मीनकुमार नवोदित : तेस्रो कविता सङ्ग्रह 'समयको बयान' सामूहिक रुपमा लोकार्पण

मीनकुमार नवोदित : तेस्रो कविता सङ्ग्रह  'समयको बयान'  सामूहिक रुपमा लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ २७, २०७८

काठमाडौँ । कवि मीनकुमार नवोदितको तेस्रो कविता सङ्ग्रह 'समयको बयान'को २०७८ भाद्र २६ गते आयोजित  एक समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसलगायत विभिन्न स्रष्टाहरूले सामूहिक रुपमा  लोकार्पण गर्नुभएको छ । 

साहित्यिक पत्रकार संघद्वारा आयोजित उक्त कार्यक्रममा  वरिष्ठ कवि दिवसले कृतिलाई जत्तिकै स्रष्टालाई पनि सम्मान गर्ने परम्परा विकसित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कवि नवोदितका कविताहरू सशक्त भएको बताउँदै उनका कवितामा समय र स्थानको प्रतिच्छाया पाइन्छ भन्नुभयो । 

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्रा. डा.  हेमनाथ पौडेलले कवि नवोदितका कवितामा आजको समयको प्रतिबिम्ब पाइने बताउनु भयो । 

समालोचक प्रमोद प्रधानले कवि नवोदितका कविता यात्राको चर्चा गर्दै  दुई दशकको काव्य यात्रामा नवोदितले नेपाली कविताका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको बताउनु भयो । अर्का समालोचक ज्ञानु अधिकारीले नवोदितका कवितामा समय, सम्बन्ध र स्मृति बिम्ब पाइने धारणा राख्नुभयो । 

कार्यक्रममा कविहरू विमल भौकाजी, महेश पौडेल, उमेश राई अकिन्चन, मन्जिला अनिल, शुभलक्ष्मी लम्साल, रामगोपाल आसुतोष र शकुन्तला जोशीले कवि नवोदितका लोकार्पित कृर्तिबाट एक एक कविता वाचन गर्नुभएको थियो । कवि नवोदितले आफ्ना काव्ययात्राका सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । 

कार्यक्रममा  आयोजक संस्थाका सदस्य डा। दामोदर पुडासैनी किशोरले स्वागत भाषण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कवि मनोज नेउपानेले गर्नु भएको थियो । समयको बयान कविता सङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो  । 

कार्यक्रममा सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, डा. गार्गी शर्मा, महेश प्रसाई, श्रीॐ श्रेष्ठ रोदन, भागीरथी श्रेष्ठ, पुष्कर लोहनी, युवराज नयाँघरे, राजेन्द्र गुरागाई, प्राज्ञ गङ्गा सुवेदी, विधान आचार्य, श्याम प्रधान, प्रधुम्न जोशी, जयदेव भट्टराई, राजेश खनाल, प्राज्ञ नन्दु उप्रेती, ऋषवदेव घिमिरे, कमला रिसाल, मीरा गोतामे, डा। शान्तिमाया गिरि, रन्जना निरौला, विजय कट्टेल छहरा, कृष्ण भण्डारी मार्सेली, नीता श्रेष्ठ , विन्दु अधिकारी ढकाल, सरिता तुलाधर, इन्द्रकुमार श्रेष्ठ सरित, सोझो गाउले, महेश कार्की क्षितिज, प्रकाश घायल, मीना श्रेष्ठ, राधिका गुरागाई, तारानाथ गौतम, टेक तामाङ, अनुज श्रेष्ठ पृथक आदिको उपस्थिति रहेको थियो ।