बंगलादेशसँगकाे दोस्रो मैत्रीपूर्ण खेलमा डेब्यु गर्न सक्ने यी हुन् ३ खेलाडी

बंगलादेशसँगकाे दोस्रो मैत्रीपूर्ण खेलमा डेब्यु गर्न सक्ने यी हुन् ३ खेलाडी

न्युज कारखाना  |  खेलकुद  |  भदौ २७, २०७८

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश आज (आइतबार) साँझ ५ बजे भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल लगातार दोस्रो जीत निकाल्ने दाउमा हुनेछ भने बंगलादेश नेपाललाई रोक्न चाहन्छ । पहिलो खेलमा विगतभन्दा सुधारिएको खेल देखाएको बंगलादेश घरेलु टोलीलाई पहिलो पटक हराउने दाउमा हुनेछ । 

हालसम्म नेपाल र बंगलादेशबीच जति खेल भए, सबै खेल नेपालले जितेको छ । नेपाल आफ्नो विजयी यात्रालाई अझै फराकिलो बनाउन चाहन्छ । 

यसअघि गत बिहीबार (२४ भदौ)मा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । नेपालको लागि दुवै गोल डेब्यु गरिरहेका सविता राना मगर र प्रीति राईले गरेका थिए । 

सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाएकी थिइन् भने प्रीतिले खेलको २३ मिनेटमा अग्रता दोब्बर बनाएकी थिइन् । बंगलोदशकी मोसाम्मत आखी खातुनले सान्त्वना गोल गरेकी हुन् । 

नेपाली प्रशिक्षक ग्यारी फिलिप्सले बंगलोदशविरुद्ध ४ जनालाई डेब्यु गराएका थिए । सविता र प्रीतिलाई सुरुवाती- ११ मा डेब्यु दिएका उनले सिर्जनासिंह ठकुरी र रश्मि घिसिङलाई दोस्रो हाफमा डेब्यु गराएका थिए । 

सिर्जनासिंह ठकुरी हिरा कुमारी भुजेलको स्थानमा मैदान प्रवेश गरेकी थिइन् भने रश्मि घिसिङ मञ्जलीकुमारी योञ्जनको स्थानमा मैदान प्रवेश गरेकी हुन् ।  

यसअघि एएफसी महिला एसिया कप, २०२२ छनोटका लागि मुख्य प्रशिक्षक ग्यारीले ४५ सदस्यीय टोली घोषणा गरेका थिए । दोस्रो चरणसम्ममा ग्यारीले २३ सदस्यीय टोली घोषणा गरेका हुन्, जसमा ग्यारीले ७ जनानयाँ अनुहारलाई राष्ट्रिय टोलीमा पहिलो पटक स्थान दिएका थिए । 

बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा ४ जना खेलाडीलाई डेब्यु दिएका ग्यारीले दोस्रो मैत्रीपूर्ण खेलमा थप ३ जनालाई डेब्यु दिन सक्ने आँकलन गरिएको छ । पहिलो खेलमा डेब्यु बाँकी रहेका डिफेण्डर निशा थोकर र विमला बिक तथा स्ट्राइकर रजनी थोकरले दोस्रो मैत्रीपूर्णमा मौका पाउन सक्ने बताइएको छ । 

यद्यपि, प्रशिक्षक ग्यारीले तीनै खेलाडीलाई दोस्रो हाफमा मौका दिन संभावना छ । पहिलो मैत्रीपूर्णमा सुरुवाती- ११ का सम्पूर्ण खेलाडीले औसत प्रदर्शन गरेका छन् । पहिलो खेल नै प्रतिस्पर्धात्मक रहेकाले सुरुवाती- ११ मा कुनै पनि खेलाडीले डेब्यु नपाउन सक्छन् । 

डेब्यु गर्न सक्ने ३ जना खेलाडी :

निशा थोकर 

अग्ली कदकी निशाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । महिला फुटबल र एकेडेमीका लागि उर्वर भूमि मानिने रौतहटकी खेलाडी हुन् थोकर । उनले गत लिग विभागीय एपीएफ क्लबबाट खेलेकी थिइन् । लिगको उपाधिसमेत एपीएफले जितेको थियो । यसअघि डिफेण्डर निशा १३औँ साग र हिरो गोल्डकप भारतमा खेल्न जाने टोलीको प्रारम्भिक प्रशिक्षणमा रहेकी थिइन् । निशाले नेपालको यू-१५, १६ र १९ टोलीबाट खेलिसकेकी छन् । 

रजनी थोकर 

स्ट्राइकर रजनी थोकरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । उनले पहिलो प्रयासमै टोलीमा स्थान बनाउन सफल भइन् । स्ट्राइकर रजनीले राष्ट्रिय महिला लिगमा रौतहटको चन्द्रपुर नगरपालिकाबाट खेलेकी थिइन् । उनले नेपालको उमेर समूहको प्रतिनिधित्व गरिसकेकी छन् । पछिल्लो समय अभ्यासमा उनले आफूलाई निखार्ने मौकासमेत पाएकी छन् ।

विमला बिक

राष्ट्रिय महिला लिगमा प्रभावशाली प्रदर्शन गरेकी विमलासमेतले पहिलो पटक राष्ट्रिय टिमको ढोका खोलेकी हुन् । डिफेण्डर विमलाले आर्मी क्लबबाट प्रतिनिधित्व गर्दै २ गोल गरेकी थिइन् । उमेर समूहमा समेत अब्बल प्रदर्शन गरेकी विमलाले राष्ट्रिय टोलीमा समेत डेब्यु गर्ने प्रबल संभावना छ । विमलाले उमेर समूहमा यू-१५, १६ र १९ बाट खेलिसकेकी छन् । यसअघि राइट ब्याकमा प्रभावशाली प्रदर्शन गरेकी विमलाले राष्ट्रिय टोलीको प्रशिक्षणमा भने आफ्नो प्रभाव बनाउन सकेकी छैनन् ।