महामारीमा चिन्ता शिक्षाको: पठनपाठनका उपयुक्त नमुना विकास गर्न विलम्ब किन ?

संकट २ किसिमले आउने गर्छ- प्राकृतिक र मानव सिर्जित । विश्वले विभिन्न समयमा भुइँचालो, हावाहुरी, बाढी-पहिरो, सुनामी, टाइफुन, चक्रवात, महामारी जस्ता प्राकृतिक संकट भोग्न बाध्य छ । कहिलेकाहीँ  मानव सिर्जित संकट पनि भोग्नुपरेको छ । कतिपय प्राकृतिक संकट मानिसले गरेका कामका कारण पनि आउने गरेको छ । प्रकृति र मानिसको कार्य-कारण सम्बन्धले महामारी पनि ल्याउने गरेको छ ।

विगतमा विभिन्न समयमा महामारी आएका थिए । यस्ता महामारीले लाखौँको संख्यामा मानिसको मृत्यु भएको थियो । विगतमा यस्ता महामारी नियन्त्रणमा वर्तमान समयमा जस्तै चिकित्सा विज्ञानले विभिन्न उपकरण, औषधि, खोप आविष्कार गरेको थिएन । वर्तमानमा जस्तो चिकित्सक र स्वास्थ्यकर्मीको उपलब्धता पनि थिएन । 

सन् १६५-१८० मा एन्टोनाइन प्लेग महामारीले विश्वमा ५० लाख मानिसको मृत्यु भएको थियो । सन् ५४१-५४९ मा प्लेग अफ जास्टिनियन महामारीले करिब ५ करोड मानिस मरेका थिए । सन् ७३५-७३७ मा जापानी फिबर (स्मल बक्स)ले १० लाख मानिसको मृत्यु भएको थियो । 

त्यस्तै, सन् १३१४-१३५१ मा ब्ल्याक डेथ (बुबोनिक प्लेग) नामको महामारीले २० करोड मानिसको मृत्यु भएको थियो । सन् १५२० मा बिफर (स्मल बक्स)ले ५ करोड ६० लाख मानिसको मृत्यु भएको थियो । 

यसरी नै सत्रौँ शताब्दीमा प्लेगले ३० लाख मानिसको ज्यान लिएको थियो । अठारौँ शताब्दीको प्लेगले ६ लाख मानिस मरेका थिए । सन् १८१७ -१८३७ मा हैजाले १० लाख मानिस मरेका थिए । 

सन् १८५५ मा तेस्रो प्लेग आयो, यसले एक करोड २० लाख मानिसको ज्यान लियो । सन् १८८९-१८९० मा रसियन फ्लु आयो, यसले पनि १० लाख मानिसको ज्यान लियो । अठारौँ शताब्दीको अन्त्यतिर यल्लो फिबरका कारण एक लाख ५० हजार मानिस मरेका थिए । सन् १९१८-१९१९ मा स्पेनिस फ्लु आयो, यसले करिब ५ करोड मानिसको ज्यान लियो । सन् १९५७-१९७० मा रसियन फ्लु र हङकङ्ग फ्लु आए, यिनले २१ लाख मानिसको ज्यान लिए । 

त्यस्तै, सन् १९८१ मा देखिएको एचआईभी/एड्सले हालसम्म करिब ३ करोडभन्दा बढीको ज्यान लिइसकेको छ । सन् २००९-२०१० मा स्वाइन फ्लुको संक्रमणका कारण ३ लाखको ज्यान गयो । सन् २०१४-२०१६ मा इबोला नामको महामारीका कारण १० हजार ३०० जनाको मृत्यु भयो । 

विश्वविद्यालय ज्ञान अनुसन्धानको क्षेत्र हो, जनशक्ति उत्पादनको क्षेत्र हो, ज्ञान परीक्षण, प्रचारप्रसार र प्रवर्द्धनको क्षेत्र हो । अब विश्वविद्यालयले महामारीको समयमा कसरी पठनपाठन गर्ने भन्ने सम्बन्धमा अनुसन्धान गरी उपयुक्त नमुनाको विकास गर्न ढिला भइसकेको छ, थप विलम्ब गर्नुहुँदैन ।

सन् २०१९ को डिसेम्बर ३१ देखि चीनको वुहानका देखिएको कोभिड- १९ नामको कोरोना भाइरसले अहिले विश्व प्रताडित छ । यो भाइरसको हालसम्म विश्वमा २२ करोड २७ लाख ७७ हजार ३०४ जनामा संक्रमण फैलिएको, ४६ लाख ७३ जनाको ज्यान लिइसकेको र १९ करोड ९३ लाअ १५ हजार ८३ जना निको भएका छन् (८ सेप्टेम्बर, २०२१) । 

त्यस्तै, नेपालमा ७ लाख ७२ हजार १८२ जनामा संक्रमण फैलिएको र १० हजार ८७९ जनाको ज्यान लिइसकेको छ भने ७ लाख ३१ हजार जना निको भएका छन् (२३ भदौ २०७८) ।

माथिको विभिन्न समयको महामारीको विवरणले विश्वलाई बेलाबेलामा नराम्रोसँग आक्रान्त बनाएको र मानवको विभिन्न प्रयत्नबाट मानव जीवन बचाउन सफल भएको निष्कर्ष निकाल्न सकिन्छ । मानव सभ्यताको विकासको क्रममा विभिन्न महामारी आइरहेका थिए, आइरहेका छन् र भोलि पनि आइरहन्छन् भन्ने पुष्टि हुन्छ । 

एक किसिमको महामारीबाट मानव जीवनलाई बचाएपछि नौलानौला किसिमका महामारी आउने र मानव जीवनलाई दुःख दिने गरेको इतिहासले बताउँछ । कोभिड- १९ को नियन्त्रणपश्चात् अर्को नोभल भाइरस आउने संभावना पनि त्यतिकै रहेको बताइरहेका छन् विज्ञहरूले ।

कोभिड- १९ को हालसम्म उपचारको विकास भई नसकेकाले संक्रमणबाट बच्न साबुन-पानीले पटक पटक मिचीमिची हात धुने, साबुन-पानी उपलब्ध नहुने अवस्थामा स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने, एक व्यक्तिदेखि अर्को व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्ने, कुनै वस्तु छोएपछि हात धुने वा स्यानिटाइज गर्ने र हातलाई नाक तथा मुखमा नलाने जस्ता स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड प्रयोग गर्नुपर्ने स्वास्थ्य वैज्ञानिकको मत छ ।

विश्वमा आइरहने महामारीको इतिहासले हामीलाई पटक पटक पाठ पढाएको छ । यसले ‘बेलाबेलामा महामारी आउने गर्छन्, त्यसको व्यवस्थापनको तयारी गर्नुपर्छ’ भन्ने सन्देश दिएको छ । नौलानौला महामारी कहिले आउँछन् र तिनको नियन्त्रण कसरी गर्ने भन्ने कुरा अनुमान पनि गर्न नसकिने विषय हुन् । यसै भएर मानव जीवनले बढी दुःख पाउने गर्छ ।

विश्वभरका विश्वविद्यालय, वैज्ञाानिक तथा स्वास्थ्य विज्ञ कोभिड- १९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचारको अध्ययन, परीक्षण र सिफारिसमा लागेका छन् । विश्व स्वास्थ्य संगठनले यस संक्रमणको नियन्त्रणका लागि आफ्नो विश्वव्यापी संयन्त्र परिचालन गरेको छ ।

नेपालमा कोभिड- १९ को पहिलो लहर आउँदा मास्क, सेनिटाइजर, भेन्टिलेटर, आईसीयू बेडसम्बन्धी समस्या देखिएको थियो, देखाइएको थियो । सबैको सामूहिक प्रयत्नपश्चात् यी समस्या समाधान भए । दोस्रो लहर आउँदा अक्सिजनको अभाव देखियो । अझ भन्नुपर्दा अक्सिजन भर्ने सिलिन्डरको अभाव भयो । यो पनि विभिन्न प्रयासबाट पूर्ति भयो । 

अब, तेस्रो लहर आउँदा के समस्या आउने हो ? त्यो भन्न सक्ने अवस्था छैन । तेस्रो लहर आएपछि यो छैन, त्यो छैन भन्ने आवाज सुनिने अनुमान गर्न सकिन्छ ।

कोभिड- १९ जस्ता महामारी विगतमा पनि आएका थिए, भविष्यमा पनि आउन सक्छन् । यस्तो अवस्थामा विद्यालय संचालन कसरी गर्ने भन्ने सम्बन्धमा न विद्यालयले, न त विश्वविद्यालयले पूर्वतयारी गरेका थिए । न अहिले पनि यसका सम्बन्धमा अध्ययन तथा अनुसन्धान नै गरेका छन् । शिक्षक तयारी र उत्पादनको जिम्मेवारी बहन गर्ने विश्वविद्यालयमा महामारीमा कसरी अध्यापन गराउने, महामारीमा विद्यालय तथा विश्वविद्यालयको पठनपाठन कसरी निरन्तर राख्ने भन्ने सम्बन्धमा न पाठ्यक्रम नै बनेको छ, न त पठनपाठन नै गर्ने व्यवस्था छ ।

महामारी आएपछि विद्यालय र विश्वविद्यालय बन्द गर्नुको अर्को विकल्प देखिएन । शिक्षकहरूमा कसरी पठनपाठन गराउने भन्नेमा पनि अन्योल देखियो ।

कोभिड- १९ को संक्रमणपश्चात् ‘वैकल्पिक पठनपाठन’, ‘अनलाइन सिकाइ’, ‘भर्चुअल कक्षा’, ‘जुम मिटिङ’ जस्ता शब्दावलीको अधिक प्रयोग भएको छ । यस्तो प्रविधिबाट विद्यार्थीको पठनपाठन गराउने तरिकाका सम्बन्धमा शिक्षकको ब्रह्मज्ञानमा जे छ, त्यही उपयोग गरिएको छ । विश्वविद्यालयको शिक्षक तयारी र उत्पादनले यसमाा कुनै पनि सहयोग गरेको छैन ।

कोभिड- १९ को संक्रमण अझै केही वर्षसम्म पूर्ण नियन्त्रणमा आउनेछैन । स्वास्थ्य क्षेत्रका वैज्ञानिकहरू खोपको आविष्कार सँगसँगै यसको पूर्ण नियन्त्रणको खोजीमा लागेका छन् । हालका खोपले सधैँका लागि रक्षा गर्न सक्ने देखिँदैन । पहिलो खोप, दोस्रो खोप र बुस्टर खोपको खोजी भइरहेको छ । अन्य महामारीलाई खोपबाट पूर्ण नियन्त्रण नहुँदासम्म कोभिड- १९ को संक्रमणबाट बच्ने र दैनिक काम संचालन गर्नुपर्नेछ । यसका लागि विश्वविद्यालयहरू महामारीमा कसरी पठनपाठन गर्ने, महामारीमा शिक्षण संस्था कसरी संचालन गर्नेसम्बन्धी नयाँ पाठ्यक्रम निर्माण गरी शिक्षक उत्पादन र विकासतिर लाग्नुपर्ने हुन्छ । 

कोभिड- १९ को प्रभावलाई विश्लेषण गर्दै कोभिड- १९ बाट शून्य प्रभावितलाई हरियो, आंशिक प्रभावितलाई पहेँलो र पूर्ण प्रभावितलाई रातो क्षेत्रमा विभाजन गरी हरियो क्षेत्रमा पूर्ववत् शैक्षिक गतिविधि संचालन गर्ने, पहेँलो क्षेत्रमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी शैक्षिक गतिविधि संचालन गर्ने, सानासाना समूह बनाएर पठनपाठन गराउने, गृहकार्य र परियोजना कार्य दिएर सिकाउने र रातो क्षेत्रमा वैकल्पिक मोडका अवास्तविक (भर्चुअल) कक्षा संचालन गर्ने गरी थिति बसाल्नुपर्छ । यसरी शैक्षिक गतिविधि संचालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । स्वास्थ्य मापदण्ड पालनामा हरियो, पहेँलो र रातो क्षेत्र भनेर छुट दिनुहुँदैन । सबै क्षेत्रमा अनिवार्य पालना गराउनुपर्छ, गर्नुपर्छ ।

विश्वविद्यालय ज्ञान अनुसन्धानको क्षेत्र हो, जनशक्ति उत्पादनको क्षेत्र हो, ज्ञान परीक्षण, प्रचारप्रसार र प्रवर्द्धनको क्षेत्र हो । अब विश्वविद्यालयले महामारीको समयमा कसरी पठनपाठन गर्ने भन्ने सम्बन्धमा अनुसन्धान गरी उपयुक्त नमुनाको विकास गर्न ढिला भइसकेको छ, थप विलम्ब गर्नुहुँदैन ।


बराल पूर्वसचिव हुनुहुन्छ ।