टोटनहम र चेल्सी भिड्दै, वेष्ट हामविरुद्ध देखिएला रोनाल्डोको जादू ?

टोटनहम र चेल्सी भिड्दै, वेष्ट हामविरुद्ध देखिएला रोनाल्डोको जादू ?

एजेन्सी  |  खेलकुद  |  आश्विन ३, २०७८

इङ्ग्लिस प्रिमियर लिगको पाँचौँ चरणमा आज टोटनहम हटस्पर र चेल्सीबीच प्रतिस्पर्धा हुँदै छ । 

आइतबार टोटनहमको मैदानमा हुने खेल नेपाली समयअनुसार सवा ९ बजे सुरु हुनेछ । प्रिमियर लिगमा टोटनहम चौथौ जीतको खोजीमा हुनेछ । यसअघि तीन जीत र एक हार बेहोरेको टोटनहम ९ अंकसहित तालिकाको सातौँ स्थानमा छ । 

यता, चेल्सी भने प्रिमियर लिगमा अपराजित रहेको छ । मुख्य स्ट्राइकर रोमेलु लुकाकुको लयसँगै चेल्सीले तीन खेलमा जीत र एक खेलमा बराबरीसहित १० अंक जोडेर चौथो स्थानमा रहेको छ । भ्रमण टोली चेल्सी टोटनहमलाई पराजित गर्दै दोस्रो स्थानमा पुग्न चाहन्छ । यता, घरेलु टोली टोटनहमसमेत जीत हासिल गर्दै कम्तीमा शीर्ष ४ मा रहन चाहन्छ । 

आजै साँझ हुने खेलमा ब्राइटनले लेस्टर सिटीको सामना गर्नेछ । घरेलु मैदान अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा हुने खेलमा जीत हासिल गर्दै ब्राइटन शीर्ष ४ मा आफ्नो स्थान बनाउन चाहन्छ । यता, लेस्टर भने खेल जित्दै अंक तालिकामा सुधार गर्न चाहन्छ । 

आइतबार नै अर्काे खेलमा वेष्ट हाम युनाइटेडले म्यानचेष्टर युनाइटेडको सामना गर्नेछ । खेल वेष्ट हामको घरेलु मैदानमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ । 

शीर्ष तीनमा रहेको युनाइटेड वेष्ट हामलाई पराजित गर्दै उपाधि होडमै रहन चाहन्छ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो, पाउल पोग्वालगायतको साथ पाएको युनाइटेड पछिल्लो युईएफए च्याम्पियन्स लिगमा योङ ब्वाईजसँग पराजित भएको थियो । 

यता, वेष्ट हामसमेत घरेलु मैदानमा युनाइटेडलाई पराजित गर्दै शीर्ष ७ भित्र आफूलाई सुरक्षित गराउन चाहन्छ ।