राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता गर्ने सरकारको निर्णय

राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता गर्ने सरकारको निर्णय

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ५, २०७८

काठमाडौं । अघिल्लो केपी ओली नेतृत्वको सरकारले राजनीतिक तवरले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय वर्तमान सरकारले गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक रूपमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसरी नै कर्णाली करिडोरअन्तर्गत सिमकोट-दुल्लीकुनादेखि लाँलीबगरसम्मको सात किलोमिटर र लैफुबद्री गाउँदेखि हुक्काखोलासम्म १३.५ किलोमिटर सडकको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय पनि गरेको छ ।

कोभिड- १९ संकट व्यवस्थापनसम्बन्धी विधेयक संसदमा पेस गर्न स्वीकृति प्रदान गर्नेसमेत निर्णय गरेको कार्कीले बताए ।

औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधयेक र कोभिड- १९ व्यवस्थापन आदेश- २०७८ लाई लाई संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको पनि उनले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिने प्रतिनिधिमण्डल गठन गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिए ।