मोफसलका ३ क्लबलाई राष्ट्रिय महिला लिगमा सिधै प्रवेश

मोफसलका ३ क्लबलाई राष्ट्रिय महिला लिगमा सिधै प्रवेश

न्युज कारखाना  |  खेलकुद  |  आश्विन ३, २०७८

अखिल नेपाल फुटबस संघ (एन्फा)ले आगामी राष्ट्रिय महिला लिगमा मोफसलका ३ वटा क्लबलाई सिधै प्रवेश दिएको छ । 

एन्फाले यस पटक आयोजना हुने राष्ट्रिय महिला लिग- २०७८ का लागि पहिलो संस्करणको मोफसलका ३ वटा क्लबलाई सिधै प्रवेश दिएको हो । 

प्रतियोगिता नियमावलीमा ३ वटा क्लबलाई सिधै राष्ट्रिय लिगमा प्रवेश दिएको छ । 

एन्फाले आयोजना गर्ने ‘उपमेयर कप- २०६८ राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता’ ४ कात्तिकदेखि सुरु हुँदै छ । राष्ट्रिय लिगको मिति भने तय गरिएको छैन । 

एन्फाले राष्ट्रिय लिगमा यसअघि ३ वटा विभागीय क्लब (त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लब)लाई सिधै प्रवेश गराएको थियो, जहाँ उपमेयर कपबाट ४ वटा टोली राष्ट्रिय लिगका लागि छनोट भएका थिए । 

एन्फाले आयोजना गरेको उपमेयर कपबाट गत सिजनमा वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डीगढी नगरपालिका उदयपुर राष्ट्रिय लिगमा छनोट भएका हुन् । 

राष्ट्रिय लिगमा खराब प्रदर्शन गरेको चौदण्डीगढीबाहेक एन्फाले अन्य ३ वटा टोलीलाई यस पटक राष्ट्रिय लिगमा सिधै प्रवेश गराएको हो ।प्रतियोगिता नियमावलीको परिच्छेद नम्बर २ को नियम (५) सहभागितामा भनिएको छ, ‘यस प्रतियोगितामा अघिल्लो वर्ष ७ माघदेखि ७ फागुनसम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको राष्ट्रिय महिला लिग- २०७७ मा सहभागी भएका ४ पालिका टिम (वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ र चन्द्रपुर नगरपालिका, रौतहट) २०७८ सालमा आयोजना हुने राष्ट्रिय महिला लिगमा सहभागिता जनाउने भएकाले यस प्रतियोगितामा सहभागिता जनाउन पाउनेछैनन् ।’

एन्फाको याे नियमवलीसँगै आगामी राष्ट्रिय महिला लिग- २०७८ मा क्लब संख्या ८ हुने भएको छ । यसअघि ७ वटा क्लब थिए । 

एन्फाले उपमेयर कपमा सहभागी क्लबले अनिवार्य खेलाडीको दुर्घटना बीमा गरेको हुनुपर्ने र कोरोना खोपको पूर्ण डोज लगाएको वा ४८ घन्टा अगाडिको आरटी वा पीसीआर गरेको रिपोर्ट पेस गर्नुपर्ने बताएको छ । 

यस्तै, एन्फाले प्रतियोगिता तयारी खर्च एक क्लबलाई ५० हजार रुपैयाँ दिने बताएको छ । उपमेयर कपको विजेताले ५ लाख, दोस्रो हुने टोलीले ३ लाख र फेयर प्ले टिमले नगद ५० हजार रुपैयाँ पाउनेछ । 

यता, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्दा एक उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ  । प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।