'मिस्टर महावीर पुन': मोहन रूम्बाजीले चित्रित गरे झैँ तपाईँलाई माओवादीको सहयोगी हो ?
भदौ २८, २०७८

विगत केही दिनदेखि महावीर पुनले आफ्नो सफाइमा विभिन्न पोस्ट लेखिरहनुभएको छ । आफूमाथि आक्षेप लाग्दा आफ्नो सफाइमा लेखनु व्यक्तिको मौलिक अधिकारका साथै सर्वथा जायज नै हुने कुरामा दुई मत हुन सक्दैन ।

महावीर पुनमाथि आक्षेप लाउने व्यक्ति मोहन लामा रुम्बाजीसँग व्यक्तिगत परिचय भएकाले र महावीरजी एक सेलिब्रेटीझैँ स्थापित भएका कारण यस विवादको बिउदेखि नै (मोहनजीको यस विषयक पहिलो पोस्ट) तहल्का मच्चियो ।
 
पोस्टमा रुम्बाजी लेख्नुहुन्छ: (भाषिक सम्पादनसहित)

‘मूला सागहरू’
...................................

  • जब शेरबहादुर देउवा यस पटक प्रधानमन्त्री हुँदै थियो, भारतको एउटा मिडियाले लेख्यो- देउवा ‘भारत निकट आदमी’ भनेर ! यति भएपछि हाम्रो अन्धो लास्टवादीहरूलाई के चाहियो ? ठूलै सबुत पाएजसरी फटाफट शेयर गर्दै देख्यौ भारतीय दलाल देउवा ! भन्दै !’
  • यता दक्षिणतिर देउवा ‘हमारे आदमी’ भन्दै समाचार भाइरल भइरहेको बेला उत्तरतिरका एक जना प्रोफेसरको बयान आयो, ‘देउवा भारत परस्त’ भन्दै । झन् पुष्टि भयो अब उत्तरतिरकोले पनि देउवा भारत निकटतम पात्र भनेपछि त झन् लाहाछाप नै लागिहाल्यो !
  •  ०६३ को आन्दोलनलगत्तै बजारमा थुप्रै पुस्तक आयो, सनसनी फैलाउने ! प्रयोगशाला, चक्रव्युहमा चन्द्र-सूर्य, मैले देखेको दरबारदेखि पछिल्लो चरणमा राधाकृष्ण मैनालीको नलेखिएको इतिहास हुँदै रमेशनाथ पाण्डेको राजनीति र कूटनीतिसम्मको पुस्तकको थुप्रोमा एउटै कुरा छ, दक्षिणी चलखेलको बेलीबिस्तार !
  • पुस्तकको भरमार छ ! तर, त्यहाँ पश्चिमी गतिविधिमा मौनता छ ! जबकि नेपालमा माइक्रो म्यानेजमेन्ट तहमा ओर्लेर अर्थतन्त्र, शिक्षा, सुरक्षा, भौतिक विकासदेखि न्याय प्रशासन, गृह सबैतिर पश्चिमीहरूको ठाडो हस्तक्षेप कोही कसैबाट लुकेको छैन । हुँदाहुँदा स्थानीय तहसम्म पश्चिमी आईएनजीओले तोकिएको सामाजिक सुरक्षा भत्ता जनजाति, आदिवासी, दलित, महिला, सीमान्तकृत यावतलाई प्रतिशतमा छुट्याएर मात्रै बाँकी बजेट वितरण गर्न पाउँछ !
  • तर, यी पात्रहरू सबै मौन छन् । कसैले उच्चारणसम्म गरेको छैन कि २०६२/०६३ को आन्दोलन माओवादी द्वन्द्वमा पश्चिमीहरूको संलग्नताबारेमा । पास्टर केबी रोकायले खुला रूपमा भन्दै छ, ‘माओवादी नेताहरू युरोपेली मुलुकमा चर्चको सिफारिसमा मैले लिएर गएको हो’ भनेर ! अर्को काठमाडौंको पूर्वमेयर केशव स्थापितले खुलेआम भनेको थियो, म राजावादी जस्तो भएर प्रजापरिषद्को अध्यक्ष भएको बेला माओवादीलाई चाहिने संचार उपकरण एफएम रेडियो मैले नै ल्याएर दिएको थियो भनेर ! तर, कोही लेखकले उच्चारणसम्म गर्न चाहेको छैन !
  • त्यति मात्र होइन, पश्चिमीहरूले महावीर पुनलाई प्रयोग गरेर दुर्गमका जनतालाई संचार सेवा पुर्‍याउन भन्दै माओवादी आधार इलाकामा स्याटेलाइट फोनको व्यवस्था गरिदिने महावीर पुनका बारेमा पनि यसो चर्चासम्म छैन ! सेनाले रोक्न खोज्दा बाह्य दबाबमा महावीर पुनलाई थाहा पाईपाई छोड्न परेको थियो । ०६३ पछि त उनलाई युरोपेली मुलुकले सेवा गरेबापत म्यागासेसे पुरस्कारले नै सिँगारिहाल्यो, ठिकै गर्‍यो ।
    निचोडमा:
  • हामीलाई देशी, विदेशीले मूर्ख होइन, महामूर्ख बनाउँदै छन् । त्यसको सानो एउटा उदाहरण शेरबहादुर देउवा हुन् । भारतको मिडियाले ‘हमारे आदमी’ भन्ने उत्तरकाले ‘भारत निकटतम’ भनिदिने । तर, यी सबै त्यही शक्तिले गर्दै छ, जुन शक्तिशालीको त्यत्रो किताबको थुप्रोमा एक शब्द उच्चारण गर्न सकेको छैन ! 
  • तर, शेरबहादुर देउवा को हुन् भन्नेबारेमा राजनीतिको ‘र’सम्म बुझ्नेलाई भन्नै पर्दैन । अझ शेरबहादुर पनि प्रमुख होइन, प्रमुख त आरजू राणा हुन् । त्यसैले त नेपालको इतिहासमा पहिलो पटक महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिलाई राजकीय रूपमा भेटघाट पाउने प्रधानमन्त्री उनै हुन् र उनकै पालामा विदेशमन्त्रीको भ्रमण हुँदा फर्किने बेला रामशरण महतले एयरपोर्टमा गएर खुसुक्क कागजको टुक्रो दिँदै गरेको नेपाल टेलिभिजनको दृश्यमा कैद पनि भएको थियो । अहिले जस्तो भए भाइरल हुने थियो होला । रामशरण महत प्रोटेस्टेन्ट क्रिस्चियन धर्म फैलिए मात्र नेपालमा विकास हुन्छ भनेर कुर्लिनुको कारण यही हो ।
  • राजनीति हो, बुझ्न नसकिने जटिल तानाबाना हुन्छ । क्यारिमबोर्डको गोटी जस्तो एउटालाई हानेको देख्छ, त्यो आएर अर्कोलाई ठोकेर, अर्को दुलोमा पस्छ । ‘भारतले खायो, खायो’ भनेर ७० वर्षदेखि कराउँदा कराउँदै हाम्रो मुटु, कलेजो, आन्द्रा-भुँडी भित्रभित्रै पश्चिमीले खाइसकेछ, पत्तै भएन ! त्यही एकातर्फी ‘भारतले खायो, खायो’ भन्दै हामीलाई दिमागमा घुसार्न लेखक, बुद्धिजीवी, नेता दिनरात ७० वर्षदेखि कराउनुको कारण यही रहेछ भन्ने त भेउ पाएँ बुढेसकालमा आएर । अब बुझेर पनि के फाइदा ? एमसीसी नै आएपछि त विधिवत रूपमा नै गइहाल्यौँ नि ! अझै हाम्रो देश सार्वभौमसत्ता सम्पन्न, असंलग्न परराष्ट्र नीति भएको भन्छ र पो मुखाँ’ हान्नु जस्तो लाग्छ मूला सागहरूलाई !’

उहाँको लामो पोस्टमा महावीर पुनबारे यति लेखिएको थियो:

'पश्चिमीहरूले महावीर पुनलाई प्रयोग गरेर दुर्गमका जनतालाई संचार सेवा पुर्‍याउन भन्दै माओवादी आधार इलाकामा स्याटेलाइट फोनको व्यवस्था गरिदिने महावीर पुनका बारेमा पनि यसो चर्चासम्म छैन ! सेनाले रोक्न खोज्दा बाह्य दबाबमा महावीर पुनलाई थाहा पाईपाई छोड्न परेको थियो । ०६३ पछि त उनलाई युरोपेली मुलुकले सेवा गरेबापत म्यागासेसे पुरस्कारले नै सिँगारिहाल्यो, ठिकै गर्‍यो ।'

ए महावीरजी ! बायोग्राफी त यहाँ विनोद चौधरीदेखि रुक्माङ्गदसम्मले पनि लेखेका छन् । कुनै दिन ज्ञानेन्द्रको पनि आउन सक्छ । ५-७ लाख रुपैयाँ खर्च गरे आफताब आलमको बायोग्राफी लेखिदिनेहरूको कमी छैन देशमा । तपाईंको जीवनी लेखिएर प्रकाशन भयो भने मोहन लामा रुम्बाजीलाई विशेष धन्यवाद दिन नबिर्सनुहोला

मोहनजीको पोस्ट आएयता महावीर पुनले ४-५ वटा पोस्ट लेखेर आफ्नो सफाइ दिने काम गरिसक्नुभएको छ । उहाँको प्रयास अझै जारी छ । हाँसो उठ्नुका साथै विचित्रको अनुभूति त त्यस बेला भयो, जब देखेँ रुम्बाजीको पोस्टमा आएका अनेक कमेन्टको तल गएर महावीर पुन स्पष्टीकरण दिँदै हुनुहुन्छ ।

महावीरजी, तपाईंको कुनै स्पष्टीकरणको कुनै काम छैन, आवश्यकता पनि छैन । माओवादीद्वारा संचालित लामो हिंसात्मक आतंककारी गतिविधिमा दिवंगत राजा वीरेन्द्रदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मको शुभेच्छा सहयोग थियो । तत्कालीन अधिकांश ठूला नेता, ठूला पदासीनको सहयोग र सम्बन्ध रहेको कुरा सार्वजनिक भइसकेको छ ।

तत्कालीन राजा ज्ञानेन्द्र नेपाली सेनाका बन्दुक र माओवादीका बन्दुकबीच सहकार्य गराएर अघि बढ्न इच्छुक भएका थिए भनेर आज प्रमाणित गर्न सकिन्छ र ? पछिल्लो समय यदि माओवादी भारतको पोल्टामा नगएको भए यो संभव हुन्थ्यो । तर, भयो यसको उल्टो । भारतले त्यस बेलाका दल र माओवादीबीच सहकार्य गराएर ज्ञानेन्द्रलाई पूर्व बनाइदियो ।

एउटा संस्मरण छ मसँग पनि । मेरा एक जना परिचित त्यस बेला कुनै संस्थानमा राजनीतिक नियुक्ति लिएर गएका थिए । माओवादीको पत्र आइपुग्यो- ५ लाख देऊ भनेर । सडक राजनीतिबाट परिचित मन्त्री आउनाले विशिष्ट श्रेणीको नियुक्ति पाएका सामान्य मानिसले ५ लाख रुपैयाँ कहाँबाट ल्याउनु ! 

कुरा मसँग आइपुग्यो । बुझ्दै जाँदा जिल्लाका माओवादीले रिपोर्ट गरेर पत्र आएको रहेछ । अन्त्यमा ५० हजार रुपैयाँमा कुरा मिल्यो । सरकारी कार्यालयमै आएर माओवादी कार्यकर्ताले ५० हजार रुपैयाँ लिएर गए ।

यी सबै प्रकरणमा मेरो यथेष्ठ भूमिका थियो । के यस कुराले म माओवादी भएको प्रमाणित हुन्छ र ?

माओवादीको हिंसा, अराजकताकालमा कर, बल, डर आदि यावतका परिबन्दमा परेर ज्यान जोगाउने उपाय स्वरूप कसैले आतंककारीका माग र शर्त स्वीकार गर्नु के अपराध हुन सक्छ ? किमार्थ पनि हुन सक्दैन ।

बेलामौका  देशमा  माओवादी अराजकताकालमा घटेका प्रकरणबारे एवं तत्कालीन उपद्रवीहरूलाई हेगसम्म लैजाने कुरा उठ्छ । सायद एक-र्दुइ जनालाई त्यसबापत देशमै सजाय भएको छ । तर, स्पष्ट रूपमा सत्य के हो भने, जंगलबाट माओवादी शहर आउँदा सम्झौता गरेर आएका थिए र त्यस बेला देशले उनका समस्त उपद्रवलाई आममाफी दिँदै समझौता गरेको थियो । 

१० वर्षे द्वन्द्वकालमा माओवादीका प्रत्येक गतिविधि आपराधिक थिए  । कुनैकुनै घटनाको निरूपण गरेर अपराधीलाई अदालत र सजायसम्म पुर्‍याउनु भनेको उनीहरूका तमाम गतिविधिलाई जायज ठहर्‍याउनु हुन्छ । कि त देशले १० वर्षे द्वन्द्वकालका सबै गतिविधि, सबै पात्रलाई सम्झौता र आममाफी बिर्सेर स्थानीय अदालतदेखि हेगसम्म लैजाने मनस्थिति बनाउनुपर्‍यो अन्यथा आममाफीको फर्मुला आत्मसात् गर्नु उचित हुन्छ । 

नेपालको इतिहास नै पल्टाएर हेर्ने हो भने यो देश आपराधिक तत्त्वलाई कारवाही र सजाय गर्ने गरी सबल राज्यका रूपमा  कहिल्यै पनि देखिएको छैन ।

ल, मानिलिऊँ कि महावीर पुनले तत्कालीन समयमा माओवादीलाई सहयोग नै पुर्‍याएका भए (पुनजीसँग क्षमासहित) के उनको शरीरको कहीँको पनि एउटा रौँ हल्लाउन सक्छ र कसैले पनि ?

महावीर पुन आफूलाई तत्कालीन समयमा सहयोग गर्ने विदेशी विद्यार्थीहरूको फेसबुकलगायतको परिचय र ठेगाना बाँड्दै हिँड्नुभएको छ । विभिन्न व्यक्तिले गरेको टिप्पणीको तल आफ्नो यही स्पष्टीकरण टाँस्दै हुनुहुन्छ । फेसबुकमा धम्की दिँदै आफ्नो बायोग्राफी लेख्ने प्रचार गर्दै हुनुहुन्छ । 

ए महावीरजी ! बायोग्राफी त यहाँ विनोद चौधरीदेखि रुक्माङ्गदसम्मले पनि लेखेका छन् । कुनै दिन ज्ञानेन्द्रको पनि आउन सक्छ । ५-७ लाख रुपैयाँ खर्च गरे आफताब आलमको बायोग्राफी लेखिदिनेहरूको कमी छैन देशमा । तपाईंको जीवनी लेखिएर प्रकाशन भयो भने मोहन लामा रुम्बाजीलाई विशेष धन्यवाद दिन नबिर्सनुहोला- उहाँको प्रेरणाले यो जीवनी लेखिएको हो भनेर ।

आफ्नो जीवनको एउटा प्रसंग याद आउँछ । सन् २००२ तिर संन्यासी भएर हिँडेँ । झण्डै १२ वर्षको अन्तरालपछि केही पुराना मित्रहरूसँग भेट भयो । एक जना मित्रले हुर्मत लिए- ‘यो संन्यासी भएको सब नाटक हो । तिमीहरूलाई पो यसका बारेमा थाहा छैन । म त यसको पुरानो साथी हो । कुन कुकृत्य गरेन यसले ?’

उनले एकएक गरी रक्सी खाएदेखि सुन्दरी रमण, नगरबधू भ्रमण, मेरा आक्रोश, प्रतिशोधलगायत विभिन्न आचार, विचार, व्यवहारको पुलिन्दा उजागर गरे । ‘यो संन्यासी होइन, यो यसको नयाँ स्टाइल हो’ भने । उपस्थित अन्य मित्रले बडो चाख मानेर श्रवण गरे । र, मसँग सोधे, ‘तपाईंको के भन्नु छ यसमा ?’

‘उहाँले भनेका सबै कुरा सत्य हुन् । धेरै पटक त उहाँले भनेका गतिविधिमा हामी सँगै पनि थियौँ । म उहाँले भनेका सबै कुरालाई स्वीकार गर्छु’, मैले भनेँ ।

‘त्यसो भए अब यो संन्यासीको नाटक किन ?’

‘पुराना नाटकले अजीर्ण भएर । अब लाइफ स्टाइल चेन्ज गरेको हुँ । उहाँले भनेको सबै कुरा मेरो विगत थियो, यो रूप वर्तमान हो ।’

‘तपाईंलाई लाज लाग्दैन ९०० मुसा खाएर बिरालो हज यात्रा गर्दै छ !’

‘म आफूलाई भाग्यमानी बिरालो सम्झिन्छु कि ९०० मुसा खाँदैमा म तृप्त भएँ ।’

‘तपाईंलाई आफ्नो विगतप्रति पश्चात्ताप हुँदैन ?’

‘किंचित पनि हुँदैन । मेरो विगत त मेरो वर्तमान र भविष्यको पथप्रदर्शक हो । मलाई यति बोध भएको छ कि प्रत्येक पापीको भविष्य हुन्छ र प्रत्येक संन्यासीको विगत । म आफ्नो वर्तमानले विगतलाई बद्लिने, ‘ग्लोरिफाई’ गर्ने आकांक्षा राख्दिनँ ।’

बेलामौकामा मेरो विगत स्मरण गराइदिने उहाँ जस्ता मित्रहरूप्रति मलाई अगाध प्रेम छ । उहाँहरू मेरो विगतको ऐना हो ।

म जस्तै विगत बोकेको मानिस हो मोहन लामा रूम्बा, जो कहिले क्रान्तिकारी हुने नाममा दशैँको विरोध गरेर पनि हिँड्नुभयो । ‘९०० मुसा खाएर’ मोहनजीको पनि जीवनयात्रा फेरिएको छ । 

नेपाली संस्कृति, नेपाली मौलिकता, आपसी सद्भाव, हिन्दु धर्म, बौद्ध धर्ममाथि कसरी सुनियोजित ढंगले प्रहार भइरहेको छ ? कसरी गाउँका गाउँ क्रिश्चियन हुँदै गइरहेका छन् ? क्रिश्चियानिटी कसरी र कुनकुन स्वरूपले, कुनकुन तवरले विस्तारित हुँदै गइरहेको छ ? कसरी सुनियोजित पाराले हिन्दु धर्म र बौद्ध धर्मका बीच फाटो ल्याउने काम भइरहेको छ ?

‘सरी टु से यु मिस्टर महावीर पुन’ मोहन रूम्बाजीको उद्देश्य तपाईंलाई माओवादीको सहयोगीका रूपमा चित्रित गर्नु थिएन । यो प्रमाणित भए पनि केही फरक पर्दैन ।

उहाँको आशय कसरी र कति मसिनो पाराले क्रिश्चियानिटीले  काम गर्छ । मिशनरीले ‘एक दिनको होइन, वर्षौं वर्षको योजनामा काम गर्छ’ भन्ने उजागर गर्नु रहेको थियो ।

तपाईं आफ्नो विगत बिर्सेर आफूलाई महिमामण्डित गर्ने काममा चुर्लुम्म डुबेको देखिन्छ महावीरजी !

यही पद्धति, यही व्यवस्था, यही राज्य संरचना कायम रहे  आउने १०-१५ वर्षभित्र देश ‘होली वाइन’को खोलोमा बगेर कुन नियति बेहोर्न पुग्छ, त्यसको पदचाप बुझ्न कुनै विशेष योग्यता चाहिँदैन, मोहन रुम्बाजीको जति सामान्य दृष्टि भए पुग्छ ।


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।