अफगान विश्वविद्यालयमा अब छात्र-छात्रा सँगै पढ्न नपाउने

अफगान विश्वविद्यालयमा अब छात्र-छात्रा सँगै पढ्न नपाउने

एजेन्सी  |  विदेश  |  भदौ २८, २०७८

अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा संचालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने बताए । पछिल्लो नीतिले तालिबान शासनमा परिवर्तनको संकेत गरेको छ । 

छात्र र छात्राका लागि छुट्टै कक्षा संचालन गर्न पर्याप्त स्रोत साधनको अभाव भएकाले पछिल्लो नीति कार्यान्वयन हुनेमा धेरैले आशंका गरेका छन् । महिलालाई शिक्षाबाट वञ्चित गर्ने प्रयास स्वरूप तालिबानले पछिल्लो कदम चालेको हुन सक्ने केहीको भनाइ छ ।

तर, शिक्षामन्त्री हक्कानीले आफूहरूसँग पर्याप्त महिला शिक्षिका भएकाले अलग पढाउन कुनै समस्या नहुने दाबी गरेका छन् । अभाव देखिएमा पुरुष शिक्षकलाई पर्दा पछाडिबाट वा अन्य प्राविधिक विकल्प रोज्न सकिने उनको भनाइ छ ।

यसैबीच तालिबानले छात्राको पोसाकसम्बन्धी नयाँ नियम ल्याउने भएको छ । नयाँ नीतिअनुसार विश्वविद्यालय र विद्यालय तहमा छात्र-छात्राको अलग पोसाक हुनेछ । यसअघि तालिबानले आफ्नो पहिलो शासनकालमा महिला र बालिकालाई विद्यालय तथा विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो ।