मुम्बई इण्डियन्स पाँचौं पटक फाइनलमा

मुम्बई इण्डियन्स पाँचौं पटक फाइनलमा
जीतपछि खुसी मनाउँदै मुम्बईका हार्दिक पाण्ड्या । तस्बिर : आइपिएलटिट्वान्टी डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २५, २०७६

चेन्नई । मुम्बई इण्डियन्स इण्डियन्स प्रिमियर लिग (आइपिएल)मा पाँचौं पटक फाइनल पुगेको छ ।

मंगलबार राती सम्पन्न आइपिएलको पहिलो क्वालिफायरमा मुम्बई चेन्नईलाई हराउँदै फाइनल पुगेको हो । यसअघि मुम्बई सन् २०१०, २०१३, २०१५ र २०१७ को फाइनल पुगेको थियो । यीमध्ये सन् २०१० मा बाहेक सबै मुम्बईले जितेको छ ।

मुम्बईलाई पाँचौं पटक फाइनल पुर्याउन सूर्यकुमार यादवको ब्याटिङ र स्पिनर बलरको मुख्य भूमिका रह्यो । सूर्यकुमारले अभिजित ७१ रन बनाएपछि मुम्बईले १३२ रनको लक्ष्य ९ बल अगावै पूरा गर्यो । ५४ बलको सामना गरेका सूर्यकुमारले आफ्नो इनिङमा १० चौका प्रहार गरे ।

त्यसअघि स्पिनर बलरले कसिलो बलिङ गरेपछि चेन्नई चार विकेट गुमाएर १३१ रनमा समेटिएको थियो । चेन्नईका अम्बाती रायडुले अभिजित रहँदै ४२ रन जोडे भने कप्तान महेन्द्रसिंह धोनीले पनि अभिजित रहँदै ३७ रन जोडे । अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् ।

चेन्नईको ब्याटिङ ध्वस्त पार्न मुम्बईका तीन स्पिनरले ११ ओभरमा चार विकेट लिएर ६० रन मात्रै खर्चिए । सबैभन्दा किफायती र उत्कृष्ट बलिङ राहुल चहरले गरे । उनले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए । यस्तै, कुर्नाल र जयन्तले एक–एक विकेट लिए । चार ओभर बलिङ गरेका कुर्नालले २१ रन खर्चिए भने तीन ओभर बलिङ गरेको जयन्तले २५ रन दिए ।

खेलको म्यान अफ दि म्याच सूर्यकुमार घोषित भए ।