विश्वका अर्बपतिको नजर पृथ्वी मात्र होइन, अन्तरिक्षमा पनि केन्द्रित

विश्वका अर्बपतिको नजर पृथ्वी मात्र होइन, अन्तरिक्षमा पनि केन्द्रित

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २९, २०७८

एरोस्पेस कम्पनी स्पेस एक्सका सीईओ एलन मस्क पुनः विश्वकै सर्वाधिक धनाढ्य बन्न पुगेका छन्   । विश्वका अर्बपतिहरूको अनुगमन गर्ने ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार मंगलबार मस्कको सम्पत्ति २०१ अर्ब डलर पुगेको छ । मस्क इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला मोटरका संचालक हुन् । 

उनका समकक्षी अर्का अर्बपति जेफ बेजोस २०० अर्ब डलरका साथ दोस्रो नम्बरमा छन् । सन् २०२१ प्रारम्भ भएदेखि यी दुवैमा को पहिलो भन्ने तीव्र प्रतिस्पर्धा हुँदै आएको छ । 

झन्डै ६-७ महिनादेखि यी दुवैबीच को पहिलो बन्ने प्रतिस्पर्धा हुँदै आएको छ । यी दुवै अर्बपतिका आफ्ना ऐरोस्पेस कम्पनी छन् । यिनका लागि अन्तरिक्ष पुग्नु कुनै नेपालीका लागि अमेरिका पुग्नभन्दा सजिलो छ ।

गत २० जुलाईमा जेफ बेजोसले आफ्नो भाइ मार्क बेजोसलगायत ८२ वर्षीय वाली फैंक र एकजना १८ वर्षीय विद्यार्थी ओलिभर डेमेनका साथ आफ्नो कम्पनी ब्लु ओरिजिनले बनाएको रकेट ‘न्यु सेपर्ड’मा बसेर अन्तरिक्षको यात्रा गरे । १० मिनेट १० सेकेन्डको यात्रामा बजोस पृथ्वीदेखि १०० किलोमिटर माथिसम्म पुगेर फर्किए ।

१५ सेप्टेम्बर (भोलि) एलन मस्कको कम्पनी स्पेस एक्सको ४ जना मानिसलाई लिएर अन्तरिक्ष भ्रमणमा जाने कार्यक्रम छ । उनीहरू पृथ्वीको तल्लो कक्षमा ३ दिनसम्म रहनेछन्।  अब विश्वका अर्बपतिको नजर पृथ्वी मात्र होइन, अन्तरिक्षमा पनि केन्द्रित भएको छ ।

विश्वमा कति छन् अर्बपति ?

विश्वमा अर्बपतिको संख्या २ हजार ७५५ छ । यी सबै अर्बपतिको कुल सम्पत्ति १३.१ ट्रिलियन डलर रहेको छ । विश्वको अर्थ व्यवस्था कुल ९३ ट्रिलियन डलर रहेकामा यी अर्बपतिसँग झन्डै १४-१५ प्रतिशत होल्ड छ । सर्वाधिक अर्बपति अझै पनि अमेरिकामै छन् । अमेरिकामा ७२४ जना अर्बपति छन् । चीनमा अर्बपतिको संख्या ६९८ छ । अर्बपतिको दौडमा भारत तेस्रो नम्बरमा पर्छ। भारतमा १४० जना अर्बपति छन् । भारतका मुकेश अम्बानी अर्बपतिहरूको सूचीमा १२ नम्बरमा पर्छन् । 

‘टप टेन’ अर्बपतिमा सर्वाधिक संख्या अमेरिकीको छ । एक जना फ्रान्सेली अर्बपति बर्नार्ड अर्नोल्टबाहेक ‘टप टेन’मा सबै अमेरिकीको बाहुल्य छ । चिनियाँ उद्योगपति झोङ सानसन २१औँ नम्बरमा पर्छन् । कुनै बेला एसियाका सर्वाधिक धनीमा गनिने चिनियाँ व्यापारी ज्याक मा अहिले विश्वको ३०औँ नम्बरमा छन् ।