गफ गर्न पनि नपाइने

गफ गर्न पनि नपाइने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २४, २०७६

गफै त हो के भो र जति गरे पनि भो पैसा लाग्दैन क्यारे भन्ने हाम्रो आम थेगो बनेको छ । तर अब फिलिपिन्समा भने गफ गर्न पनि नपाइने भएको छ ।

फिलिपिन्सको राजधानी मनिलाबाट २०० किमि परको सानो शहर बिनालाेननमा त्यहाँको प्रशासनले गफ गर्न प्रतिबन्ध लगाएको छ । यदि यो कानूनको कसैले उल्लंघन गरी  गफ गरिरहेको भेटेमा उसले ७२५ रुपैयाँ जरिवाना भुक्तानी गर्नुपर्नेछ । यसका अतिरिक्त तीन घण्टा सडकको फोहोर पनि टिप्नुपर्ने हुन्छ ।

गफका कारण मारपिट तथा हत्याका घटना बढेकाले यस्तो नियम लगाउनु परेको प्रशासनको भनाई रहेको छ । तर राती १० बजे पछि भने यो कानून लागु हुँदैन् । यो कानून मे १ देखि लागु गरिएको हो । 

बिनिलाननका मेयर रेमन गुईले कानून लगाउनु पर्ने अवस्थाका बारेमा प्रष्ट बनाउँदै भने, बिशेष गरी गर्मी महिनामा मानिसहरु रुखको छहारीमा बस्ने र त्यहाँ उनीहरुले सम्पत्ति विवाद, पैसा, प्रेम सम्बन्धका बारेमा गफगर्ने गरेका छन् जसले समय त्यसै खेर जाने तथा विवाद बढ्दै जाँदा हत्या तथा कुटपिटका घटना हुने गरेका छन् । यस्ता घटना नियन्त्रण गर्न तथा नागरिकको जीउ धनको सुरक्षा गर्न पनि यो कानून आवश्यक रहेको उनको तर्क छ । 

यो कानूनको गंभिरता नागरिकले बुझुन भनेर जरिवाना लगाइएको मेयर गुइको भनाई छ । यदि कानून उल्लंघन गरी कोही दोस्रो पटक पक्राउ परेका खण्डमा उसले १३५० रुपैयाँ जरिवाना तिर्नु पर्ने हुन्छ भने ८ घण्टा सडक सफाई गर्नुपर्ने हुन्छ ।

नयाँ कानून लागु भएपछि अपराधका घटनामा कमि आएको तथा ६ दिनमा धेरैलाई कारवाही भएको पनि मेयर रेमनले बताए । नयाँ कानून बिनिलाननमा मात्र सीमित नरही अन्य सात गाउँमा पनि लागु गरिएको छ ।

तर रात १० बजेपछि गफ गर्नमा भने प्रतिवन्ध लगाइएको छैन् । 

क्यालिफोर्निया विश्वविद्यालयको एक अनुसन्धानका अनुसार मानिस दिनमा ५२ मिनेट गफ गर्छ । अनुसन्धानमा भनिएको छ वयस्कको तुलनामा युवा धेरै गफ गर्छन, उनीहरु अरुको कुरा काट्ने तथा नकारात्मक गफमा धेरै समय खर्चन्छन् ।