जरिमानामय नर्कमा डुबुल्की : 'बरु नरक जान परोस्, यातायात कार्यालय जान नपरोस् ' !

जरिमानामय नर्कमा डुबुल्की : 'बरु नरक जान परोस्, यातायात कार्यालय जान नपरोस् ' !

रूपक अलङ्कार  |  दृष्टिकोण  |  आश्विन ६, २०७८

यस पटकचाहिँ समयमै काम सक्नुपर्छ भनेर २०७७ चैतको दोस्रो साता लाग्नेबित्तिकै म चाबहिलको यातायात कार्यालय पुगेँ । उसो त समयभन्दा अगाडि कर तिर्ने, नवीकरण गर्नेजस्ता काम गर्दा उत्पात मच्चिने पो हो कि भनेर हामी समय सकिने दिन या थप समय पनि सकिने दिन कार्यालयमा हाजिर हुन्छौँ । असिनपसिन, उछिनपाछिन, भनसुन जस्ता उपाय लगाएर काम सक्न खोज्छौँ, हुँदै भएन भने जरिमानामा डल्लिन्छौँ । विगतमा त्यस किसिमको जरीमानामय नर्कमा डुबेर पाएको दु:ख सम्झना आइरहेकाले यस वर्ष म अलिक समयमै यातायात कार्यालय जान बाध्य भएको थिएँ ।

सशुल्क पार्किङमा बलजफ्तीले मोटरसाइकल अड्याएर भित्र छिरेँ । सेवाग्राहीहरू आआफ्ना लाममा बद्ध छन् । कर्मचारीहरू कर्ममा कटिबद्ध छन् । वातावरण सौहार्द छ । समयमै काम होला जस्तो लागेर मेरो मन पुलकित पनि भयो । म पनि ढड्डाको फोटोकपी निकाल्न लामबद्ध भएँ । १५ मिनेट पनि नकाट्दै फोटोकपी मेरो हातमा पर्‍यो । एउटा काम कति छिटै सकियो !

चालक अनुमतिपत्र र ढड्डाको व्यहोरा रुजु गर्न पुन: पंक्तिबद्ध भएँ । काम चलिरहेकै छ । लाम अघि बढेकै छ । रुजु गर्ने कर्मचारी रहेछन् झन् मिजासिला । केके भन्छन्, हँसाउँछन् । कहिले सरकारलाई गिज्याउँछन्, कहिले हामीलाई । सरकारलाई गाली गर्दा नहाँस्ने त यो देशमा को छ र ? स्वयं प्रधानमन्त्री पनि सरकारलाई गाली गर्दा हाँसेका छन् भने हामी को ?

म्यासेजबाट सरकार पनि रहेछ र यसले कहिलेकाहीँ जनताको कुरा पनि सुन्दो रहेछ भन्ने लाग्यो । यातायात व्यवस्था विभागले पक्कै पनि यस विषयमा न्यायपूर्ण निर्णय गर्ला । गर्नुपर्छ । नत्र नागरिक त अन्यायको सिकार हुनेछन् । बिनाकसुर जरिमाना तिर्न को राजी हुन्छ ? अथवा तिराउने हक कसलाई छ ? अदालत छ । न्याय छ भनेर पनि चित्त बुझाउनुपर्‍यो नि !

जब मेरा कागजपत्रको रुजु हुने पालो आयो, हँसाउन त उनी हँसाइरहेकै थिए तर मेरो हाँसोमा भने बिराम लाग्यो । यातायात कार्यालयको बहीखातामा मेरो चालक अनुमतिपत्रको नवीकरण म्याद चैट भइसकेको रहेछ । तर, अनुमतिपत्रमा भने अझै २ महिना बाँकी थियो । भो त अब ! कर्मचारी थिए निकै मिजासिला । उनले भने, 'यसमा तपाईंको गल्ती छैन । तपाईं ठीक समयमै आउनुभएको छ । यो त्रुटि यातायात व्यवस्था विभागको हो । तर, यहाँबाट तपाईंको समस्या समाधान हुँदैन । एकान्तकुना जानुहोस् ।'

उनले त्यति भनिसकेपछि त्यहाँ बसिरहने कुरो आएन । एकान्तकुना गएर काम सक्ने कुरो आयो ।

एकान्तकुनाको राजस्व कार्यालय कस्तो कुख्यात ठाउँ भन्नेमा यो देशका जनता धेरै नै जानकार छन् । त्यहाँ सेवाका नाउँमा पीडा बाँडिन्छ भन्न्नेमा त्यहीँका मान्छेलाई बढी थाहा छ । भगवान् प्रकट भएर 'लौ वर माग्' भनेमा मान्छेले 'बरु नरक जान परोस्, यातायात कार्यालय जान नपरोस्' भन्छ । पैसा तिर्न पनि पावर लगाउनुपर्ने मुलुक हाम्रो मात्र होला कि अरू पनि होलान् संसारमा ? 

द्वारमा खडा हुनेबित्तिकै बिचौलियाहरूबाट मेरो हार्दिक स्वागत भयो । किसिमकिसिमका सेवा र शर्त आए । एउटा बिचौलियाको आसेपासेले त मलाई झन्डै तानेन त ! भन्यो, 'तपाईंले आफैँ गर्छु भने पनि आज तपाईंको काम सकिँदैन । हामीलाई दिने भए एक घन्टामा काम तमाम हुन्छ ।'

उसले यसरी तर्सायो कि मानौँ कम हुने नै रहेछ भने पनि उसले हुनै दिँदैन । त्यसो गर्नु उसको कर्तव्य नै हो । मैले आफ्नो समस्या बताएर कागजपत्र देखाएपछि ऊ हच्किगयो । मलाई फ्याट्टै नछाडे पनि उसको मप्रतिको अनिच्छा प्रस्ट थियो । तैपनि, उसले मलाई उसको नाइकेका सामु उभ्यायो । नाइकेलाई कुरा बुझायो । नाइकेले पनि कुरा बुझ्यो । के बुझ्यो त भन्दा, म अरूभन्दा मोटो मुर्गा हुँ । उसले मलाई ढड्डाको फोटोकपी ल्याउन लगायो । लाममा नबसी माथिल्लो तलाबाट फोटोकपी ल्याएँ । म त चाबहिलले रिफर गरेको विशिष्ट व्यक्तित्व थिएँ नि त !

कागजपत्रसहितको मलाई पछि लगाएर दलाल (मेरै सहयोगका लागि हिँडेको आफ्नो पेसापरायण मनुष्यलाई मैले यसो भन्न नहुने थियो । यस्तो धृष्टता गर्नुपरेकामा मलाई खेद छ) कुनै अधिकारीको कार्यालयमा उभियो र सन्दर्भलाई सप्रसंग व्याख्या गर्‍यो । सम्पूर्ण विवरण श्रवण मननपश्चात् अधिकारीले निर्णय घोषणा गर्‍यो, 'हामीले यहाँको ढड्डामा जे छ, त्यही गर्ने हो । यहाँको लिखतानुसार उहाँले डब्बल दस्तुर तिर्नुपर्छ ।'

त्यो अधिकारीको कुरा सुनेर म अधिकारी खुत्रुक्कै परेँ । झोँक चलेर आयो । राम्रो गर्छु । समयमा गर्छु बन्दा पनि के हो यस्तो यो ?

मेरो खल्तीमा भएको अनुमतिपत्रमा म्याद नसकिँदै जरिमाना तिर्नुपर्ने स्थितिको सिर्जना हुने किमार्थ सह्य होइन । सैह्य नभएर पनि के गर्नु, कसैले कुरो सुन्ने होइन । मेरो विषादग्रस्त मानसिकतालाई सान्त्वना दिन त्यही अधिकारीले भन्यो, 'हुनत यस्तो समस्या धेरै आएका छन् तैपनि एक पटक कार्यालय प्रमुखलाई भेटेर कुरा गर्नुहोस् ।'

उसको सुझाव पनि ठिकै लाग्यो । म कार्यालय प्रमुखको कक्षमा पुगेँ । ठूला मान्छे प्राय: 'मिटिङ'मा हुने गर्छन् । मैले आफ्नो गुनासो उपप्रमुखका सामु राख्नुपर्ने भयो । म उपप्रमुखको कार्यकक्षमा दाखिल भएँ । उनी गुनासाहरू नै सुन्दै थिए । उनको हाउभाउ र बोलीवचन अवलोकन गर्दा त्यति पाषाण हृदयका होइनन् किझैँ लाग्यो ।

पहिले त मैले आफ्नो हालत बताएँ । मुस्कानसहितको सेवामा बानी परेका उनले हाँसेरै भने, 'यस्तो समस्या त हजारौँको भएको छ । यो हाम्रो कार्यालयको त्रुटि होइन, यातायात व्यवस्था विभागको हो । हामीले विभागलाई पटक पटक भन्दा पनि यो समस्या समाधानका लागि केही गरेको छैन ।'

उपप्रमुखबाटै यसकिसिमको लाचारीपूर्ण उत्तर सुनेपछि म ढुक्क भएँ- अब यहाँबाट केही हुुँदैन । तैपनि कार्यालयका हाकिम हुन्, यसै त के फर्किनू ? त्यसो भए मैले के गर्ने ? नरम हुनुको विकल्प के छ र ! 'कि विभागले कुनै निर्णय गर्ला अनि परेको तिरौँला भन्नुहुन्छ भने पनि ठिक छ, होइन, सरकारलाई तिर्ने हो अहिले नै जरिमानासहित तिर्छु भने पनि ठीक', हाकिमसा'ब बोले ।

'मसित भएको लाइसेन्समा म्याद सकिएको छैन । कुन मनले जरिमाना तिर्ने सर ? यसरी जरिमाना तिराउन तपाईंहरूलाई अलिकति अप्ठ्यारो पनि लाग्दैन ?', मैले आफ्नातर्फबाट ठीकै कुरा गरेँ ।

'लाग्छ नि लाग्न त । हामीले नि विभागको निर्णयबिना आफैँ केही गर्न सक्दैनौँ', कस्सिए हाकिम ।

यसरी तर्कवितर्कबाट पार नपाइने देखेर उपप्रमुखले मलाई एउटा सल्लाह दिए, 'यसो गर्नुहोस्, हुनत मैले यो कुर्सीमा बसेर तपाईंलाई यस्तो सल्लाह दिन नैतिकताले दिँदैन । तैपनि, हल्ला नगर्नुहोला, यो सल्लाह मात्र हो । तपाईं यी सबै बेहोरा खुलाएर हेल्लो सरकारमा उजुरी गर्नुहोस्, के थाहा, सरकारले सुनी पो हाल्छ कि !'

उनको सल्लाहमा पनि मलाई उति विश्वास त होइन, तत्काललाई त्यहाँबाट निस्किने बहाना बनेकाले म उनलाई नमस्कार गरेर फर्किएँ ।

त्यसै दिन मैले हेल्लो सरकारको अन्तर्जालीय गुनासालयमा आफूले भोगेका हन्डर, ठक्करदेखि सबै कुरा खुलाएर कागजपत्रको प्रमाणसहित उजुरी दर्ता गरेँ । त्यसपछि लकडाउन भयो । कर्यालयहरू देशलाई महामारीबाट बचाउन बन्द गरिए । मेरा लागि 'लाइसेन्स रिन्यु'को 'च्याप्टर' पनि तत्कालका लागि 'क्लोज' भयो । तैपनि, लाइसेन्सको विषयबाट म मानसिक रूपले प्रताडित त भइरहेँ नै । जेजे गरे पनि अब त मसँग भएकै लाइसेन्सको मितिअनुसार पनि 'एक्स्पायर' भयो नै । समयमै नवीकरण गर्छु भनेर जाँदा पनि मेरो बिजोग भयो ।

यस्तै चिन्ताकुल भइरहेकै अवस्थामा एक दिन म्यासेज आयो । Dear Rupak Adhikari, your complain (HS-WEB-13741) is under processing by Department of Transport Management- HelloSarkar(01-4211087 || https://gunaso.opmcm.gov.np) यस म्यासेजबाट सरकार पनि रहेछ र यसले कहिलेकाहीँ जनताको कुरा पनि सुन्दो रहेछ भन्ने लाग्यो । यातायात व्यवस्था विभागले पक्कै पनि यस विषयमा न्यायपूर्ण निर्णय गर्ला । गर्नुपर्छ । नत्र नागरिक त अन्यायको सिकार हुनेछन् । बिनाकसुर जरिमाना तिर्न को राजी हुन्छ ? अथवा तिराउने हक कसलाई छ ? अदालत छ । न्याय छ भनेर पनि चित्त बुझाउनुपर्‍यो नि !

यो मेरो मात्र समस्या वा कुनै व्यक्तिविशेषको मात्र समस्या होइन । कुनै व्यक्तिलाई मात्र भए अन्याय होस् भनेर त सरकारले भन्ने पनि होइन । हजारौँ मानिस यातायात व्यवस्था विभागबाट भएको यस्तो असावधानीको सिकार भएका छन् भन्ने कुरा त त्यहीँका अधिकारीबाट पनि सुन्न पाइयो । त्यति हुँदाहुँदै पनि विभागले कानमा तेल हाल्नु भने लज्जास्पद कुरा हो ।