नेपाली कम्युनिस्ट फुटको शृंखला: माओ मुस्काराउँदै भने-‘तिमीहरू राजनीतिक हिसाबले बच्चै रहेछौ’

नेपाली कम्युनिस्ट फुटको शृंखला: माओ मुस्काराउँदै भने-‘तिमीहरू राजनीतिक हिसाबले बच्चै रहेछौ’

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  भदौ ३१, २०७८

नेपाली कम्युनिस्ट आन्दोलनको ७० वर्षे इतिहासमा कम्युनिस्ट पार्टीहरूको जुट र फुटको शृङ्खला पनि रोचक ढङ्गले अघि बढेको छ ।

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको सात दशक नाघेको छ । वि. सं. २००६ वैशाख १० गते भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको गठन भएको मानिँदै आएको छ । तत्कालीन समयमा नेपालमा जहानियाँ राणा शासन कायम थियो । संगठन खोल्ने, राजनीति गर्नेलगायतका कुराहरूमा स्वतन्त्रता थिएन ।

नेकपा स्थापना भएको एक दशकअघि मात्र प्रजातन्त्रका पक्षमा आवाज उठाउने चार जना दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलाई राणा शासनले मृत्युदण्ड दिएको थियो । 

त्यसताका नेपालमा भन्दा भारतमा राणाका विरुद्धमा गतिविधि हुन्थे । सचेत नेपालीहरू र वनारसलगायत भारतका विभिन्न स्थानमा अध्ययनका लागि गएका नेपालीहरूले राणा शासनविरुद्ध अभियान चलाएका थिए ।

सोही क्रममा आफ्ना दाजु गंगालाललाई राणा शासनले मारेको र आफूमा पनि निरंकुश राणा शासन अन्त्य गर्नुपर्छ भन्ने लागेको युवा पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी मिलेर कोलकातामा नेकपा गठन गरे ।

२०१० सालमा नेकपाको पहिलो महाधिवेशनमा मनमोहन अधिकारी महासचिवमा निर्वाचित भए । त्यसबेला देशमा प्रजातन्त्र आएर खुला वातावरण बनिसकेको थियो । खुला राजनीतिक वातावरणमा नेकपाले राजनीतिक गतिविधि र संगठन गरिरह्यो ।

२०१४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी नेकपाका महासचिव बने । तत्कालीन चीनका शक्तिशाली र विश्व चर्चित नेता माओत्सेतुङलाई समेत भेटेका रायमाझीले नेपाली कम्युनिस्ट आन्दोलनमा टुटफुटको शृङ्खलाको श्रीगणेश गरिदिए ।

अर्कातिर मोहनविक्रम सिंहले नेतृत्वमा देखिए । सिंहले ‘राष्ट्रियता’को मुद्दा ‘क्यास’ गर्न भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध आफूलाई उभ्याए । २०२८ सालदेखि आजसम्म यी २ समूह धेरै पटक फुटदै र जुट्दै यहाँसम्म आएका हुन् ।

एउटा सन्दर्भमा रायमाझीले लेखकसँग भनेका थिए, उनी महासचिव भएकै बेला सहाना प्रधान, रायमाझीलगायतका नेता चीन जाँदा माओत्सेतुङसँग भेट गरे ।

भेटका बेला माओले सोधे, ‘कस्तो व्यवस्था चाहन्छौ नेपालमा ?’

रायमाझीले भने, ‘राजासहितको प्रजातन्त्र ।’

यो सुनेर माओ मुसुक्क मुस्काएर भने रे, ‘तिमीहरू राजनीतिक हिसाबले बच्चै रहेछौ ।’

रायमाझीका अनुसार माओको आसय कम्युनिस्ट भएर राजासहितको र त्यसमा पनि प्रजातन्त्र खोज्ने ? भन्ने थियो रे !

तर, रायमाझी अन्ततः आफ्नै मान्यतामा कायम रहे अर्थात् राजासँग मिलेर अघि बढ्नुपर्छ भन्ने उनको मतले उनलाई जित्यो ।

र, रायमाझीको त्यही सोचकै कारण नेपाल कम्युनिस्ट पार्टी पहिलो पटक विभाजन भयो । २०१७ पुस १ को राजा महेन्द्रको शिशु प्रजातन्त्र निमोठेर निर्दलीय पञ्चायत लागू गर्ने कदमलाई लिएर नेकपामा बहस हुँदा रायमाझी महेन्द्रको कदमको पक्षमा उभिएपछि नेकपा फुटेको थियो ।

राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई अपदस्त गरेर मुलुकको सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिएर बीपी कोइरालालाई जेल हाले । रायमाझीले राजा महेन्द्रको कदमलाई स्वागत गरे तर पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारी उक्त कदमको विरोधमा उभिए ।

हो, यही घटनापछि नेकपाले रायमाझीलाई हेर्ने दृष्टिकोण र बुझ्ने तरिका बदल्यो । रायमाझीमा नाम मात्रको कम्युनिस्ट बाँकी रहेको तर भित्र दरबारको हंस रहेको भनेर भनिन्थ्यो ऊबेला । कतिपयले त रायमाझीको उक्त कदमपछि उनलाई ‘दरबारको भूत’समेत भने ।

रायमाझीले आफ्नो सोच, व्यवहार र धारणामा परिवर्तन गरेनन् बरु ‘राजावादी कम्युनिस्ट’कै रूपमा बाँचिरहे । पछि उनी तत्कालीन राजसभा स्थायी समितिको सभापतिसमेत बने ।

यसैबीच २०२३ सालतिर नेकपाको पूर्व मेची-कोसी प्रान्तीय कमिटी गठन भयो । रायमाझीको समूह नेकपाबाट अलग्यिो । यसको एक वर्षपछि २०२४ सालमा पुष्पलालले नेकपाको तेस्रो महाधिवेशन गराए ।

अब नेकपा फुटको शृङ्खलाले निरन्तरता पाउन थाल्यो । सैद्धान्तिक भन्दा पनि ‘जुँगाको लडाइँ’, पदको आकाङ्क्षाले पार्टी विभाजन हुन थाल्यो । एकले अर्कालाई ‘गद्दार’ भन्दै अलग्गिने क्रम सुरु भयो । अन्ततः २०२५ सालमै तुलसीलाल अमात्य र पुष्पलाल पनि छुट्टिए ।

केन्द्रमा टुटफुट चलिरहँदा २०२८ सालमा झापा जिल्ला कमिटी र केन्द्रीय न्युक्लियसका रूपमा कम्युनिस्ट पार्टी खुले । झापा कमिटीको नेतृत्व सीपी मैनालीले गरे । मैनालीहरूले किसान आन्दोलनलगायतका नाममा पञ्चायत फाल्न चर्चित ‘झापा विद्रोह’ सुरु गरे ।

अर्कातिर मोहनविक्रम सिंहले नेतृत्वमा देखिए । सिंहले ‘राष्ट्रियता’को मुद्दा ‘क्यास’ गर्न भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध आफूलाई उभ्याए । २०२८ सालदेखि आजसम्म यी २ समूह धेरै पटक फुटदै र जुट्दै यहाँसम्म आएका हुन् ।

२०२८ सालमै भापा विद्रोहका क्रममा केपी शर्मा ओली पनि देखिए । उनी त्यसताका सक्रिय युवा नेता थिए ।

पुष्पकमल दाहाल कुनै धारमा थिएनन् । पुष्पलालसँग केही समय सँगै रहेका पुष्पकमल दाहाल केही समयमै मोहनविक्रम सिंहको चौथो महाधिवेशनमा आबद्ध भए । सोही समूहमा भक्तबहादुर श्रेष्ठ र निर्मल लामा पनि थिए ।

कम्युनिस्ट फुटको शृङ्खला रोकिने छाँट रहेन । सानातिना मतभेद, विवाद र असन्तुष्टिमै निकै सजिलो गरी नेपाली कम्युनिस्ट पार्टी फुट्न थाले । निर्दलीय पञ्चायतको बिगबिगी रहेका बेला निर्दलीयता र निरंकुशताका विरुद्धमा उभिएर सङ्घर्ष गर्नुपर्ने राजनीतिक शक्तिहरू आपसी लडाइँमा रुमल्लिएर प्याट्टप्याट्ट फुट्न थालेपछि निर्दलीयता पक्षधर दरबार र पञ्चेहरू खुसी नहुने कुरै भएन ।

जब राजनीतिक शक्तिहरू कमजोर बने वा बनाइए, निर्दलीय पञ्चायतले ३० वर्षसम्म एकछत्र शासन गर्न सफल भयो । यसमा कम्युनिस्ट पार्टीहरूको टुटफुटले निकै ठूलो मद्दत गरेको देखिन्छ राजा महेन्द्र र वीरेन्द्रलाई ।

२०३५ साउनमा पुष्पलालको निधन भयो । अब झनै नेकपा मियोबिनाको बन्यो । त्यसबेलासम्म पुष्पलालको नजिक रहेका मानिएका युवा नेताहरू मदनकुमार भण्डारी, वामदेव गौतमले पनि अर्कै संगठन सुरु गरे– मुक्ति मोर्चा समूह नाममा ।

झापाली विद्रोहका नेताहरू अखिल नेपाल कोअर्डिनेसन कमिटीमा सामेल भइसकेका थिए । यी दुवै समूह मिलेर २०३५ पुस ११ नेकपा (माले) गठन भयो । महासचिव बने सीपी मैनाली ।

२०३६ सालमा मनमोहन अधिकारीले नेपाल कम्युनिस्ट पार्टी (मनमोहन) दल खोले । यही बेला कम्युनिस्टहरूबीच मतभिन्नता रह्यो– जनमतसङ्ग्रहमा भाग लिने कि नलिने भननेमा । तर, अधिकारीले जनमतसङ्ग्रहमा बहुदलका पक्षमा चुनावमा भाग लिए । नेपाली कांग्रेसलाई साथ दिए । कांग्रेससँग उनको यो साथ २०४६ सालको आन्दोलनसम्म निरन्तर रह्यो । सोही कारण पञ्चायती व्यवस्था अन्त्य पनि हुन पुग्यो ।

नेकपा मालेले भने जनमतसङ्ग्रह बहिस्कार गरेको थियो । पुष्पलालको निधनपछि उनको पार्टीमा बलराम उपाध्याय र सहाना शीर्ष तहमा रहे ।  यही समूह पछि २०४३ सालमा आएर मनमोहन अधिकारीको पार्टीसँग एकता भई नेकपा (माक्र्सवादी) गठन भयो ।

मोहनविक्रम सिंहको चौथो महाधिवेशनले भने २०३६ सालको जनमतसङ्ग्रह बहिस्कार गरेको थियो । जनमतसङ्ग्रहलाई लिएर पार्टीभित्र मतभेद देखिएको थियो । निर्मल लामा जनमतसङ्ग्रहलाई उपयोग गर्नुपर्ने पक्षमा थिए तर मोहनविक्रमले त्यसलाई मानेनन् । २०४० सालमा लामा समूहको अगुवाइमा नेकपा (चौम) गठन भयो । मोहनविक्रमको समूहले भने पार्टीको नाम नेकपा मसाल राख्यो र  महामन्त्री बने मोहनविक्रम ।

नेकपा मसालको पाँचौँ महाधिवेशनले महामन्त्री सिंहको राजनीतिक लाइन पास गर्‍यो । तर, उनीमाथि यौन दुराचारको आरोप लागेपछि कारबाहीमा परे । मसालमा फुटको यो शृङ्खला लामो समयसम्म जारी रह्यो । तर पनि मोहनविक्रम सिंह र पुष्पकमल दाहालबीच एकता भने हुन सकेन ।

२०४१ सालमा भएको पाँचौँ महाधिवेशनबाट महामन्त्रीमा मोहन वैद्य निर्वाचित भए । तर, श्रीलंकाको तमिल विद्रोहलाई समर्थन गर्ने कि विरोध ? भन्ने विषयमा दलमा मतभेद भयो । मोहनविक्रमले चित्रबहादुर केसीसहित चर जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी बनाए– नेकपा मसाल नममा । अब नेकपाको त्यो पक्ष पातलो मसाल र मोटो मशालमा विभाजित भयो । वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल बन्यो ।

क्रमश: