एउटै चिर्पटले ६ जनाको लगालग हत्या गरेँ : अभियुक्त कार्की

एउटै चिर्पटले ६ जनाको लगालग हत्या गरेँ : अभियुक्त कार्की

न्युज कारखाना  |  अपराध  |  भदौ २७, २०७८

मादी नगरपालिका- १ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको बताएका छन् ।

आइतबार प्रदेश १ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका हुन् । प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणबहादुर बीसीले कार्कीले योजनाबद्ध नभई आवेगमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए ।

कार्कीले सुरुमा बडाबा तेजबहादुर कार्कीको हत्या गरेका थिए । तेजबहादुरको हत्या गरेको अरूले देखेपछि उनकी श्रीमती ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीलाई एउटै चिर्पटले हानेर हत्या गरेको उनले स्वीकार गरेका छन् ।

हजुरआमा र आमाको हत्या गरेको दीपेन र गोमा कार्कीले देखेपछि उनीहरूलाई खरबारीमा लखेटी लखेटी हत्या गरेको उनको भनाइ छ । ५ जनाको हत्यापछि घर पुगेर भैँसीलाई कुँडो पकाइरहेकी हजुरआमा पार्वती कार्कीको भित्ता ठोक्काउँदै चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले बयान दिएको डीआईजी बीसीले जानकारी दिए ।

सबैको हत्या गरेपछि घटनास्थलबाट १०० मिटर टाढा रहेको आफ्नो घरमा पुगेका थिए । हत्यापछि लोकबहादुरले अभियुक्तलाई चाँडो पक्राउ गर्न भन्दै प्रहरीसँग भन्दै आएका थिए । उनले अनुसन्धानमा सहयोग मात्र गरेनन्, प्रहरीलाई खानासमेत बनाएर खुवाउँदै आएका थिए ।