अमेरिकी सेनाको नाकै अगाडि बस्थेँ, तैपनि पक्राउ गर्न सकेनन् :  तालिबान प्रवक्ता मुजाहिद

अमेरिकी सेनाको नाकै अगाडि बस्थेँ, तैपनि पक्राउ गर्न सकेनन् :  तालिबान प्रवक्ता मुजाहिद

एजेन्सी  |  विदेश  |  भदौ २८, २०७८

तालिबान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले २ दशक लामो द्वन्द्वमा आफूलाई प्रमुख दुश्मन ठान्ने अमेरिकाको नाकै अगाडि बस्दा पनि उसले पक्राउ गर्न नसकेको टिप्पणी गरेका छन् । युद्धमा अमेरिकाले आफूलाई ‘भूत जस्तै’ सोचेको भन्दै उनले अमेरिकी सेनामाथि व्यंग्य गरेका छन् । 

लामो समय भूमिगत रहेका मुजाहिदले उत्तरपश्चिम पाकिस्तानको नाउसेरास्थित हक्कानी विश्वविद्यालयमा अध्ययन गरेको बताए । उनले अध्ययन गरेको पाठशाालालाई ‘तालिबानको विश्वविद्यालय’समेत भनिन्छ । 

‘अमेरिका र अफगान फौजले मेरो अस्तित्व छ भनेर कहिल्यै सोचेन’, पाकिस्तानको 'दि एक्स्सप्रेस ट्रिब्युन'लाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन् । अमेरिकाले गरेको छापा र हमलाबाट आफू धेरै पटक बचेको उनले खुलासा गरेका छन् । ‘उनीहरूको छापा र पक्राउ प्रयासबाट म धेरै पटक जोगिएँ । अमेरिकीको दिमागमा जाबुहिल्ला मान्छे भन्दा पनि अर्कै प्राणी हो भन्ने थियो’, उनले भने । 

आफू अफगानिस्तानमा स्वतन्त्र ढंगले हिँडडुल गरेको उनले बताए । ‘म लामो समय राजधानी काबुलमा सबैको नाकै अगाडि बसेको थिएँ । म आनन्दले देशभर घुम्थेँ । युद्धको गोप्य र पहिलो सूचना पाउँथे’,  उनले भने । ४३ वर्षे मुजाहिदले द्वन्द्व अवधिभर आफ्नो अनुहार सार्वजनिक गरेनन् ।