समाज दर्शन र मनोविज्ञान अस्तव्यस्तताको सिकार: प्रतिगामीको ऐनामा अग्रगामी अनुहार !
आश्विन ५, २०७८

मानिस एउटा खास परिवारसँग भूगोल, समुदाय, वर्ग, चालचलन, परम्परा, धर्म, रितथिति र मान्यतामा आबद्ध भएर रहेको हुन्छ। एउटा मानिसको निश्चित विचार र धारणा हुन्छ तर त्यो उसको निजी कुरा हो। जब ऊ सामाजिक जीवनमा पाइला टेक्छ तब उसलाई समाजको छाताले समेटेर आफ्नो सदस्य बनाई दिन्छ।

अनि ऊ समाजको छाता ओढेर दिनरात त्यसै समाजमा घुमी रहन्छ। समाजले ओढाई दिएको छाता उसको समाज दर्शन बन्दछ। किनकि कुनै खास दर्शन वा दृष्टिकोण बिना कसैको अस्तित्व रहँदैन।

आजका पुस्ताका मानिसहरूलाई लाग्छ कि हामी जे पढी रहेका, बुझिरहेका र भोगी रहेका छौँ, यो वर्तमानकै कुरा हो। यस्तो कुरा पहिले थिएन तर उसका सामु यो बिल्कुलै नौलो भएर आएको छ। तर यो कुरामा किञ्चित् पनि सत्यता छैन। किनकि प्राचीनकाल देखि नै मानव समाजका विभिन्न पक्षहरूको अध्ययन हुँदै आएको छ। आज जुन कुरा हाम्रो अगाडि छन् ती सबै विषयहरू प्राचीन कालका मानव पुर्खाहरूको देन हो।

प्राचीन गर्भबाट जन्मिएका र जन्मेर पनि सामाजिक उथलपुथलका कारणले हराई रहेका त्यस्ता कुराहरू परिमार्जित हुँदै आज लाली, पाउडर र क्रिम घसेर हाम्रो अगाडि आएका हुन्। आधुनिक युगका दर्शन, ज्ञान, कला, साहित्य, विज्ञान र प्रविधिका अनेक रूपहरू प्राचीन कालका मानिसहरूको खोज र अनुसन्धानको नयाँ संस्करण मात्र हो। दर्शन शास्त्रीय मान्यता अनुसार हरेक मानव समाजको एउटा अलग दर्शन हुन्छ। जसलाई समाज दर्शन भनिन्छ। त्यही समाज दर्शनको मार्गचित्रमा मानिस हिँडी रहेका हुन्छन्।

पश्चिमी सभ्यतामा एउटा फरक दर्शनको रुपमा समाज दर्शनको अध्ययन उन्नाईसौं शताब्दीको अन्त्य तिर सुरु भएको हो। तर यो कुरा पूर्वीय सभ्यतामा भने ऋग्वैदिक कालदेखि नै भएको थियो। पश्चिममा सुकरात, प्लेटो, अरस्तु र पूर्वमा ब्यास, मनु, कपिल, कणाद्, चाणक्य, याज्ञवल्क र गौतम बुद्धहरूले मानव र समाजको अध्ययन सुरु गरेका थिए। यसै गरी उन्नाईसौं शताब्दीको अन्त्य तिर पश्चिमा दार्शनिक काँन्ट महोदयले समाज दर्शनलाई एक अलग दर्शनको रुपमा स्थापित गरेको पाइन्छ।

समाज दर्शन दर्शनशास्त्रको एक नवीन शाखा हो। पहिले पहिले समाजशास्त्र र समाज दर्शनलाई एउटै विज्ञान मानिन्थ्यो। तर समाज दर्शन अरु सबै दर्शनहरू भन्दा भिन्न र विशिष्ट भएको कुरालाई स्वीकार गर्दै दार्शनिकहरूले यसलाई एउटा अलग दर्शनको रूपमा खोज, अध्ययन, परिमार्जन र सबल बनाउँदै आएको पाइन्छ।

समाज दर्शन एउटा त्यस्तो दर्शन हो जसले समाजका मूलभूत नियम, मूल्य, मान्यता, पद्धति, समाज परिचालनका दृष्टिकोण र मूल्यहरूको बारेमा दार्शनिक अध्ययन गर्दछ। अर्थात् समाज दर्शन त्यो शास्त्र हो जसले समाज र सामाजिक जीवनका हरेक पक्षहरूको दार्शनिक रूपले अध्ययन गर्दछ।

देशको वर्तमान सन्दर्भमा यो कुरा हामी प्रस्ट रूपमा देख्न र बुझ्न सक्छौँ। हाम्रा सञ्चार माध्यम, बुद्धिजीवी, कर्मचारी, राजनीतिक पार्टी र केही नेताहरूले सेटिङ, अग्रगमन, कानुनको बर्खिलाप, संविधानको मिचिएको र लोकतन्त्रको रक्षार्थ भनेर के. पी. ओलीको सरकारलाई बहिर्गमन गराउन जे जस्ता सोच, दृष्टिकोण र अभियानहरू चलाए त्यसले समाजको दर्शन र मनोविज्ञानलाई अस्तव्यस्त पारि दियो।

कुनै खास भीड, समूह र वर्ग मात्र समाज नभएकोले त्यस्तो भीड वा समूहको अध्ययन समाज दर्शनमा गरिँदैन। संक्षेपमा भन्ने हो समाज दर्शनले सामाजिक तथ्य, सत्यमा प्रमाणित हुने सामाजिक भावना, समाजका पूर्वकल्पित ज्ञान र नवीन कुराको अध्ययन गर्दछ। त्यस्ता नयाँ दृष्टिकोण र विचारले मानिसलाई अगाडिको बाटो देखाउँछ।

समाज दर्शनको सम्बन्ध मानव समाजसँग रहेको छ। समाज शब्द ज्यादै व्यापक र प्रचलित छ। खास कुनै समुदाय, भीड, भेला, सहकारी, क्लब, खेलकुद, मनोरञ्जन, व्यवसाय, पार्टी, समूह, गुट आदिलाई पनि समाज भन्ने प्रचलन पनि छ। तर यो कुरा भ्रमपूर्ण छ । समाज त्यस अमूर्त समूहलाई भनिन्छ जहाँ मानव र उसको सम्पूर्ण विषयको चेतनायुक्त सम्बन्ध रहेको हुन्छ। त्यस्ता सम्बन्ध बारे समाजमा बस्नेहरूलाई त्यस बारेमा चेतना, ज्ञान र अनुभव पनि हुन्छ। चेतना युक्त सम्बन्धको व्यवस्था नै समाज हो। समाज दर्शनका अनुसार जीवित वस्तुहरूमा जस्तै समाजमा पनि एक प्रकारको चेतना हुन्छ।

समाजका अनेक लिखित अलिखित सम्बन्धमा बाँधिएर बस्दा मानिसको विचार र व्यवहार पनि यिनै सम्बन्धबाट निर्धारित हुन्छन्। यस्तो सामाजिक पद्धतिमा निश्चित चेतना पनि रहेको हुन्छ। चेतनाको एउटा सम्बन्ध बिना समाज बन्दैन। अपवाद बाहेक, त्यस्तो चेतनालाई आत्मसात् नगरी कोही पनि समाजको सदस्य बन्न सक्दैन। पशु, वनस्पति र निर्जीव पदार्थबिच पनि सम्बन्ध त हुन्छ तर सो सम्बन्ध बारे तिनीहरूलाई कुनै चेतना हुँदैन। यस कारण पशु, वनस्पति र अन्य तत्त्वहरूको कुनै समाज हुँदैन।

समाजको कारखानाबाट उत्पादित असल वा कमसल दर्शन रूपी सामान मानिसले दैनिक प्रयोग गरी रहेको हुन्छ। त्यसले ठिक गरोस् वा बेठीक गरोस्। किनकि समाजमा सत्य र तथ्यहरूको उत्खनन गरेर वास्तविकताको नजिक पुग्ने कठिन काम धेरै जसोले गर्न चाहँदैनन्। त्यसैले उनीहरू नेता, शिक्षक, सञ्चार माध्यम, बुद्धिजीवी, कर्मचारी, राजनीतिक पार्टी, व्यापारी, कलाकार र समाजका अनेक क्रियाशील समूहको फेर समातेर अघि बढ्न बाध्य हुन्छन्।

यस्तो बाध्यता वा कमजोरीले व्यक्ति, समाज र देश गलत दिशामा जान पनि सक्दछ। किनकि समाज दर्शन बनाई दिने समाजका मुख्य पक्षहरू नै खराब छन् भनेँ असल माल त उत्पादन गर्दैनन्। समाजमा बस्ने मानिसको लागि असल बाटो देखाउने सही दर्शन त्यो समाजले उत्पादन गर्दैन भने त्यहाँ दिसाहीनता, अनुशासनहीनता, अराजकता, भ्रम र विभाजनको खेती फस्टाउन थाल्छ। समाज दर्शनले समाजको मनोविज्ञान निर्माण गर्दछ। त्यही मनोवैज्ञानिक चेतनाले मानिस अगाडि बढी रहेको हुन्छ।

हाम्रो देशको वर्तमान सन्दर्भमा यो कुरा हामी प्रस्ट रूपमा देख्न र बुझ्न सक्छौँ। हाम्रा सञ्चार माध्यम, बुद्धिजीवी, कर्मचारी, राजनीतिक पार्टी र केही नेताहरूले सेटिङ, अग्रगमन, कानुनको बर्खिलाप, संविधानको मिचिएको र लोकतन्त्रको रक्षार्थ भनेर के. पी. ओलीको सरकारलाई बहिर्गमन गराउन जे जस्ता सोच, दृष्टिकोण र अभियानहरू चलाए त्यसले समाजको दर्शन र मनोविज्ञानलाई अस्तव्यस्त पारि दियो।

अझ भनौँ कि उल्टो बनाई दियो। त्यसबाट जनताको केही पङ्क्तिमा भ्रम र अराजकताले सजिलै सङ्क्रमण गर्‍यो। प्रतिगमन भयो, संविधानको मिचियो, लोकतन्त्र समाप्त भयो, समावेशिता हटाइयो, निरङ्कुशता लादियो, राजतन्त्र फर्किने भयो र सबै समाप्त भयो भनियो। त्यस कारणले कैयौँलाई यो कुरा भएकै हो कि जस्तो पनि लाग्यो। समाजको मनोविज्ञानलाई उल्टो पार्ने गरी काम गरे पछि मानिसका धारणाहरू पनि उल्टो भई दिन्छन्। त्यसका केही उदाहरणहरू यस्ता छन्।

राष्ट्रपतिले विघटन गरेको प्रतिनिधि सभालाई अदालतले पुनर्स्थापित मात्र गरेन कि यो दिनको, यो समयमा, यो व्यक्तिलाई प्रधानमन्त्री बनाउनु र पहिलेको प्रधानमन्त्रीलाई अब उक्त पदमा नल्याउनु भन्ने किसिमको आदेश दियो। साथै सांसदबाट प्रधानमन्त्री चयन गर्ने उपयुक्त बाटो बन्द गरियो। वैचारिक रूपमा वामपन्थी रूझानको सरकार अपदस्त गरी दक्षिणपन्थी सरकार बनाउन वामपन्थीहरू नै अग्रसर भए, त्यसलाई अग्रगमन भनियो। संविधान र कानुनमा कतै केही भएकै थिएन तर संविधानको रक्षा गर्‍यौँ भनियो।

पार्टी भित्र कुनै वैचारिक लडाई थिएन तर पार्टी विभाजन गरी हामी एकीकृत वामपन्थी पार्टी भयौँ भनियो। पार्टी विभाजन गरेर स्वार्थ पूर्तिको खुद्रा पसल खोलियो र त्यो पसललाई देश भरिकै सबैभन्दा ठुलो पसल भनियो। साथै त्यस्तो पसल खोल्ने राजनीतिक साहूजी र पसलका कारिन्दालाई सबैभन्दा महान् भनियो। पसल खोल्न सघाउनेलाई मान्, पदवी, अलङ्कार, विभूषण, तक्मा, पुरस्कार र स्याबासी पनि दिइयो।

मन्त्री र राजनीतिक पदमा नियुक्ति पनि दिइयो। दुई महिना बित्दा पनि मन्त्री मण्डल बनाउन नसक्ने, नागरिकका समस्यामा बोल्न नसक्ने, देशको भूमि मिचिँदा सामान्य समस्या भन्ने, बजेट 'होलिडे' को अवस्थामा जाने, सुकुम्वासीको अधिकार खोस्ने, आफ्नो नागरिक अन्याय पूर्वक मारिँदा विरोधसम्म गर्न नसक्ने यस्तो चरम प्रतिगमनलाई मानिसहरूले अग्रगमन भन्नु पर्ने बाध्यता अहिले प्रायोजन गरिएको समाज दर्शन र मनोविज्ञानको कारणले आएको हो ।

इन्द्र जात्राको यो पवित्र अवसरमा अग्रगमनको मुखुण्डो लगाएको प्रतिगमनको नाच यहाँका नेता, सञ्चार माध्यम, बुद्धिजीवी, राजनीतिक पार्टी र समाजमा सक्रिय समूहले नाचिरहेका छन्। जब मानिसले यस्तो गलत समाज दर्शन र मनोविज्ञान बुझ्छन् तब उनीहरूको मुखुण्डो उत्रिन्छ। अनि यस्तो नाचलाई मानिसले भद्दा मनोरञ्जन मानेर हेर्न छाडि दिन्छन्। किनकि मानिसले सधैँ वास्तविकतामा आधारित नयाँ दर्शन र मनोविज्ञानको नाच खोजी रहेका हुन्छन्।