नेप्सेमा दोहोरो अंकको सुधार

नेप्सेमा दोहोरो अंकको सुधार

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ५, २०७८

मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार ११४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको हो ।

नेप्से परिसूचक १३.८३ अंकले बढेर २ हजार ७१२.०७ अंकमा पुगेको छ । एक पटक ६४ अंकले परिसूचक बढे पनि अन्त्यमा १३ अंकले बढेर कारोबार बन्द भएको छ ।

मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ रुपैयाँको कारोबार भएको छ । सोमबार साढे ८ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो ।

मंगलबार सबैभन्दा धेरै कमाउनेमा मनकामना स्मार्ट लघुवित्त कम्पनीका लगानीकर्ताहरू छन्, जसको शेयर मूल्य ९८.९० रुपैयाँले बढेको छ ।

त्यस्तै, दोस्रोमा रूरू हाइड्रोपवरको शेयर मूल्य ६७ रुपैयाँले बढेर एक हजार २२७ रुपैयाँ पुगेको छ । तेस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य १७ रुपैयाँले बढेर ३८२ रुपैयाँ पुगेको छ । निफ्राले मंगलबार नै ८.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।