'माधव नेपाल उकालो चढ्यो, एमाले ओरालो लाग्यो': महेश बस्नेत

'माधव नेपाल उकालो चढ्यो, एमाले ओरालो लाग्यो': महेश बस्नेत
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  भदौ २९, २०७८

प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपालकाे राजनीतिबाट एक्लो हुँदै गइरहेका बताएका छन् ।

एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले अब प्रचण्डको च्याँखे राजनीति नचल्ने दाबी गरे । 

'अस्ति प्रचण्डले म एक्लो हुँदै छु भन्नुभएछ । माओलाई श्रीमतीले समेत अन्तिममा साथ नदिएको, लेनिनले पनि साथ नपाएको केके भन्नुभएछ', उनले भने, 'उहाँले सही भन्नुभएछ । प्रचण्ड कमरेड नेपालको राजनीतिबाट एक्लै हुँदै हुनुहुन्छ । उहाँको च्याँखे राजनीति अब नेपालमा चल्नेवाला छैन ।'

बस्नेतले प्रचण्ड जता फाइदा देख्यो, त्यतै लाग्ने गरेको आरोप लगाए । '२०७० सालको चुनावमा कांग्रेसतिर लाग्नुभयो । बामपन्थी हराउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो', उनले भने, '२०७४ सालको चुनावमा कांग्रेसतिर च्याँखे दाउ लागेन भनेर केपी ओलीतिर लाग्नुभयो । एमालेतिर आउनुभयो ।'

बस्नेतले मदन भण्डारीको निधनपछि माधव नेपालले एमालेलाई कमजोर बनाएको आरोप पनि लगाए । 'माधव नेपाल उकालो चढ्यो, एमाले ओरालो लाग्यो । हात्तीजत्रो एमालेलाई बोको मात्र बनाए', बस्नेतले भने ।