संसद्‌का 'एक्ला बृहस्पति', जो बोलिरन्छन् हरेक सवालमा

संसद्‌का 'एक्ला बृहस्पति', जो बोलिरन्छन् हरेक सवालमा

न्युज कारखाना  |  समाचार  |  आश्विन ६, २०७८

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरू आफू बसेको स्थानबाट उठेर रोस्टम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटा नाराबाजीपछि कहिले बैठक स्थगित गराउँछन्, कहिले जबर्जस्ती कार्यसूचीमा प्रवेश गराउँछन् ।

सभामुखले बैठक सुरु गरेपछि सत्तपक्षका सांसद कुर्सीमा हुन्छन्, विपक्षी रोस्टम अघि । तर, बैठकमा एक जना यस्ता सांसद छन्, जो यतिबेला न सत्तापक्ष हुन्, न त प्रतिपक्ष नै । 

नारा लगाउने र सभामुखलाई सहयोग गर्ने सांसदको बीचमा बैठकमा मोटो फाइल लिएर हरेक दिन उपस्थित हुन्छन्, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल । अचेल तिनै सुवालले धानेका छन्, सत्ता र प्रतिपक्ष दुवैथरी सांसदको व्यवस्थापकीय भूमिका । 

सोमबार  विनियोजन विधेयक, २०७८ पारित गर्ने कार्यसूची थियो । प्रतिपक्षलाई नारा लगाउने चटारो थियो भने सत्तापक्षलाई पारित गराउने हतारो । यी दुवैको स्वार्थभन्दा टाढा देखिए सांसद सुवाल ।

विधेयकमा सुवालबाहेक कसैले संशोधन हालेनन् । न त यसअघिका विधेयकमा नै हाले । सत्ता र प्रतिपक्षको रस्साकस्सीबीच संसदीय पद्धतिलाई जीवन्त बनाउने एक मात्र पात्र बनेका छन् सुवाल । 

विधेयकमा उल्लेख भएका विभिन्न मन्त्रालय, कार्यालय, एवं सचिवालय शीर्षकका रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको एक मात्र प्रस्ताव उनैले गरे ।  बजेटमार्फत ल्याइएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका सबै विधेयकमा उनले संशोधन प्रस्ताव राख्ने, निर्णयार्थ पेस गर्न बाध्य पार्ने र छलफलमा सहभागी हुने गरिरहेका छन् । तर, सत्ता र प्रतिपक्षका सांसद भने यतिबेला यो भूमिकालाई बिर्सिएर बसेका छन् । 

सुवाल मात्र यस्ता सांसद हुन्, जो संसदीय परंपरा र पद्धतिलाई विषम बेलामा पनि जीवन्त राख्ने ‘एक्ला बृहस्पति’ बनेका छन् । गत २३ भदौदेखि संघीय संसदको नवौँ अधिवेशन सुरु भएको छ । त्यसयता बसेका प्रतिनिधिसभाको बैठकमा भएका छलफलमा भाग लिने एक्ला सांसद हुन् सुवाल । 

‘बैठकमा पेस हुने हरेक नीति तथा कार्यक्रम, विधेयकमाथिको छलफलमा भाग लिनु जनप्रतिनिधि जिम्मेवारी हो, धर्म हो’, सांसद सुवाल भन्छन्, ‘आवश्यक परे संशोधन प्रस्ताव पनि हाल्नुपर्छ ।’

संसद्को नवौँ अधिवेशनका चालू बैठकमा मात्र होइन, उनी यसअघिका अधिवेशनका बैठकमा पनि सक्रिय रूपमा सहभागी हुने गरेका थिए । ती बैठकमा पेस भएका नीति तथा कार्यक्रम र  विधेयकमाथि संशोधन प्रस्ताव गर्ने र छलफलमा भाग लिने गरेका उनी सरकारको कार्यशैली, सामाजिक, आर्थिक, सांस्कृतिकलगायतका विषयमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउँछन् ।  

‘जनताले सुम्पिएको जिम्मेवारी पूरा गर्नुप¥यो नि !’, सुवाल भन्छन्, ‘जनताको समस्या समाधानमा आवाज उठाउन म हरेक छलफलमा सहभागी हुने गरेको छु ।’ 

उनी अधिकांश विधेयकमा संशोधन प्रस्ताव पेस गर्छन्, त्यसलाई बैठकले अस्वीकृत गर्छ । तर, यसप्रति उनलाई कुनै गुनासो छैन । अरू सांसदहरूले संशोधन प्रस्ताव नहाल्नेदेखि छलफलमा भाग नलिएकामा पनि उनको कुनै प्रतिक्रिया छैन । 

‘म आफ्नो जिम्मेवारी निर्वाह गर्छु, अरू माननीयका कुरा म जान्दिनँ । बैठकले अस्वीकृत गरे पनि आफ्नो तर्फबाट राख्नुपर्ने प्रस्ताव पेस गर्छु, बोल्नुपर्ने विषयमा म बोल्छु’, सांसद सुवाल न्युज कारखानासँग भन्छन्, ‘बैठकले अस्वीकृत ग¥यो भन्दैमा अब संशोधन प्रस्ताव पेस नगरौँ भन्ने कहिल्यै मनमा उठेन । सायद आफ्नो जिम्मेवारीबोधले होला ।’

हालसम्म कति संशोधन प्रस्ताव पेस गरे, उनैलाई थाहा छैन । ‘कति संशोधन प्रस्ताव पेस गरेँ भन्ने हेक्का छैन, फाइल हेर्नुपर्छ’, उनले भने ।