अस्थायी शिक्षकलाई स्वतः स्थायी गर्न नसकिने

अस्थायी शिक्षकलाई स्वतः स्थायी गर्न नसकिने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २५, २०७६

काठमाडौँ– लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने सरकारले स्पष्ट पारेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने प्रष्टयाएका छन् ।

बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले एक पटक लिइएको परीक्षामा अनुतीर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिकसत्र भित्रै सम्मानका साथ विदाई गर्ने योजना पनि अघि सारे ।

सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन एक पटक परीक्षा लिएको थियो । तर अब त्यसरी पुनः परीक्षा लिएर स्थायी गराउन कानुनले नै नमिल्ने मन्त्री पोखरेलको तर्क छ । 
मन्त्री पोखरेलले गुणस्तरीय शिक्षामा जोड दिइरहेका बेला परीक्षामा अनुतीर्ण भएका अस्थायी शिक्षकहरुलाई स्वतहः स्थायी गर्न व्यवहारिक  नहुने समेत स्पष्ट पारेका छन् ।

उनले अस्थायी शिक्षकहरुलाई आर्थिक सहायता सहित विदाई गर्न सरकार लागिपरेको पनि स्पष्ट पारेका छन् ।  बैठकमा समितिका सदस्यहरुले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।