ओलीले दक्षिणपन्थी अवसरवादको दलदल र विसर्जनको दिशामा धकेलेकाले विद्रोह गरिएको होः माधव नेपाल

ओलीले दक्षिणपन्थी अवसरवादको दलदल र विसर्जनको दिशामा धकेलेकाले विद्रोह गरिएको होः माधव नेपाल
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  आश्विन ५, २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीका कारण पार्टी फुटेको बताएका छन् ।

आज पार्टीको केन्द्रीय कमिटीमा पेस गरिएको आफ्नो ३६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा उनले पार्टीको एकता जोगाउन आफूहरूले निरन्तर प्रयास गरेको तर ओलीका कारणले नेकपा (एस) गठन गरेको बताएका छन् ।

‘हामीले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न गर्‍यौँ तर केपी ओली पक्षले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि पार्टी र आन्दोलनलाई जोगाउन नेकपा (एमाले)को पुनर्गठन एवं रूपान्तरण गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन गर्न बाध्य भयौँ’, उनले भनेका छन्, ‘यो हामीले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षाका निम्ति गरेको सिद्धान्तनिष्ठ, जायज र अत्यावश्यक विद्रोह हो ।’

उनले प्रतिवेदनमा विगतमा पनि धेरै पटक यस्तै विद्रोह गरेर पार्टी र आन्दोलनलाई जोगाइएको समेत बताएका छन् ।
 
‘केशरजंग रायमाझीले पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा लगेका बेला कमरेड पुष्पलाललगायतका नेताहरूले विद्रोह गरेर पार्टी पुनर्गठन गरी आन्दोलनको रक्षा गर्नुभएको थियो’, उनले भनेका छन्, ‘मोहनबिक्रम सिंहलगायतका नेताहरूले पनि विद्रोह गरेर नै पुनर्गठन अभियान चलाउनुभएको थियो ।’ 

उनले कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएका बेलामा झापा संघर्ष, मुक्ति मोर्चा विद्रोह, बर्रे संघर्ष आदि विद्रोहहरू गरेर पनि पार्टी पुनर्गठन अभियान संचालन गरी नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गरिएको उल्लेख गरेका छन् ।  

‘आज फेरि नेपाली कम्युनिस्ट आन्दोलनलाई केपी ओलीले दक्षिणपन्थी अवसरवादको दलदल र विसर्जनको दिशामा धकेलेकाले त्यसबाट पार्टी र आन्दोलनलाई बचाउनका निम्ति विद्रोह गर्नु अनिवार्य भएकाले यो विद्रोह गरिएको हो’, उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।