बाटुलीको तीज

बाटुलीको तीज

इन्द्र थेगिम  |  साहित्य  |  आश्विन २, २०७८

एक झपक्क आँखाको मेख मारिसकेपछि जुरुक्क उठी ’बाटुली’, छेवैमा उनको लोग्ने मस्त घुरिरहेको थियो । गर्मीले हप हप बाफिएको बेला ओढेको मजेत्रो कुनातिर हत्याउँदै उठेर बत्ती बाली । भर्खर ३ मात्र बजेको रहेछ, पानी प्यास मेट्न एक अम्खोरा पानी घटघट पारेर फेरि सुत्न पल्टी ।

मन एक तमासले तुलबुल तुलबुल भइरहेछ । आज त दर खाने दिन हो । बाटुलीलाई यस्तो बेलामा निद्रा लागे त मर्नु ! उज्यालो हुन अझै पौने दुई घण्टा बाँकी नै छ । बिना बित्थाको खोकी लागेर आउँछ, सासू ससुराले सुन्छन् भनेर सारीको सप्को मुखमा कोचार्छे र आँखामा आँसु आउन्जेल खोक्छे ।

तीजको रमझम छ गाउँमा । चमेली, जुनेली, डल्ली सबै सबै मङ्गलवारे हटिया गएर चुरा पोते टिका गहना किनी ल्याएछन् । हिजो डल्लीको चुरा पोते र टीका लाएर ऐना अघिल्तिर उभिइँदा बाटुली आफैलाई कस्ती राम्री देखिए झैँ लाग्यो । कुरा सम्झिएर एक्लै लजाई । लोग्नेलाई एक नजर फ्याँकी ।

भित्तामा एकै ठाउँमा झुन्डिएको उनको ’सुब्बा’ को जागिर खाने दौरा सुरुवाल खुइलिँदै गरेको देखी । पोहोर साल मात्र सिलाएको हो हुन त कति छिटै रङ्ग गएछ भन्दा पनि दिनहुँ त्यै एक फेरो लुगा ले कति थामोस् पनि  । दुई देवर र दुई नन्दहरू को पढाई खर्च सँगै आमा बुवा पाल्ने जिम्मा लिएका छन्  उनका सुब्बा साबले ।

बल्ल बल्ल खेतबारी छेउमा बनाएको कच्ची घर पनि यसपालिको बाढीले खत्तमै गर्‍यो । अब सञ्चय कोष निकालेर भए पनि एक तले पक्की घर बनाउने सपना छ उनको लोग्नेको । सासू बुढी ढोकाको आग्लो खोलेर  खाक खाक खुक खुक गर्दै खरेटो लगाउन थालेपछि बाटुली झल्याँस्स भई ।  जुरुक्क उठी र भान्सा तिर लागि ।  दाउरा काँचै परेछ, कुद्देर बाहिर सुकाई राखेको गुइँठो एक अँगालो लिएर चुल्होमा घसेटी । शोथेले फु फु फुक्दै भए पनि आगो बालीकन छाडी ।

आज बाटुलीको माइतबाट ठुलदाजै  लिन आउन पर्ने दिन हो । खुसीले फुरुङ्ग हुँदै फिका चिया सँग भुटेको मकै खाजा तयार पारी । भान्सा को लागी पनि तम्तयार छिट्टै गरिन् ।  दाजु त आफ्नै परे तर यस्तो लुम्रे झुम्रे लुगामा माइत जाँदा भाउजू ले के भन्लिन् ? एउटा गतिलो सारी चोला त परै जाओस् हातका चुरा र पोते पनि फेर्न पाइएको छैन । किनी मागूँ त घरको दुःख जानी देखि के लोग्नेलाई घुर्की लाउनु ? होस् अब पोहोर लाएको सारी छंदैछ त्यै लगाएर जान्छु भन्दै घुरेन बारीमा पाकेको दुई काइँयो केरा र एक माना घ्यू सासू आमा लाई सोधेर कोसेली भारी लगाई । भान्सा चाँडै सकिएर जुठेल्नु मा भाँडाकुँडा पखाल्दै गर्दा,  ओइ बाटुली ! हैन कति छिटो भान्सा हो तिमिरको ? भनेर ठुला दाजेले बैनीलाई माया जतायो । बाटुलीले ढोग गरी दाजुलाई र हठात् हात धोएर भित्र लगी । ठुलदाजैले कोसेली सँगै एउटा पोका भाउजू ले तँलाई पठाई दिएको भनेर दियो ।

मनमा लड्डु फुट्यो बाटुलीको तीजको दर खाने बेलामा । ज्वाइँ,जेठान, ससुरा बा भलाकुसारी गरिरहेको मौका छोपेर अत्तालिँदै बाटुली सुत्नेको ठामा छिरिन् । भाउजूले सानो चिट मा दुई शब्द पनि लेखेकी रहिछन् ।

'नानी लाई मन पर्ने रातो रङ्गको सारी चोला र लाछा डोरा भाउजू को सगुन मानेर लाउनुहोला । भोलि मन्दिर जाँदा दर्शन सकेपछि बाटामा चुरी सँगै किनेर भाउजू नन्द मिलेर लगाउँला ।'

बाटुली सानैमा ठुलदाजै सँगै टुहुरी भए देखि आमाको मायाबाट वञ्चित भएकी थिइन् । भाउजूको ममतामयी मन बुझेर बाटुली आफूलाई सौभाग्यवती भएको महसुस गरी । आज बाटुलीले पहिलो पल्ट हर्षका आँसु झारिन् । भाउजूले पठाई दिएको रातो सुतीको सारी अनि लाछाले टिमिक्कै पारेर चुल्ठो बाटिन् । लोग्नेसँग अनुमति लिइन् । सासू ससुरालाई चाँडै फर्किन्छु भनेर ढोग गरिन् ।

सानोमा मिठाई खान हिँडे जसरी  फुरुङ भएर ठुल्दाजेलाई पच्छ्याउँदै लागिन माइत तिर ’तीजको दर’ खानलाई ।

 

हङकङ