'छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध कायम रहनेछ': परराष्ट्रमन्त्री खड्का

'छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध कायम रहनेछ': परराष्ट्रमन्त्री खड्का
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ६, २०७८

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने बताएका छन् । 

परराष्ट्र मन्त्रालयमा आज अपराह्न पद बहाल गरेपछि संचारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रिय हितलाई सर्वोपरि मानेर छिमेकी राष्ट्र चीन र भारतसहित विश्वका सबै मुलुकहरूसँग  सुमधुर एवं सन्तुलित सम्बन्ध कायम गरिने बताएका हुन् । 

उनले भने, 'नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवर्द्धन गर्न सबै राजनीतिक दलसँग विचार विमर्श गरी अघि बढ्नेछौँ । सबै राजनीतिक दलहरूको सहमतिका आधारमा मुलुकको परराष्ट्र नीति संचालन गरिनेछ ।'

वर्तमान विश्व परिवेशमा बाह्य सम्बन्ध सहज, सुदृढ एवं सुमधुर बनाउन आवश्यक भएको र अहिले दक्षिण एसिया अन्तर्राष्ट्रिय समुदायको दृष्टिमा रहेको चर्चा गर्दै परराष्ट्र मन्त्रालयलाई अझ गतिशील आधुनिक प्रविधियुक्त बनाउन हरसंभव प्रयास गर्ने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गरे ।

उनले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’, अमेरिकी अनुदान सहायता ‘मिलिनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी)’ र हिन्द-प्रशान्त रणनीतिको अध्ययन गरिने र नेपालको राष्ट्रिय हितविरुद्ध कुनै किसिमको सम्झौता नगरिने स्पष्ट पारे ।  

विभिन्न देशहरूमा राजदूतको नियुक्ति नभएको र भएका देशहरूबाट पनि फिर्ता बोलाइएको सन्दर्भमा सोधिएको प्रश्नको जबाफमा सम्बन्धित देशको संस्कृति, संस्कार, अन्तर्राष्ट्रिय भाषा र कूटनीतिको ज्ञान भएका योग्य व्यक्तिलाई नियुक्ति गरिने उनले बताए ।

आजै साँझ संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कतर्फ प्रस्थान गर्ने र त्यहाँ रहँदा विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्री खड्काले जानकारी दिए ।

उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनमा अवद्ध मुलुकका विदेशमन्त्रीहरूसँग छलफल गर्ने जानकारी दिँदै यस्ता भेटघाट देशका हित प्रवर्द्धनका साथै कूटनीतक सम्बन्ध विस्तार गर्न सहयोगी हुने बताए ।