महर्षि पहाड अर्थात् युगपुरुष

महर्षि पहाड अर्थात् युगपुरुष

सुमन थापा संगम  |  साहित्य  |  आश्विन २, २०७८

विश्वस्त छ
एउटा आदिम पहाड ।

पहाडकै फेदी भएर 
युगौँदेखि बगिरहेका छन् 
युगीन नदी मेची–महाकाली 
स्वाभिमान अग्लिरहेका छन् 
माछापुच्छ्रे र अन्नपूर्ण
फैलिरहेछ तराई अनन्त फैलावटमा
निलाम्य छ विराट आकाश
र गन्तव्यका प्रत्येक पाइलामा
युग पुरुषसँगसँगै हिँडिरहेको छ
बिहानीको घाम ।

यी सबैको साक्षी बनेर उभिएको छ
अटलताको विम्ब महर्षि पहाड ।

उसका आँखाहरूले सधैँ देखिरहेका छन्
महर्षि पहाड अर्थात् युगपुरुष
र लेखिएको छ आवरणसँगै
भित्री हृदयमा अजम्बरी नाम ।

यद्यपि–
मानव जीवनका प्रत्येक पृष्ठमा इतिहासले
एउटा सिङ्गो युग निर्माण गरेको हुन्छ 
अनि युगबोध गराउने 
पाठ्यपुस्तकका ऋचाहरू
फक्रिरहेका हुन्छन्
हावाको वेग 
आँधीसँगको चट्याङ
महासागरका आकाश छुने छाल 
सबै–सबैलाई थाँती लगाए झैँ 
सारा जीवन खर्चेर
अनवरत कलमको गर्भाशयबाट 
जन्मिएका हुन् महर्षि पहाड अर्थात् युगपुरुष ।

अक्षरहरू जीवनका गोरेटा हुन्
शब्दहरू आयुका पिरामिड हुन् 
सुख–दुःखका गाढा रङगहरू 
सिर्जनाका उत्कृष्ट फूलहरू झैँ देख्छु 
र भेट्छु—
सुनौला बिहानीहरूले 
खोपेर गएका समयको भित्तामा 
एउटा अजम्बरी नाम 
महर्षि पहाड अर्थात् युगपुरुष ।

मलाई- 
आदिम पहाड र युगपुरुष 
उस्तै–उस्तै लाग्छ ।