सेप्टेम्बर ११ को २० वर्ष: आतंकवादविरोधी अभियानमा रित्तो हात फर्कियो अमेरिका

लोकसंवाद टिप्पणी

सेप्टेम्बर ११ को २० वर्ष: आतंकवादविरोधी अभियानमा रित्तो हात फर्कियो अमेरिका

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २७, २०७८

आजभन्दा ठीक २० वर्षअघि अर्थात सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र रक्षामन्त्रालय मुख्यालय पेन्टागनमा आतंकवादी हमला भएको थियो । जसलाई सेप्टेम्बर ११ को घटनाका रुपमा चिनिन्छ ।

यी २० वर्षमा विश्व राजनीतिमा मात्रै नभएर अमेरिकी राजनीतिमा पनि थुप्रै फेरबदल आइसकेको छ । सेप्टेम्बर ११ को हमलाको बदला लिन अफगानिस्तान आएको अमेरिका २० वर्षपछि फर्किएको छ । अमेरिका फर्किनुअघि नै अफगानिस्तानमा भने तालिबान शासन पनि फर्किइसकेको छ । पछिल्ला वर्षमा आतंकवादी हमलाको दर भने बढ्दो क्रममा छ ।

जर्मनी, फ्रान्स, बेल्जियमजस्ता देशमा केही वर्षअघि आतंकवादी हमलाको शृङ्खला नै चल्यो । तर, अमेरिकामा त्यसबेला भएको आतंकवादी आक्रमण निकै भिषण, योजनाबद्ध र शृंखलाबद्ध थियो । सो आक्रमणमा कुल २ हजार ९ सय ९६ जना मारिए भने चार सयभन्दा बढी प्रहरी र अग्नि नियन्त्रकले पनि ज्यान गुमाए । अमेरिकाले लामो समयदेखि आतंकवाद विरोधी अभियानको नेतृत्व गरिरहेको छ र उ आफैं आतंकवादसँग सुरक्षित छैन । 

अमेरिकामा काउन्टर टेरर अपरेशनमा सामेल अधिकारीमाथि अहिले झन बढी दबाब सिर्जना भएको छ । आईएसआईएस र अलकायदा जस्ता अन्तर्राष्ट्रिय आतंकवादी संगठन र यी संगठनप्रति सहानुभूति राख्ने केही संगठन अहिले पनि अमेरिका र उसका सहयोगी देशहरुलाई आफ्नो प्रमुख सत्रु ठान्छन् । 

के हो सेप्टेम्बर ११ को आक्रमण ?

११ सेप्टेम्बर, २००१ मा अमेरिकामा अलकायदा आतंकवादी संगठनले चार वटा जेट विमानलाई नियन्त्रणमा लिएर गरेको आक्रमणको शृंखला नै सेप्टेम्बर ११ को हमला हो । अपहरणकारीले चार वटा विमानमध्ये दुई वटा विमान न्युयोर्कस्थित वर्ल्ट ट्रेड सेन्टरको ट्विन टावरमा ठोक्काए । जसमा विमानमा रहेका सबै यात्रु र भवनभित्र काम गरिरहेका थुप्रै सर्वसाधारण मारिए ।

संसारमा धेरै देशमा आतंकवादको उदयमा पश्चिमा शक्तिको हात रहँदै आएको छ । इराक र सिरियासहित मध्य पूर्वमा आईएसको आतंक मच्चिनुमा पश्चिमा शक्ति नै बढी जिम्मेवार छन् । ग्वान्टानामो बन्दीगृहदेखि विभिन्न मुस्लिम राष्ट्रमा अमेरिकाले सञ्चालन गरेको आतंकवाद विरोधी अभियानले नै प्रतिआतंकवादलाई जन्माइरहेको छ । आतंकवादको कुनै राजनीतिक धर्म हुँदैन ।

दुवै भवनमा दुई घन्टाभन्दा बढी समय धुवाँ र आगोको मुस्लोको चपेटामा परे भने नजिकै रहेका केही भवनहरुमा समेत क्षति पुग्यो । अपहरणकर्ताले तेस्रो विमान पेन्टागनमा ठोक्काए । अपहरणकारीले वासिंगटन डिसीमा ठोक्काउन लागेको चौथो विमानका केही यात्रु र चालक दलका सदस्यले अपहरणकर्ताबाट विमान नियन्त्रणमा राख्ने कोशिस गर्दा पेन्सिलभेनियाको शेक्सभिले नजिकै खेतमा दुर्घटना हुँदा त्यसमा सवार सबै जनाको मृत्यु भयो ।

यी सबै घटनामा परी २ हजार ९ सय ९६ जनाको मृत्यु भयो भने ठूलो संख्यामा मानिसहरु घाइते भए । घटनाका क्रममा आपतकालीन उद्धार कार्यमा ठूलो संख्यामा खटिएका प्रहरी र अग्नी नियन्त्रकको समेत मृत्यु भयो । पेन्टागन आक्रमणमा मात्रै २ हजार ७५२ जनाको मृत्यु भयो भने पेन्टागनमा १८४ जना मारिए । घटनामा परी विश्वका करिब ७७ देशका मानिस मारिएका थिए । त्यसलगत्तै अमेरिकाले आतंकवादविरुद्ध युद्ध सुरु गर्ने फैसला गर्‍यो । त्यसको पहिलो प्रतिक्रियास्वरुप आतंकवादलाई प्रश्रय दिएको आरोपमा तालिबानलाई सत्ताच्युत गर्न अफगानिस्तानमा आक्रमण गर्‍यो । अमेरिका र उसका सहयोगी देशसहित विश्वका थुप्रै देशले आतंकवादविरोधी कानुनलाई मजबुत बनाए । 

आर्थिक क्षेत्रमा नोक्सानी

अमेरिकामा आक्रमणपछि त्यहाँको शेयर कारोबार निकै दिनसम्म ठप्प भयो । सात दिनपछि पुन खुलेपनि एयरलाइन्स र बीमा उद्योगमा भारी मात्रामा नोक्सान भयो । आक्रमणमा अमेरिकामा मात्रै नभएर विश्व बजारमा नै ठूलो नोक्सानी र आर्थिक प्रभाव पर्‍यो । न्युयोर्क स्टक एक्सचेन्ज, अमेरिकी शेयर बजारमा ठूलो प्रभाव देखियो ।

सातादिनसम्म बन्द भएर खुल्दा सेयर बजार सुचकांक ६८४ अंक अर्थात ७.१ प्रतिशतले खस्किएको थियो । यो अमेरिकी बजारमा एकै दिनमा आएको गिरावटको रेकर्ड थियो । साताको अन्त्यसम्ममा १४.३ प्रतिशतले गिरावट आएको थियो । सन् २००८ मा आएको वैश्विक वित्तीय संकटका क्रममा यो भन्दा पनि ठूलो क्षति भएको थियो । सेप्टेम्बर ११ को आक्रमणको तीन महिनाभित्र सहरमा लगभग चार लाख ३० हजार रोगजारी गुमेको थियो । सन् २००१ का अन्तिम तीन महिना र सन् २००२ को पुरै वर्षभरी नै अमेरिकी अर्थतन्त्रमा गिरावट आइनै रह्यो । 

ओसामा बिन लादेनको अन्त्य

साउदी अरबका नागरिक ओसामा बिन लादेन १० मार्च १९५७ मा साउदी अरबको एक धनी परिवारमा जन्मिएका हुन् । मोहम्मद बिन लादेनका ५२ सन्तानमध्ये लादेन १७ औं छोरा थिए । मोहम्मद साउदी अरबका अरबपति ठेकेदार हुन् । उनको कम्पनीले देशको लगभग ८० प्रतिशत सडक निर्माण गरेको थियो । जब लादेनका बाबुको १९६८ मा हेलिकोप्टर दुर्घटनाबाट मृत्यु भएपछि पिताको सम्पत्तिका हकदार उनी युवा अवस्थामै बिनामिहिनेत करोडपति बन्न पुगे ।

साउदी अरबका साह अब्दुल्लाह अजिज विश्वविद्यालयमा उनी इन्जिनियरिङ पढ्दै गर्दा कट्टरपन्थी शिक्षक र विद्यार्थीसँग नजिकिए । सन् १९७९ मा सोभियत संघले अफगानिस्तानमाथि हमला गरेपछि ओसामाले सुख सुविधाको जीवन त्यागे र मुजाहिद्दिनमा सामेल भए । पछि उनले अलकायदाको मूल संगठन स्थापना गरे । मध्यपूर्वमा अमेरिकी सेनाको उपस्थितिलाई लिएर असन्तुष्ट लादेनले १९९८मा अमेरिकाविरुद्धमा युद्धको घोषणा गरेका थिए ।

सन् १९९४ मा अमेरिकी दबाबकै कारण साउदी अरबले उनको नागरिकता खारेज गरेको थियो । त्यसपछि उनी सुडान हुँदै १९९६ पुनः अफगानिस्तान पुगे । सन् १९९८ मा केन्या र तान्जानियाको अमेरिकी दूतावासमा बम हमला, १९९३ मा वल्र्ड ट्रेड सेन्टरमा बम विस्फोट, १९९५ मा रियादमा कार बम विस्फोट र साउदी अरबमा ट्रक बम हमलामा उनी दोषी ठहर भएका थिए ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकी वल्र्ड ट्रेड सेन्टर ध्वस्त पारेपछि बिन लादेन विश्वका सबै मानिसले चिन्ने पात्र बने । मे २, २०११ मा ओसामा बिन लादेन पाकिस्तानको एबोटाबादमा अमेरिकी सेनाको कारबाहीमा मारिए । सेप्टेम्बर ११ को आक्रमणपछि ओसामामाथि तीन असफल आक्रमण भएको थियो । सन् १९९४ फेब्रुअरीमा केही लिबियनहरूले सुडानमा ओसामाको घरमै आक्रमण गरेका थिए ।

१९९८ अगस्ट २० मा ‘अप्रेसन इन फिनिट रिच’ का रूपमा युएस नेभीले अफगानिस्तानको खोस्टस्थित अलकायदाको तालीम केन्द्रमा ६६ वटा क्रुज मिसाइल हान्दा ३० जनाको मृत्यु भए पनि ओसामा बचेका थिए । सन् २०००मा अफगानिस्तानकै पहाडमा गाडीहरूको एक लस्करमा ग्रिनेडहरू हान्दा शंकास्पद एक गाडी ध्वस्त भयो, ओसामा चलाखीपूर्वक अर्कै गाडीमा चढेकाले बचे ।

ट्विन टावर ध्वस्त पारिएको अढाई महिनाभित्रै लादेनको मूल क्याम्प तोराबोरा पहाडमा भयानक आक्रमणसहित कब्जा गर्दा अमेरिकी फौज पुग्नु दुई घन्टाअघि नै उनी भाग्न सफल भएका थिए । सन् २०११ मा करिब ३८ मिनेटसम्म लगाएर अमेरिकी सेनाले गरेको कारबाहीका क्रममा लादेन मारिए । उनको डीएनए परीक्षणपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले लादेनको मृत्युको घोषणा गरे । त्यो पल विश्वभर अलकायदा आक्रमण पीडितले खुसियाली मनाएका थिए । 

१५ वर्षपछि साउदीविरुद्ध विधेयक पास

अमेरिकामा अलकायदा आक्रमणको १५ वर्षपछि साउदी अरबविरुद्ध मुद्धा लगाउन सक्ने विधेयक अमेरिकी संसदका दुवै सदनबाट पारित गरेको थियो । सेप्टेम्बर ११ को आक्रमणमा चारवटा विमान अपहरण गरी पेन्टागन र ट्विन टावरमा ठोक्काउन १९ जना सहभागी भएका थिए । ती मध्ये १५ जना साउदी अरबका नागरिक थिए । 

अमेरिकामा आतंकवादको जन्म र मृत्यु दुवै हुन्छ । किनकि अमेरिकाले आफ्नो स्वार्थका लागि विश्वका सबै प्रकारका व्यक्तिलाई प्रयोग गर्दै आएको छ । इराकी राष्ट्रपति सद्दाम हुसेनदेखि ओसामा बिन लादेन र आइएसका प्रमुख अबु बकर अल बगदादीसमेत अमेरिकाको लामो सहयोग पाएका व्यक्ति हुन् ।

संसारमा धेरै देशमा आतंकवादको उदयमा पश्चिमा शक्तिको हात रहँदै आएको छ । इराक र सिरियासहित मध्य पूर्वमा आईएसको आतंक मच्चिनुमा पश्चिमा शक्ति नै बढी जिम्मेवार छन् । ग्वान्टानामो बन्दीगृहदेखि विभिन्न मुस्लिम राष्ट्रमा अमेरिकाले सञ्चालन गरेको आतंकवाद विरोधी अभियानले नै प्रतिआतंकवादलाई जन्माइरहेको छ । आतंकवादको कुनै राजनीतिक धर्म हुँदैन ।

आतंकवाद आतंकवाद नै हो । तर आतंकवाद र राजनीतिक आन्दोलनलाई समेत छुट्याउन नसक्ने अमेरिकी आतंकवादले विश्वमा ठूलो समस्या सिर्जना गरेको छ । जसरी अफगानिस्तानमा आतंकवादविरोधी अभियानका नाममा २० वर्ष युद्ध भयो र अन्ततः रित्तो हात फर्किने अवस्था बन्यो, यो निकै गम्भीर विषय हो । आतंकवाद नियन्त्रणको नाममा अमेरिका र पश्चिमा राष्ट्रले संचालन गरेको युद्ध रोक्न सक्ने हो भने बहुरुपी आतंकवाद विस्तारै निस्तेज हुने अपेक्षा राख्न थलिएकाे छ ।