को हुन् परराष्ट्रमन्त्री डा. नारायण खड्का ?

को हुन् परराष्ट्रमन्त्री डा. नारायण खड्का ?

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ६, २०७८

परराष्ट्रमन्त्री डा. नारायण खड्काको जन्म ७ चैत २००५ मा भोजपुरमा भएको हो । २०२३ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका छन् ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा उदयपुर- १ बाट संविधानसभा सदस्य निर्वाचित खड्का २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

सोही स्थानबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित डा. खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य छन् । २०७० सालमा उनी शहरी विकासमन्त्री थिए भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार थिए ।

उनले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रूपमा काम गरिसकेका छन् । राजनीतिक आन्दोलनका क्रममा काठमाडौं र विराटनगरमा पटक पटक पक्राउ परेका खड्का विभिन्न समयमा गरी ५ पटक जेल पनि परेका थिए ।

राजनीतिसँगै अध्ययन र समाजसेवमा विशेष रुचि राख्ने मन्त्री खड्का ४ दशकदेखि राजनीतिमा सक्रिय छन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी नेपाली कांग्रेसका प्रभावशाली नेता मानिन्छन् ।