६ जना स्रष्टाको कविताकृति 'निषेधाज्ञाका प्रतिबिम्बहरू' सार्वजनिक

६ जना स्रष्टाको कविताकृति 'निषेधाज्ञाका प्रतिबिम्बहरू' सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ २९, २०७८

राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ६ जना साहित्यकारहरूको संयुक्त कवितासंग्रह 'निषेधाज्ञाका प्रतिबिम्बहरू' सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथिलगायत उपस्थित सबैले पुस्तक हातमा लिएर संयुक्त कवितासंग्रहको विमोचन गरियो ।

६ जना कविहरू ऋषभदेव घिमिरे, मधु पाठक, रञ्जना निरौला, डा. शान्तिमाया गिरी, सुमन वर्षा र सुषमा आचार्य 'अंशु'ले कोरोना कालखण्डमा सिर्जना गरेका  कविताहरू संकलित यस संग्रहले एउटा कालखण्डको भोगाइ प्रदर्शन गर्ने धारणा राख्दै उपकुलपति गुरुङले कविता लेख्ने खासगरी नारीले मानव वेदनालाई नजिकबाट चित्रण गर्न सक्ने बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको संग्रह कोभिड र निषेधाज्ञाबीचको कोशेढुंगा भएको बताइन्  । नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले संकलित कवितामा विभिन्न रस, विचार, पीडा र दृश्य रहेका धारणा राखे भने लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन'ले संयुक्त कवितासंग्रह प्रकाशन गर्नु श्रम र साधनाका दृष्टिले निकै चुनौतीपूर्ण हुने विचार राखे । 

संग्रहको समीक्षा गर्दै डा. विन्दु शर्माले एउटै र निर्धारित विषयमा कविता लेख्दा सौन्दर्य पक्षमा प्रभाव पर्न सक्ने बताउँदै तर यस संग्रहले समग्रमा मानवताको पक्षमा सन्देश दिएको बताइन् ।

पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग गर्ने भानु प्रतिष्ठानका कोषाध्यक्ष एवं राष्ट्रिका साहित्य प्रतिष्ठानका संस्थापक सदस्य हरिबोल ढकाललाई सम्मान गरिएको थियो ।

विमोचनपश्चात् ६ जना स्रष्टाहरूले आफ्ना कविता वाचन गरेका थिए ।

रञ्जना निरौला र सुमन वर्षाको सम्पादनमा प्रकाशित संग्रहभित्र ६ स्रष्टाका १३/१३ वटा विभिन्न विषयमाथि लेखिएका कविता रहेका छन् ।