रोहिंग्या मुस्लिम 'शरणार्थी 'को काठमाडौँमा ओइरो : मानव तस्करद्वारा नेपालमा भत्ता र तेस्रो मुलुकको प्रलोभन !

रोहिंग्या मुस्लिम 'शरणार्थी 'को काठमाडौँमा ओइरो : मानव तस्करद्वारा नेपालमा भत्ता र तेस्रो मुलुकको प्रलोभन !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ७, २०७८

काठमाडौँ । पछिल्लो समयमा मानव बेचबिखन ओसारपसारका तस्करहरू नेपालबाट बाहिर लैजान मात्र होइन बाहिरबाट राज्य दमनका परेका मानिसहरूलाई तेस्रो मुलुकको प्रलोभनमा परेका रोहिंग्या  मुस्लिम समुदाय लगायतका मानिसहरूलाई मोटो रकम लिएर नेपालमा ल्याउने धन्दा मौलाउन थालेको छ ।

 यसै क्रममा  काठमाडौँको कपनमा करिब ४ सय जना रोहिंग्या मुस्लिमहरू बसोबास गर्दै आएका छन् । उनीहरू म्यानमारबाट बंगलादेश र भारतको बाटो हुँदै नेपाल आएर बसोबास गरे पनि उनीहरूलाई सरकारले शरणार्थीको मान्यता भने  दिएको छैन ।

तर कपनका दुई वटा साना साना शरणार्थी क्याम्पमा उनीहरू बसोबास गर्दै आएका छन् । खासगरी सन् २०१२ पछि म्यानमारका रखाइन राज्यमा सरकारी सेनाले दमन गर्न थालेपछि त्यहाँबाट लाखौँको सङ्ख्यामा रोहिंग्या मुस्लिम समुदायका मानिसहरू ज्यान जोगाउन छिमेकी मुलुकतिर भाग्न थालेका थिए ।

सन् २०१६ पछि त्यहाँबाट विस्थापित हुने क्रम तीव्र बन्यो । म्यानमारबाट छिमेकी देशहरू बंगलादेश, भारत हुँदै नेपालसम्म मात्रै होइन, डुङ्गाहरू र साना पानीजहाजमार्फत सुरक्षाको खोजीका उनीहरू मलेसिया, इन्डोनेसिया हुँदै अस्ट्रेलियासम्म पुगेका छन् । 

नेपालमा पनि यही क्रममा रोहिंग्या शरणार्थी भित्रिए र कपनमा बसोबास गर्न थालेका छन् । तर पछिल्लो समयमा नेपालमा शरणार्थीका रुपमा बसेका यी दुई वटा क्याम्पभन्दा बाहिर समेत रोहिंग्याको बसोबास सुरु भएको बताइन्छ । पछिल्लो समयमा बंगलादेशमा शरण लिइरहेका रोहिंग्या शरणार्थीहरूलाई नेपालमा ल्याएको आरोपमा ३ जना पक्राउ परेका छन् । रोहिंग्यालाई मानव तस्करी गरी नेपाल ल्याइपुर्‍याएको पाइएपछि उनीहरूलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । 

राष्ट्रसंघीय शरणार्थी निकायलेले निर्धारण प्रक्रिया पूरा गरेकाहरूलाई मात्रै शरणार्थीको मान्यता दिने गरेको छ । तर नेपालमा पछिल्लो समयमा रोहिंग्याको निरन्तरको आगमनले शरणार्थी सङ्ख्या बढ्ने सम्भावना बढ्दै गएको छ । 

गत भदौमा मात्रै यसरी तस्करी गरेर ल्याइएका १४ जना रोहिंग्या शरणार्थीहरू काठमाडौँ आइपुगेपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । नेपालमा रोहिंग्या ल्याएको आरोपमा पक्राउ परेकामध्ये २ जना काठमाडौँमा बस्दै आएका रोहिंग्या र एक जना बंगलादेशी नागरिक रहेको प्रहरीले जनाएको छ । 

कसरी नेपाल आइपुग्छन् रोहिंग्या ?

मानव बेचबिखन ओसारपसार गरेर ल्याएको जानकारी पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । बंगलादेशबाट भारत ल्याएपछि त्यहाँबाट खुला सिमाना हुँदै रोहिंग्याहरुलाई नेपाल ल्याउने गरेको पाइएको प्रहरीले जनाएको छ । बंगलादेशको शिविरबाट काँकडभिट्टा नाका हुँदै नेपाल ल्याउने गरेको पाइएको छ ।

बंगलादेशबाट करिब तीन दिनको यात्रापछि उनीहरू नेपाल आइपुग्ने गरेको पाइएको छ । रोहिंग्यालाई नेपाल ल्याउने गिरोहका तीनै जनालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

बंगलादेशमा रहेका शरणार्थीसँग डेढ लाखभन्दा बढी रकम लिएर नेपालबाट तेस्रो मुलुक जान सकिने प्रलोभन देखाएर नेपाल ल्याउने गरेको देखिएको छ । पक्राउ परेका तीनै जनालाई ब्युरोले मानव बेचबिखन तथा ओसारपसार कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कसुर प्रमाणित भए उनीहरूलाई अधिकतम २० वर्षसम्म जेल र दुई लाख रुपैयाँ जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ । उनीहरूलाई भुटानी शरणार्थीजस्तै नेपालबाट अमेरिका र युरोप लैजाने व्यवस्था हुने वा नेपाल बसुन्जेल पनि भत्ता पाइने प्रलोभन देखाएर उनीहरूबाट रकम असुल्ने गरेको पाइएको छ ।

रोहिंग्याको भाषा बुझ्ने मानिस नभएका कारण कपनस्थित रोहिंग्या शिविरबाटै दोभासे ल्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ । नेपालमा आएका अधिकांश रोहिग्याहरु पर्यटक भिसामा नेपाल छिर्ने गरेका छन् । 

करिब एक दशकअघिदेखि नै नेपालमा रोहिंग्याको प्रवेश हुन थालेको देखिन्छ । गत सन् २०१६ पछि बंगलादेशमा हिंसा बढेपछि नेपालमा रोहिंग्याको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । अहिले कपनमा मात्रै दुई वटा क्याम्पमा चार सय बढीको बसोबास छ । 

तस्करहरूको प्रलोभनमा परी गत महिना नेपाल आएका १४ जना रोहिंग्यालाई पनि नेपालस्थित राष्ट्रसंघीय शरणार्थी नियोगको समन्वयनमा कपनको शिविरमा राखिएको प्रहरीले जनाएको छ ।

यद्यपि त्यहाँका रोहिंग्याहरु भने उनीहरूलाई त्यहाँ नराखिएको दाबी गर्छन् । उनीहरू आफूहरू नयाँ शरणार्थी ल्याउँदा अवैध रुपमा भइरहेको यही बसाई पनि खतरामा पर्ने त्रासमा रहेको बताउँछन् । कतिपय त कपन क्षेत्रमा भाडामा समेत बस्ने गरेको उनीहरूको भनाई छ । 

नेपालमा रोहिंग्याको बढ्दो उपथितिपछि प्रहरीले सीमा क्षेत्रमा समेत कडाइ गरेको छ । 

गैर कानुनी बसोबास

करिब ४ सय जना रोहिंग्या मुस्लिमहरू गैर कानुनी रुपमा बसोबास गर्दै आएका छन् । नेपालले भुटानी र तिब्बती बाहेकका शरणार्थीहरूलाई शरणार्थीको मान्यता दिएको छैन । नेपालमा आइसकेका शरणार्थीहरूलाई सरकारले राष्ट्रसंघीय शरणार्थी नियोगको समन्वयमा बसोबास गर्न दिने गरेको छ ।

नेपालमा हाल बसोबास गर्ने सबैभन्दा ठुलो शरणार्थी सङ्ख्या नै रोहिंग्या को छ । नेपालमा म्यानमारका मात्रै नभएर पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशजस्ता दक्षिण एसियाली देशबाहेक इरान र सोमालिकाका समेत शरणार्थी रहेका छन् ।

राष्ट्रसंघीय शरणार्थी निकायलेले निर्धारण प्रक्रिया पूरा गरेकाहरूलाई मात्रै शरणार्थीको मान्यता दिने गरेको छ । तर नेपालमा पछिल्लो समयमा रोहिंग्याको निरन्तरको आगमनले शरणार्थी सङ्ख्या बढ्ने सम्भावना बढ्दै गएको छ ।