साङ्लाहरूको पार्टी पनि फुटेछ

धेरै महिनाको लकडाउनपश्चात् देशका अधिकांश कुराहरू खुल्दै गए । कोरोनाको महामारी पनि घट्दै गयो । आफ्नो जन्मथलो छाडेर कर्मथलो काठमाडौंतिर लागेँ म पनि । 

नयाँ प्रविधिको अनलाइन कक्षाको सट्टामा पुरानै पाराको भौतिक कक्षा पढाउनुपर्ने भयो अब । आफूले बस्न नपाए पनि भाडा बढ्दै गरेको डेरा छँदै थियो काठमाडौंमा । भाडा थपिँदै गए पनि पानी, बत्ती, नेट, टीभी, फोहोर जस्ता खुजुरे शीर्षकको पैसा तिर्नु नपरेकामा म खुसी थिएँ । यी शीर्षकमा खाने नाफा हराएकामा सायद घरभेटी दुःखी थिए । 

कस्तो भयो होला काठमाडौं ? कस्ता भए होलान् साथीभाइ ? कस्तो भयो होला डेरा ? कसरी हिँड्ने मास्क लगाएर दिनभर ? मनमा अनेक जिज्ञासा भरिएर आएका थिए ।

बिहान १० बजेको जहाजबाट काठमाडौं ओर्लिएँ । विमानस्थलदेखि नै अनौठो लागिरहेको थियो मलाई । मोबाइलको डाटा खोलेर पठाओको एपबाट एउटा बाइक मगाएँ । एक जना भक्तपुरे ठिटाले छिट्टै म बस्ने घरको आँगन अगाडि बाइक रोके । गेटबाट भित्र हेरेको, घरभेटी दिदी मेरो कोठाको झ्यालमा इस्कुस टिप्दै थिइन् । झ्यालमा इस्कुस ? म अचम्ममा परेँ । केही नबोली भित्र पसेँ । 

‘भाइ आइपुग्नुभयो ?’, आइपुगेको देखीदेखी दिदीले बोल्ने निहुँका लागि प्रश्न गरिन् । सायद बल्ल त्यहाँ पुगेको मलाई उनले पैसाको बिटो देखिन् ।
‘हजुर दिदी ! आइपुगेँ’, मैले कृत्रिम मुस्कानका साथ उत्तर दिएँ ।

५–६ महिनादेखि भाडा तिर्न बाँकी भएकाले उनलाई देख्दा मेरो ओठको प्राकृतिक मुस्कान हराइसकेको थियो । तर, अलिकति उनको ओठमा डेरा सरिरहेको थियो ।

ढोकाको चाबी खोल्न झोलाबाट साँचो निकालेँ । ढोका उघार्न खोज्दा भित्रबाट अनौठो गन्ध आइरहेको थियो । पहिला त्यसरी नगह्नाएकाले केको गन्ध हो, चिन्न सकिनँ । कुन साँचो हो भनेर एकछिन आफैँ अलमलमा परेँ । साँचो चिनेजस्तै गरेर उघार्न खोजेँ । उघ्रिएन । साँचो फेरेँ । फेरि उघ्रिएन । नउघारेको धेरै दिन भएकाले होला, बल्लतल्ल उघ्रियो ।

भित्र पस्दा अँध्यारो थियो । त्यही बेला बत्ती गएकाले बिजुली बाल्न पाइनँ । मोबाइलको बत्ती बालेर हेरेको, झ्यालभरि इस्कुसका लहराले ढाकिसकेको रहेछ । मैले चैतमा किनेर ल्याएको इस्कुस क्या मजाले झाँङ्गिएछ । बारीमा रोपेको भए पड्के त्यसरी के आउँथ्यो !

कति बजे आइपुगेछु भनेर यसो बैठक कोठाको घडी हेरेँ । १२ बजिरहेको रहेछ । नचल्ने भएर बसेको त्यो घडीले मान्छेको अवस्था बोलिरहेको थियो । भित्रको अर्को घडी हेरेँ । सेकेन्ड सुई अघि–पछि गरिरहेको थियो– ठ्याक्कै मेरो वर्गको प्रगति जस्तै । अलिकति अगाडि बढ्यो, फेरि पछाडि सर्‍यो ।

अर्को कोठाको कुनाबाट च्युच्यु आवाज आयो । यसो त्यतापट्टि हेरेको कुखुराका चल्ला माउसँग ओथारामा बसिरहेका थिए । कहाँबाट आए यी कुखुरा ? भनेर एकछिन सोचेँ । घर जानुभन्दा पहिला किनेर ल्याएका लोेकल कुखुराका केही अन्डा फ्रिजका टाउकामा छाडेको थिएँ । ती अन्डाबाट निस्केका कुखुराले चल्ला पारेछन् । मैले उता घरको बसाइमा पालेका कुखुरा, हाँस, बट्टाई, तित्रा बरु यति राम्रो सप्रेका थिएनन् । यता, मानिसको हाते बिष नलागेर होला क्या, गज्जबका भएछन् । के खाएर हुर्किए भनेर यताउता हेरेँ । चामल राखेको बट्टा, दाल र गेडागुडीका बट्टा सबै उघारै पो रहेछन् !

गिलासमा अलिकति पानी राखेर छाडेको धनियाँ पनि मजाले झाँङ्गिएछ । आलुका बोट पनि लाम लामा भएछन् । घाम छिर्ने झ्यालको पाटो इस्कुसले छोपेर होला, अरू वनस्पति पहेँला पहेँला देखेँ । 

एक हुल साङ्ला खाटमा कुदिरहेका थिए । अर्का हुल साङ्ला टेबलमा । तिनीहरूको पनि पार्टी फुटेछ । पूरा साम्राज्य उनीहरूकै भएछ । कोही मूल पार्टीमै थिए । कोही समाजवादी भइसकेछन् । एउटा हुलमा बूढा र पुरानाझैँ लाग्ने साङ्ला भएकाले मैले त्यसलाई मूल पार्टी होला भन्ने ठानेँ । यसरी बन्द गरेको कोठामा कहाँबाट यी साङ्लाले राजनीति बुझे, म अचम्ममा परेँ । 

अचानक रेडियो र टीभी बजे । हिँड्ने बेलामा बत्ती निभाउन नबिर्से पनि रेडियो र टीभी बन्द गर्न बिर्सिएको रहेछ । 

पर राखेको जारभित्र पानी आफैँ हल्लियो । नियालेर हेरेँ । माछा खेलिरहेका रहेछन् । बिर्को खोलेको भए पनि ढोका लगाएको कोठामा कहाँबाट माछा आए ? प्रश्न निकै गम्भीर भयो । जारको पानीमा माछाका अन्डा थिए होलान् । छाडेपछि त्यहीँबाट बच्चा निस्के होलान् । उत्तर सहजै पाएँ । 

माछाचाहिँ बाहिर निस्केर चर्न नमिल्ने र पानीमा चारोको व्यवस्था नभएकाले होला, त्यति सपे्रका जस्ता लागेनन् । उता, मैले पालेका माछालाई दैनिक विकासी चारो हाल्दा त ठीकै बढेका थिए भने यता केही नखाई त्यतिका हुनु स्वाभाविकै जस्तो लाग्यो । 

भुइँमा, भित्तामा, ओछ्यानमा सबैतिर तुषारो परेको रहेछ । हातले बिस्तारो छामेँ । चिसो भएन । अचम्म लाग्यो, खस्रो र न्यानो तुषारो ? अब सरकारलाई भन्छु । यो अनौठो तुषारोका बारेमा गिनिज बुकमा नाम लेखाउँछु । त्यतैबाट पैसा कमाउँछु । जागिरसागिर छाड्दिन्छु । म निकै दंग परेँ । नियालेर हेरेको, केको तुषारो हुनु ! धुलो र ढुसीले सबै ढाकेको रहेछ ।

अर्को बट्टामा चामल बन्द गरेर राखेको थिएँ । त्योचाहिँ राम्रै होला भनेर बिर्को खोलेँ । अलिकति चामल हातमा झिकेर हेरेँ । आधा कालो, आधा सेतो । झापाबाट ल्याएको कालो बास्मती मिसाएको रहेछ कि क्या हो ? अझै नियालेर हेरेँ । केको त्यस्तो हुनु ! आधासरो घुन परेर कालो भएको रहेछ । हे भगवान् ! यो पनि काम नलाग्ने भएछ । 

धारो खोलेँ । पानी धमिलो आयो । मेलम्चीको अस्तिको बाढी मिसिएको ठानेँ ।

छोरीको साइकलको चक्का पन्चर भएर डोरी जस्तो भएको, गोलहरू चाउरिएर किसमिस भएका, भाँडाकुँडामा हरियो रङ पलाएर वातावरणमैत्री भएका, किताबबाट ज्ञानको सुगन्ध आएको, भित्तामा माउसुली स्वतन्त्र रूपमा जुलुस गर्दै गरेका, ढोकामा कमिला धर्ना बसेका, बाथरुममा राखेको ब्रसमा साङ्लाले मुख दल्दै गरेका, बट्टाका अचार सेता र सुकिला भएका, गेडागुडी आफैँ दाल भएको, दाल आफैँ पिठो भएको दृश्यले निकै रमाइलो बनायो । 

‘मकै पिस्दा घुन पिसिन्छ’ भन्थे बूढापाका, घुन मिसिँदा मकै आफैँ पिसिँदो रहेछ अचेल । कोरोनाका बारेमा सबै किरा अनभिज्ञ रहेछन् क्यारे ! मास्कचाहिँ कसैले लगाएका थिएनन् । टेबलमा केही थान पुराना मास्क छाडेको रहेछु । उचालेर हेरेको, २–४ वटा साङ्ला त्यसैभित्र रहेछन् । सायद कसरी लाउने भन्ने तरिका थाहा नपाउँदा भित्रै अल्मलिएका हुनुपर्छ । केही कमिला सस्यानिटाइजर दल्न नजान्दा बट्टाभित्रै डुबेर मरेछन् । तिनको पनि निकै माया लागेर आयो ।

ओहो ! बाइक पो कुद्छ कि कुद्दैन ? पुरानो बाइक अर्थात् गहिरो माया । ओर्लिएर पहिले बाइक छोपेको कपडा झिक्न खोजेँ । जति समायो, त्यति मात्र आयो । कस्तो नमज्जाले मक्काएछ । नमक्काओस् पनि कसरी ? यत्रो झरी–बादल खेपेको कपडा ! बल्लबल्ल टालाटुली बटुलेर फालेँ । 

बाइकलाई ढोगेँ अनि लात्तले हानेँ । अहँ, कराउँदै कराउँदैन । औँलाले थिचेँ, चोक तानेँ, यताउता हल्लाएँ । कसै गरे स्टार्ट भएन । ट्यांकीको बिर्को खोलेर हल्लाएँ । पेट्रोल उडिसकेछ । सानोमा सरले ‘पानी सुकेपछि बादल बन्छ’ भन्नुभएको सम्झेँ । सरले त भन्नुभएको थियो, त्यही बादल कतै गएर वर्षात् बन्छ । 

मेरो पेट्रोल सुकेर बादल बनेर कहाँ गयो होला ? मन चिसो भएर आयो । कहाँ वर्षात् बनेर झर्‍यो ? त्यहाँका मानिसले चिनेर बाल्टीमा थापे कि थापेनन् ? आङै सिरिङ्ग भएर आयो । बाइक नबोलेपछि त्यतिकै छाडेर माथि गएँ ।

डेराको अवस्था पूरै परिवर्तन छ । परिवर्तन हुन कतिबेर लाग्दोरहेछ र ! ५–६ महिनामा पनि यस्तो परिवर्तन हुन सक्दोरहेछ । देशको अवस्था, व्यवस्था, मानिसको विचार यसरी परिवर्तन भए कस्तो हुन्थ्यो होला ? मन बहकिन थाल्यो । जसोतसो सम्हालेर डेरामा नै केन्द्रित गरेँ मोरो मनलाई ।

हेइन, मेरो मात्र डेराको यस्तो हाल हो कि अरूको पनि यस्तै हुन्छ ? मनैदेखि जान्ने उत्सुकता जागेर आयो । अब यी सबै कुराको फोटो खिच्छु र फेसबुकमा हाल्छु । आहा ! क्या लाइक आउँछ होला ? कति कमेन्ट र शेयर हुन्छन् होला ? अब रातारात भाइरल बन्छु । मलाई कति सय मानिसले चिन्नेछन् अब । युट्युबभरि मेरो अन्तर्वार्ता आउँछ । फेसबुकमा पनि रिक्वेस्ट आउनेछन् । ५०० जना साथी नकटेको मेरो फेसबुकमा अब ५ हजार साथी हुनेछन् । मनभरि खुसी भरिएर आयो ।

सबै फोटो खिचेर फेसबुकमा पोस्ट गरेँ । पोस्ट नै हुँदैन त ! यस्तै बेलामा नेटले धोका दिनुपरेको ! नेपालको नेटको के भर छ र ! कसै गरे पोस्ट हुँदैन । ए, नेटको पैसा नतिरेको त ५ महिना पो भइसक्यो त ! बल्ल सुद्धि आयो । 

‘बाबा ! बाबा !! ए बाबा !!! उठ्नुपर्दैन ? कतिबेर सुतेको ?’, छोरीले झुलबाहिरबाट कराई ।

झल्यास्स बिउँझेँ । घाम निकै माथि आइसकेका रहेछन् । 

‘आज तपाईं काटमाडु जाने भनेको होइन ? पिलेनमा जाने भनेको होइन कि हो ?’, छोरीले सम्झाई ।

ओहो ! कस्तो सपना देखेछु । अब हतार हतार तयारी नगरे जहाज पो छुट्न सक्छ । भएसम्मको सस्तो टिकट गरेको छ । सार्न पनि मिल्दैन ।