बहुप्रतिभायुक्त मोमिला जोशी: पढाइमा मात्र होइन, सिर्जनशीलतामा पनि अब्बल

बहुप्रतिभायुक्त मोमिला जोशी: पढाइमा मात्र होइन, सिर्जनशीलतामा पनि अब्बल

आशिष पौडेल  |  अन्तर्मन्थन  |  आश्विन २, २०७८

शास्त्रीय मान्यताअनुसार हेर्ने हो भने मानिसको जीवनलाई दुःखका रूपमा परिभाषित गरिएको छ । यस हिसाबले जीवन प्रायः दुखी नै छ । तर, दुःखलाई दुःखका रूपमा मात्र लिने कि त्यसलाई संघर्षको रूपमा लिएर अघि बढ्ने ? यसले मानिसलाई फरक बनाउँछ । 

यस्तै दुःख, हण्डर र संघर्षबाट बनेको नाम हो, मोमिला जोशी । नेपाली साहित्य आकाशकी सशक्त महिला हस्ताक्षर जोशी दुःखका हरेक आँधीपछि देखिने स्निग्ध चट्टान हुनुहुन्छ ।

उहाँको लेखनका मुख्य विधा कविता, निबन्ध तथा समालोचना हुन् । तर, त्यसबाहेक उहाँ स्नातकोत्तरमा महिलामध्ये प्रथम श्रेणीमा प्रथम पनि हो । 

पारिवारिक अवस्था

उहाँकी आमा मीठो स्वरकी धनी हुनुुहुन्थ्यो । आमा मीठो भजन पनि गाउनुहुन्थ्यो । उहाँ भने बिहान बिहानै आमाले पूजा गर्दा बजाएको घण्टीले ब्युँझनुहुन्थ्यो । 

उहाँका बुबा भने प्रतिभाका खानी । उहाँ कलाका हरेक क्षेत्रमा सशक्त । बुबाको अगाडि आफू कुपी पनि नरहेको बुझाइ छ उहाँको । ‘बुबा सूर्य अनि छोरी कुपी’, उहाँ भन्नुहुन्छ ।

उहाँका बुबा भ्वाइलिन, हार्मोनियम, सितार, मादल, बाँसुरी, मुरली राम्रो बजाउने, नाटक खेल्ने अनि मूर्ति बनाउने गर्नुहुन्थ्यो । 

पढाइका सन्दर्भमा उहाँका बुबाले इलाहवादबाट म्याट्रिक (एसएलसी सरह) गर्नुभएको भए पनि ट्युसन भने एमएलाई अंग्रेजीको पनि पढाउनुहुन्थ्यो ।

उहाँको बुबाको नाम सिद्धिप्रसाद जोशी । आर्थिक अवस्थाको कुरा गर्दा उहाँको बुबा अंश लिएर अंशमा रमाएको मान्छे होइन ।

उहाँका बुबाआमा दुवै जना अत्यन्तै कर्मशील हुनुहुन्थ्यो उहाँ भन्नुहुन्छ ।

उहाँकी आमाले यस्तो गुणस्तरीय रक्सी बनाउनुहुन्थ्यो कि जुन त्यसबेला राजा वीरेन्द्रका लागि दरबारमा लगिन्थ्यो । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०२४ सालमा धनकुटामा भएको हो । उहाँ कान्छी छोरी । सबैभन्दा सानी । 

उहाँ सानी हुँदा आमालाई टाइफाइड भयो । टाइफाइड भएपछि त्यस बेला मान्छेको ज्यान जाने संभावना प्रबल हुन्थ्यो । 

वैद्यको औषधि खुवाउनुपर्ने, त्यो पनि घडी हेरेर । अनि, चार वर्षकी बच्चीले घडी हेर्न के जान्नु !

उहाँलाई सिकाइएको थियो- घण्टा सुई चारमा पुगेपछि औषधि खुवाउन । कतै औषधि खुवाउन ढिलो हुने हो कि भनेर त्यो घण्टा सुईले उहाँलाई कतै हलचल नै गर्न दिएन ।

बुबा काम गर्न अफिस अनि अन्य दिदीहरू पनि काममा व्यस्त हुनुपर्ने हुँदा सानै भए पनि आमाको स्याहार भने उहाँले गर्नुपथ्र्यो । 

उहाँ त्यस बेला चार वर्षकी हुनुहुन्थ्यो । त्यस अर्थमा उहाँको बाल्यकाल सामान्य रहेन । उछलकुद त्यति हुन पाएन । 

बाहिर पुतली उडिरहेका हुन्थे । माउले बचेरालाई चारो खुवाइरहेको हुन्थ्यो । तर, उहाँ भने ‘भोक लग्यो’सम्म भन्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो ।
 
त्यो एक वर्ष भने उहाँको बडो कष्टप्रद भएर बित्यो । आमा स्याहार्ने ठूलो जिम्मेवारी उहाँले राम्रैसँग निभाउनुभयो । 

‘त्यसपछि आमालाई निको भयो । त्यस कारण बाल्यकाल केही नराम्रो र केही राम्रो रह्यो’, उहाँ भन्नुहुन्छ । 

यसका बारेमा उहाँले ‘झुसिलकिरा अभिनेता’ भनेर पनि लेख्नुभएको छ । 

गायनतर्फ प्रथम

बुबा हार्मोनियम बजाउन सिपालु । बुबाले उहाँलाई हार्मोनियम सिकाएर उहाँ चार वर्षको उमेरमै हार्मोनियममा हरेराम बजाउनुहुन्थ्यो रे ! 

अढाइ/तीन वर्षको उमेरमा बुबाले किनिदिएको सानो मादल बजाउँदै हिँड्नुहुन्थ्यो उहाँ । ‘रहरले बजारको टुप्पोमा पुग्यो अनि बजाउँदै फर्कियो’, उहाँ भन्नुहुन्छ । 

५ वर्ष ५ महिनाको उमेरमा उहाँ जिल्लाव्यापी संगीत तथा साहित्य गोष्ठीमा गायनतर्फ प्रथम हुनुभएको थियो । उक्त गीत उहाँका बुबाले रचना गर्नुभएको थियो भने संगीत पनि बुबाकै थियो । 

उहाँ पनि बुबा जस्तै प्रतिभाशाली । कुनै पनि प्रतियोगितामा भाग लिएपछि पुरस्कृत भइहाल्ने । नृत्य, वाद्यवादन जस्तै दौडमा पनि उहाँ प्रथम हुनुभएको छ ।  उहाँसँग अहिलेका डेढ सय अनि त्यस बेलाका डेढ सय गरी करिब ३०० जति त मेडलहरू थिए । तर, पहिलेका भने धेरै हराए ।

उहाँले त्यसबेला आफैँ मादल बजाएर गीत गाउनुभएको थियो । कार्यक्रम त्यसबेला डा. दयाराम श्रेष्ठको संयोजकत्वमा भएको उहाँ बताउनुहुन्छ । 

नृत्यमा दोस्रो

उहाँ ७ कक्षामा हुँदा राष्ट्रिय नृत्य तथा वाद्यवादन प्रतियोगितामा भाग लिन काठमाडौं आउनुभएको थियो । 

उहाँहरूले पूर्वाञ्चलबाट धिमाल नाच नाच्नुभएको थियो । उहाँहरूको नृत्य दोस्रो भएको थियो । 

मोमिलाले त्यसबेला वाद्यवादनमा पनि भाग लिनुभएको थियो । हार्मोनियम थियो उहाँको रोजाइ । पहिलो, दोस्रो के हुनुभएको हो, उहाँले भुल्नुभएछ । 

तर, मान्छेहरूले बोकेर, गाला चिमोटर, गाला रातो भएर रगत चुहिएला जस्तो भएको भने सम्झना छ उहाँलाई । 

इर्ष्याको पात्र

मोमिला सानैमा पनि साथीहरूको इर्ष्याको पात्र हुनुहुन्थ्यो । यो उहाँ करिब १० वर्ष हुँदाको कुरा हो । 

मोमिलाका एक हुल साथीहरूले टोलटोलबीच हुने नृत्यका लागि लुगा नदिएको भनेर मन्दिरभित्र लगेर कपाल समातेर टाउको ठोक्काएर रगतपच्छे बनाइदिए ।

उहाँ सानैदेखि घरको जिम्मेवारी सम्हाल्न सक्नुहुन्थ्यो । आमा जाडोमा तराई गएका बेला पनि उहाँले घरको जिम्मेवारी सम्हाल्ने गर्नुहुन्थ्यो । 

घर लिपपोत, बाख्रालाई घाँस काट्ने, पानी ल्याउने अनि खाना पकाउने आदि घरका सबै जिम्मेवारी सम्हाल्न घरको साँचो आमाले उहाँलाई छाड्नुहुन्थ्यो । 

सानामा अलिअलि गुडिया खेलेको सम्झनाबाहेक अरू खेल खेलेको याद छैन उहाँलाई ।

प्रारम्भिक शिक्षा

उहाँ ४ वर्षदेखि स्कुल जान थाल्नुभएको हो । स्कुल एउटा ठूलो हलमा थियो अनि कुनै कक्षा कोठा बारिएको थिएन । 

एक कक्षा, एक ठाउँमा, दोस्रो कक्षा अर्को ठाउँमा गरी ४ कक्षासम्म एउटै हलमा । अनि, एउटाले हल्ला गर्‍यो भने सबै कक्षामा अवरोध हुन्थ्यो । 

बस्नलाई डेस्क-बेञ्च थिए । तर, बाहिर चौरमा पढ्न जानुपर्‍यो भने कालो पाटी २ जनाले समात्नुपर्थ्याे। 

धनकुटा शिक्षाका हिसाबले सुगम भएको हुनाले पनि कक्षामा विद्यार्थीको उपस्थिति राम्रै थियो । एउटा कक्षामा २५-३० जनासम्म हुन्थे । महिलाहरूको संख्या भने ५-६ जना हुन्थ्यो । 

उहाँ उमेर तथा उचाइमा अरूभन्दा सानी भएकाले पहिलो बेञ्चमा बस्नुहुन्थ्यो । पढाइमा पनि उहाँ पहिलो नै हो । 

मोमिला ७  कक्षापछि पढ्न जानुभयो गोकुण्डेश्वर माविमा । पहिले काठमाडौंमा नृत्य तथा वाद्यवादनमा भाग लिन आउँदा लेखिएको ठेगानाका कारण ९-१० कक्षातिर चिठी प्रशस्त आएका बताउनुहुन्छ उहाँ । 

मोमिला रूपमा सुन्दर । राम्री भएपछि केटाहरूले यसो हेर्ने गरे पनि प्रेम प्रस्ताव राख्ने आँट भने कसैले गर्न नसकेको उहाँ सुनाउनुहुन्छ । ‘लुकिछिपी यसो किताबमा चिठी राख्नेसम्म गर्थे’, मोमिला भन्नुहुन्छ । 

तर, उहाँलाई यस्ता कुरा मन नपर्ने । पढ्नुपर्छ भन्ने मान्यताले पनि यस्ता कुरामा लाग्नबाट जोगाइरेको बताउनुहुन्छ मोमिला । 

उहाँ त्यसबेला अलिक कम बोल्ने र शान्त स्वभावकी हुनुहुन्थ्यो । आफ्ना कारणले कसैले दुःख नपाओस भन्ने थियो उहाँमा । त्यस कारण यस्ता कुरामा कसैसँग गएर झगडा गरिहाल्ने भन्ने लागेन रे !

एसएलसीमा फर्स्ट  डिभिजन

उहाँले २०३९ सालमा एसएलसी दिनुभएको हो । करिब सय जनाले दिएका थिए एसएलसी उहाँको ब्याचमा । त्यसमध्ये १२ जना पास भएका थिए । 

उहाँको मात्र फर्स्ट डिभिजन आएको थियो त्यसबेला । २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि २०३९ सालसम्म जिल्लामा पहिलो पल्ट महिलाको फर्स्ट डिभिजन आएको भन्ने सुन्नुभएको थियो उहाँले । 

त्यसपछि उहाँ हात्तिसार क्याम्पस धरानमा आउनुभयो पढ्नका लागि । कलेज टप गरेका खण्डमा सोझै डाक्टर पढ्न त्यस बेलाको सोभियत संघ जान पाइन्थ्यो । 

नेपाली माध्यमबाट पढेको हुनाले उहाँलाई साइन्स पढ्न गाह्रो भयो । तर, उहाँले मिहिनेत भने एकदमै गर्नुभयो । 

त्यसबेला भने उहाँलाई केटाहरूले साह्रै दुःख दिए रे ! क्याम्पससम्म आउँदा कपाल तान्ने अनि हातै समातेर तानेर पनि जिस्क्याउँथे रे ! 

उहाँले पहिलो वर्ष पनि पूरा गर्न पाउनुभएन । घर जाँदा बुबालाई क्यान्सर भएको नराम्रो खबर सुन्नुपर्‍यो । 

हुनत उहाँले विजयपुरमा डेरा पनि हेरिसक्नुभएको थियो पढ्न । तर, बुबाले नजाऊ भनेका कारण उहाँ जानुभएन पढ्न । अर्को कुरा, केटाहरूले दुःख देलान् भन्ने पनि डर रहेछ उहाँलाई । त्यसैले बुबाले नजाऊ भनेको पनि ठीकै लाग्यो भन्नुहुन्छ उहाँ । 

उहाँ जान्ने भन्दा पनि मिहिनेती धेरै भन्नुहुन्छ उहाँ । जे पनि एकैछिनमा खरर कण्ठ गर्न सक्ने उहाँको खुबी थियो । 

बुबा बिरामी भएपछि रातभरि कुर्नुपर्ने हुँदा उहाँ बिहानको क्याम्पस त्यति जान पाउनुभएन । 

तर, त्यस बेला आईए एकै पटकमा पास हुने २ जनामध्ये उहाँ एक जना हुनुहुन्थ्यो, त्यो पनि महिला । 

बुबाको देहान्तपछि भने उहाँको स्नातकको पढाइमा पनि असर पर्‍यो । सबैभन्दा माया गर्ने मानिस, त्यसमाथि प्रतिभाशाली अनि खुला र उदार सोचको । 

आमा ‘कपाल बाँध’ भनेर कराउनुहुन्थ्यो भने बुबा कपाल छोडिन भनेर । त्यस्तो आधुनिक सोच थियो उहाँका बुबाको । 

उहाँ पनि बुबा जस्तै प्रतिभाशाली । कुनै पनि प्रतियोगितामा भाग लिएपछि पुरस्कृत भइहाल्ने । नृत्य, वाद्यवादन जस्तै दौडमा पनि उहाँ प्रथम हुनुभएको छ । 

उहाँसँग अहिलेका डेढ सय अनि त्यस बेलाका डेढ सय गरी करिब ३०० जति त मेडलहरू थिए । तर, पहिलेका भने धेरै हराए । 

स्नातकमा उहाँले राम्रो गर्न नसके पनि पास भने एकै पटकमा गर्नुभएको हो । उहाँले स्नातकोत्तर भने २०४९ सालमा विराटनगरबाट गर्नुभएको हो । 

काठमाडौंको यात्रा

उहाँ २०२९ सालमा ५ वर्षको उमेरमा पहिलो पटक काठमाडौँ आउनुभएको हो । दिल्ली जानका लागि भनेर दिदीले लिएर आउनुभएको हो उहाँलाई । 

राम मानन्धर र सुलोचना मानन्धरको घरमा बस्नुभएको थियो उहाँ । त्रिविको ग्रामीण विकासअन्तर्गत पढाउन गएका कारण उहाँहरूसँग चिनजान भएको रहेछ त्यसबेला । 

तर, बिरामी भएका कारण दिदीले त्यहाँ छाड्नुभएको रहेछ । सानी ५ वर्षकी बच्ची रोएर हैरान । मानन्धर दम्पत्तीले भने फकाउन केके कुरा दिनुहुन्थ्यो । त्यस बेला चिनीको घोडा कुकुर पनि पाइन्थ्यो रे !  

उहाँहरूले खानका लागि घोडा दिनुभयो । यो त खान हुँदैन भनेको याद रहेछ उहाँलाई । 

त्यसपछि उहाँ ९ वर्षको उमेरमा काठमाडौं आउनुभयो । धनकुटाबाट उहाँलाई डोकोमा बोकेर धरान ल्याइएको धमिलो याद छ । धरानबाट गाडीमा काठमाडौं । उहाँकी माहिली दिदी, कान्छा दाजु र उहाँ काठमाडौं आउनुभएको थियो काठमाडौं । 

दिदी स्काउटमा काम गर्नुहुन्थ्यो । उहाँहरूलाई रानीपोखरीको चौरमा सुन्तला र बदाम राखिदिएर उहाँ भने लैनचौर अफिसमा जानुहुन्थ्यो ।

अनि त्यस बेला रानीपोखरीमा मान्छे धेरै जम्मा भएको याद रहेछ उहाँलाई । के रहेछ भन्दै हेर्दा एक जनाभन्दा भन्दै ३-३ जना डुबेको मान्छे झिकिएको याद छ उहाँलाई ।

रत्नपार्कमा एक जना सेतै कपाल फुलेको मान्छे माग्न आए । उहाँलाई ती मान्छे उहाँको बुबा जस्तै लाग्यो । कसैले पनि पैसा ती वृद्धलाई दिएको उहाँलाई याद छैन । 

मोमिलासँग त्यस बेला पित्तलको १० पैसा र आल्मुनियमको ५ पैसा थिए । उहाँले दानी भएर ५ पैसा दिनुभयो । उहाँलाई लाग्यो, ‘दानी भनेको त म पनि लोभी रहेछु । १० पैसा नदिएर ५ पैसा पो दिएँ त !’

त्यो सम्झेर पछि उहाँलाई घर फर्केर पनि दुःख लाग्यो । आखिर मान्छेले किन मान्छेलाई माया नगर्ने रहेछ भन्ने पनि लाग्यो । 

त्यसबेला उहाँले सचेत रूपमा पहिलो पटक ‘एक दुखी’ शीर्षकको कविता लेख्नुभयो । यो २०३३ सालको कुरा हो । त्यो कविता उहाँलाई अहिलेसम्म पनि याद छ । 

त्यो कविता धनकुटामा भएको जिल्लाव्यापी कविता प्रतियोगितामा प्रथम पनि भएको थियो । 

पहिलो जागिर

उहाँ त्यस बेला काठमाडौंमा नै बस्नुहुन्थ्यो । तर, पैसाको नाममा एक सुका पनि थिएन । उहाँले खाने त्यस बेलाको खाना भनेको मुसुरोको दाल, बन्दाको तरकारी र गोलभेँडाको अचार थियो, जुन सबैभन्दा सस्तो पनि थियो । 

जिन्दगी यसरी नचल्ने भयो भनेर उहाँ यही खाना खाएर लिटिल एन्जेल्स स्कुलमा जाँच दिनका लागि हिँडनुभयो । 

त्यस दिन एक जना मोमिलाको घरमा खाना खान आउनुभएको थियो । मोमिला ‘काम छ’ भनेर खाना खाएर हिँड्नुभयो । 

उहाँले आफूसँग भएको एउटा सिक्री पसलमा दिएर एउटा चाउचाउ खान राखिदिएर हिँड्नुभयो लैनचउरबाट जाउलाखेल । स्कुल नदेखेर खोज्नुपर्दा पैसा नभएर हिँडेर आउनुपरेका कारण एक घण्टा ढिलो भयो । 

ढिलो भएका कारण उहाँलाई जाँच दिन नदिने भनियो । उहाँका आँखाबाट त्यतिकै अश्रुधारा बगे । अनि प्रिन्सिपल उमेश श्रेष्ठकहाँ लिएर गइयो उहाँलाई । 

उमेशले ‘यस्तो कुरोमा पनि रुने ?’ भनेर सम्झाउनुभयो र जाँच दिने प्रबन्ध मिलाउनुभयो । 

जाँच दिन बस्दा त अघि आफ्नो घरमा ‘काम छ’ भनेर भात खाएर हिँडेका पुरुष त उहाँभन्दा अगाडि रहेछन् ! 

छ जनाको नाम निस्किएकामा उहाँको पहिलो नम्बरमा निस्कियो । त्यो नै उहाँको पहिलो जागिर थियो । 

तलब थियो ३ हजार १०० रुपैयाँ । त्यो भनेको लेक्चररको भन्दा राम्रो थियो त्यसबेला । 

त्यसबेला त्रिविको लेक्चररको २ हजार ९०० रुपैयाँ थियो । थप पढाएबापत उहाँले त्यस बेला ५ हजार रुपैयाँ थाप्नुभएको थियो सबै गरेर । 

सुत्ने खाट थिएन, पहिलो तलबले उहाँले खाट किन्नुभयो । सानो छोराले आमासँग केके माग्छ, त्यो दिन नसकेको पीडा त छँदै थियो । 

तर, त्यस दिन भने तलब लिएर फर्कंदा उहाँले एक किलो मासु किनेर लिएर जानुभयो । बाथरुमलाई बारेर बनाइएको एउटा सानो कोठामा स्टोभमा उक्त मासु पकाउनुभयो ।

सबैभन्दा रमाइलो कुरा भनेको उहाँले त्यस दिन मासुबाहेक केही पकाउनुभएन । 

आमा-छोरा एक शब्द पनि नबोली कपाकप त्यो मासु खाँदै बस्नुभयो । मासु नसकिउन्जेल आमा-छोराको एक शब्द पनि निस्किएन । उहाँले दुःखका दिन यसरी स्मरण गर्नुभयो ।

उहाँले स्कुलमा करिब एक वर्ष पढाउनुभयो । त्यसपछि काठमाडौं विश्वविद्यालय जानुभयो पढाउन । काठमाडौं विश्वविद्यालयमा १० वर्ष पढाउनुभयो । 

साहित्यतर्फ

२०३३ सालमा सचेत रूपमा लेखे पनि त्यसपछि उहाँको कलम केही समय रोकियो । २०४० सालमा सिसासको गोष्ठी भएको थियो धनकुटामा । 

तुलसी दिवस, मदनमणि दीक्षित, विजय वजिमय, कुन्ता शर्मा आदि उपस्थित हुनुहुन्थ्यो । 

त्यस बेला उहाँले कविता वाचन गर्नुभएको थियो । उहाँको कविताको मदनमणि दीक्षितले अत्यन्तै प्रशंसासमेत गर्नुभएको थियो रे ! 

त्यस बेलाको ‘समीक्षा’ पत्रिकामा दीक्षितले आधा पेज उहाँका बारेमा लेख्नुभएको पनि सम्झना गर्नुहुन्छ मोमिला ।

साहित्यिक कृति 

उहाँको लेखनयात्रा २०३३ सालमा ९ वर्षको उमेरमा कविताबाट भएको हो । पहिलो प्रकाशन भने २०४४ सालमा ‘रूपरेखा’ पत्रिकामा ‘पेसा’ शीर्षकको कविता थियो ।

उहाँको पहिलो कृति ‘पैयुँ फुल्न थालेपछि’ कवितासंग्रह हो, जुन २०५२ सालमा प्रकाशन भएको थियो । त्यसपछि ‘नीलो-नीलो आकाश र दुई थोपा आँसु’ निबन्ध-कवितासंग्रह, २०५३, ‘जूनकीरीहरू ओर्लिरहेछन्’ कवितासंग्रह, २०५५, ‘दुर्गम उचाइमा फूलको आँधी’ कवितासंग्रह, २०६०, ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ निबन्धसंग्रह, २०६३, ‘भीमसेन थापाको सुसाइड नोट’ कवितासंग्रह, २०७० छन् । उहाँले ‘सगरमाथाको नृत्यमग्न आत्मा’ प्रतिनिधि आधुनिक नेपाली कवितालगायत दर्जनजति संयुक्त कृतिको सम्पादन गर्नुभएको छ ।

साहित्य लेखनकै क्रममा उहाँले केही देशहरूको भ्रमणसमेत गर्नुभएको छ भने मोमिलाले प्रज्ञा पदक (राष्ट्रिय कविता महोत्सव,  २०५५, शताब्दी युवा सम्मान, २०५७, युवा वर्ष मोती पुरस्कार, २०६३, राष्ट्रिय प्रतिभा पुरस्कार (पूर्वाञ्चल,  २०६८), अन्तर्राष्ट्रिय साहित्य गौरव (२०७१, भारत), शंकर लामिछाने युवा निबन्ध पुरस्कार, २०७५ लगायत दर्जनौँ सम्मान र पुरस्कार प्राप्त गर्नुभएको छ ।