संसदलाई अगाडि बढाउने रणनीति बनाउन सत्ता गठबन्धनको बैठक

संसदलाई अगाडि बढाउने रणनीति बनाउन सत्ता गठबन्धनको बैठक

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २७, २०७८

संसद बैठकबारे रणनीति बनाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठक बिहान १० बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको संसदलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेको बुझिएको छ । यस्तै, नेताहरूबीच राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने विषयमा पनि छलफल भइरहेको एक नेताले बताए ।

संसद अधिवेशन चलिसकेकाले यसलाई प्रक्रियाबाट टुंगो लगाउनुपर्छ वा संसद अन्त्य गरेर निष्क्रिय बनाउनुपर्छ । विशेषगरी जनता समाजवादी पार्टीले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय पार्न प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरूलाई आग्रह गर्दै आएको छ ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको २ महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । देउवा नेतृत्वको मन्त्रिपरिषद्‌मा हाल ४ जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।

गत शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले आआफ्नो पार्टीमा छलफल गरेर छिटो मन्त्रीहरूको नामावली दिन शीर्ष नेताहरूलाई आग्रह गरेका थिए । मन्त्रिपरिषद् विस्तारका बारेमा भने अर्को बैठकमा टुंगो लगाउने नेताहरूले बताएका छन् ।