बिनासल्लाह मन्त्री नियुक्त गरेकामा पौडेल खेमा असन्तुष्ट, बोलायो बैठक

बिनासल्लाह मन्त्री नियुक्त गरेकामा पौडेल खेमा असन्तुष्ट, बोलायो बैठक

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ६, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा एकलौटी रूपमा मन्त्री नियुक्त गरेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल खेमा असन्तुष्टि जनाएको छ । पौडेल खेमाले यही विषयलाई लिएर बैठक बोलाएको छ । महामन्त्री डा. शशांक कोइराला निवास महाराजगंजमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

प्रधानमन्त्री देउवाले आजै सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा खड्कालाई परराष्ट्रमन्त्रीका रूपमा नियुक्ति गर्ने सहमति बनेको थियो ।  

प्रधानमन्त्री देउवाले हालसम्म पार्टीका तर्फबाट परराष्ट्रमन्त्रीसहित ४ जना मन्त्री नियुक्त गरेका छन् । तर, पौडेल खेमाले भने अहिलेसम्म कुनै मन्त्रालय पाएको छैन ।

उता, सभापति देउवाले पनि कांग्रेसको पदाधिकारी बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ३ बजे निजी निवास बूढानीलकण्ठमा पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् ।