्यत्र त्यति ठूलो महाकाव्य नपाएको पनि उहाँले बताउनुभयो । 

उहाँले नेपालीमा लेखिएका ४५० वटा महाकाव्य अनि संस्कृतका १८ पुराण, १८ उपपुराण, १८ औपपुराण, ४ वेद, ब्रह्मसूत्रहरू, उपनिषद्हरू सबै पल्टाउनुभएको छ । 

उहाँले ४०० वटा संस्कृतका पुराना काव्यहरू पनि पल्टाउनुभयो । कुन काव्यमा कति श्लोक छन्, कति छन्द छन्, कसले कति छन्दको प्रयोग गर्‍यो, आजसम्म, छन्दको आविष्कार कहाँबाट कहिले भयो भन्ने खोज पनि गर्नुभएको छ उहाँले । 

‘छन्दशास्त्र’ भन्ने पुस्तकमा उहाँले ५ हजार ५०० वटा छन्दको उदाहरण पनि दिनुभएको छ । पिंगलबाट जुन छन्दको सम्पादन भयो, त्यस बेलादेखि अहिलेसम्म संसारभर प्रयोग भएका छन्दका बारेमा उहाँले खोज पनि गर्नुभएको छ । 

लगभग २०० वटा छन्द उहाँले संस्कृतका काव्यमा प्रयोग भएको भेट्टाउनुभएको छ । छन्दको आविष्कार पिंगलले गरेका हुन् । त्यसलाई विस्तार गरेर उहाँले चन्द्रयुगमा ५ हजार हजार ५०० छन्दको प्रयोग गर्नुभएको छ । 

तर, विडम्बना नै भन्नुपर्छ, छन्दमा यति महान् काम गर्नुभएका चन्द्रप्रसादले संस्कृति मन्त्रालयबाट दिइने क्षेत्रीय प्रतिभा पुरस्कारबाहेक आजसम्म उल्लेख गर्नलायक कुनै पुरस्कार भने पाउनुभएको छैन ।