प्रज्ञा–प्रतिष्ठानद्वारा नेपाली बालसाहित्यको इतिहास लेखिँदै

प्रज्ञा–प्रतिष्ठानद्वारा नेपाली बालसाहित्यको इतिहास लेखिँदै

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन ५, २०७८

 काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली बालसाहित्यको समग्र इतिहास लेखन कार्यको थालनी गरेको छ । प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान परियोजनाअन्तर्गत उक्त कार्यको थालनी भएको हो । वर्तमान नेपालको सङ्घीय संरचनाअनुकूल सात प्रदेशमा भएका बालसाहित्य लेखन, प्रकाशन र बालगतिविधिहरूको समग्र चित्र आउने गरी अलग अलग सात जनाले र भारतीय र बर्मेली नेपाली बालसाहित्यको एक जनाले र अमेरिकी तथा युरोपेली देशहरूमा रहेका नेपाली स्रष्टाहरूबाट लिखित बालसाहित्यको इतिहास एक जनाले लेख्ने गरी नौ जना विज्ञहरूको समूह यस कार्यमा लागिसकेको जानकारी प्रज्ञा–प्रतिष्ठानले दिएको छ ।

गत भदौ २९ गते बालदिवसका अवसरमा प्रज्ञा भवनमा आयोजित ‘प्रज्ञा बालकविता महोत्सव–२०७८’ का अवसरमा प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले यस कुराको औपचारिक घोषणा गर्नुभएको थियो । यस अवसरमा प्रदेश नं. एकको नेपाली बालसाहित्यको इतिहास कवि तथा समालोचक मिश्र वैजयन्तीले र प्रदेश नं. दुईको इतिहास बालसाहित्यका स्रष्टा तथा समालोचक नवराज रिजालले लेख्दै हुनुहुन्छ । यसरी नै कृष्ण सुवेदी (भारद्वाज मित्र) ले बाग्मती प्रदेशको, गङ्गा कर्माचार्य पौडेलले गण्डकी प्रदेशको, डा. शालिकराम पौडेलले लुम्बिनी प्रदेशको, जागेश्वर उपाध्यायले कर्णाली प्रदेशको र रामचन्द्र नेपालले सुदूरपश्चिम प्रदेशको नेपाली बालसाहित्यको इतिहास लेख्दै हुनुहुन्छ । साथै भारतको असमकी डा. दैवकीदेवी तिमसिनाले भारतीय र बर्मेली नेपाली बालसाहित्यको र हाल अमेरिकामा रहेका कवि तथा समालोचक लालगोपाल सुवेदीले डायस्पोरा (युरोप, अमेरिका आदि) को नेपाली बालसाहित्यको इतिहास लेख्दै हुनुहुन्छ ।

आगामी मङ्सिर महिनासम्ममा सबै क्षेत्रको लेखनकार्य सकिने र ती नौओटै सामग्रीलाई एकै ठाउँमा संयोजन गरी यही आर्थिक वर्षमा ‘नेपाली बालसाहित्यको इतिहास’ नामक कृति प्रकाशन गर्ने योजना रहेको जानकारी परियोजना संयोजक तथा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ । 

पछिल्लो समयमा बालबालिकाको प्रतिभा उद्घाटन, बालसाहित्यको अनुसन्धान र प्रकाशन जस्ता कार्यमा निकै सक्रिय देखिएको प्रज्ञा–प्रतिष्ठानले प्रज्ञाको इतिहासमा नै पहिलो पटक अर्धवार्षिक रूपमा ‘बालप्रज्ञा’ नामक बालपत्रिका प्रकाशनको थालनी गरी निरन्तर प्रकाशन गर्दै आएको छ भने यसअघि नै १०१ जना कथाकारहरूका बालकथाहरूको सङ्ग्रह ‘प्रज्ञा नेपाली बालकथा’ र १०७ जना गजलकारहरूका बालगजलहरूको सङ्ग्रह ‘प्रज्ञा नेपाली बालगजल’ कृतिहरू प्रकाशन गरिसकेको छ । यही मङ्सिर महिनाभित्रमा ‘प्रज्ञा नेपाली बालनिबन्ध’ र ‘प्रज्ञा नेपाली बालगीत’ प्रकाशन कार्यमा जुटेको प्रज्ञाले नेपाली बालकाव्य, बालउपन्यास र बालकथासँग सम्बन्धित विभिन्न अनुसन्धान कार्यहरू पनि गराइरहेको जानकारी प्राज्ञ डा. नेपालले दिनुभएको छ ।