प्रधानमन्त्रीको स्पष्टीकरण– ‘मेरो सरकार’ जानीजानी राखिएको सुविचारित शब्द हो

प्रधानमन्त्रीको स्पष्टीकरण– ‘मेरो सरकार’ जानीजानी राखिएको सुविचारित शब्द हो
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २४, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ शब्द जानीजानी राखिएको स्पष्टीकरण दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसद्ले दिएको प्रश्नको जवाफ दिँदै उनले भने, भूलचूकले आएको पो हो कि भन्ने कुरा आएको छ । यो भूलचूक होइन, जानीजानी राखिएको सुविचारित शब्द हो ।’

उनले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादर देउवाले राष्ट्रपति भण्डारीको सम्बोधनलाई बेलायती महारानीको शैली भनेकोमा आपत्ति जनाए । प्रधानमन्त्ती ओलीले सभापति देउवालाई भाषण गर्दा कुटनीतिक मर्यादा नभुल्न सुझाए ।

‘राष्ट्रपतिज्यूको सम्बोधन बेलायती महारानीको जस्तो भन्नु उपयुक्त भएन । किनकी बेलायत हाम्रो मित्रराष्ट्र हो । बेलायतकी महारानीको सम्बोधनलाई नेगेटिभ टिप्पणी गर्नु वान्छनिय हुँदैन,’ उनले भने, “उहाँहरुको आफ्नै परम्परा, आफ्नै तरिका छ । बेलायती महारानीको सम्बोधन नराम्रो हुन्छ र त्यस्तै शैलीको नेपालमा भयो भन्ने कुरा कूटनीतिक हुँदैन जस्तो लाग्छ ।’

प्रधानमन्त्ती ओलीले नेपाली कांग्रेसलाई पनि अहिलेको सरकारलाई ‘मेरो सरकार’ भन्न सुझाए ।