उत्तर कोरियाले घातक आणविक भट्टी विस्तार गरेको प्रमाण भेटियो

उत्तर कोरियाले घातक आणविक भट्टी विस्तार गरेको प्रमाण भेटियो

न्युज कारखाना  |  विदेश  |  आश्विन ३, २०७८

उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाइट तस्बीरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले बम र अन्य घातक बिस्फोटक सामाग्री उत्पादनलाई तीब्रता दिएको विज्ञहरूले बताएका छन् । 

उत्तरले गत साता एउटा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो । ६ महिनामा पहिलो पटक गरेको सो परीक्षणपछि कोरियाली प्रायद्वीपमा तनाव छ ।  ‘आणविक भट्टीको विस्तारले योङवायोन क्षेत्रमा उत्तर कोरियाले युरेनियम प्रयोग हुने घातक हतियार विस्तार गरेको देखिन्छ’, क्यालिफोर्नियाको मिडलबरी इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका जेफ्री लिविस भन्छन् । 

म्यासर कम्पनीले उपलब्ध गराएको स्याटलाइट तस्बीरअनुसार योङवायोनमा जोडिएको एउटा क्षेत्रमा युरेनियमयुक्त भट्टी निर्माण भइरहेको छ । 

१ सेप्टेम्बरमा लिइएको उक्त तस्बीरमा उत्तर कोरियाले रूख फाँडेर भट्टी निर्माण गर्न मैदान तयार गरेको देखाएको थियो । तस्बीरमा एक्जाभेटरका तस्बीरसमेत प्रस्ट देखिएको थियो । 

त्यस्तै, १४ सेप्टेम्बरमा लिइएको दोस्रो तस्विरमा सो क्षेत्र वरपर एउटा अग्लो पर्खाल ठड्याइएको देखिन्छ । भट्टी निर्माण गर्न थालिएको नयाँ क्षेत्र एक हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।