नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा भुसाल

नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा भुसाल

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ७, २०७८

नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन् । आजै केही समयपछि बस्ने केन्द्रीय कमिटीको बैठकले भुसाललाई महासचिवमा घोषणा गर्ने तय भएको बताइएको छ ।

महासचिवमा भुसालसहित मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधार, प्रकाश ज्वाला र डा. विजय पौडेललगायतले दाबी गरेका थिए ।

पार्टी उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाललाई प्रस्ताव गरिएको छ । उपमहासचिवमा प्रकाश ज्वाला र डा. विजय पौडेल, सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठलाई प्रस्ताव गरिएको छ । 

आज बस्ने बैठकले महासचिवसहित, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यबारे निर्णय गर्नेछ । एकीकृत समाजवादीको अन्तरिम विधानअनुसार पार्टीमा अध्यक्ष एक, वरिष्ठ नेता एक, उपाध्यक्ष ७, महासचिव एक, उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारी रहनेछन् । यी सबै गरेर ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी केन्द्रीय कमिटी १५१ सदस्यीय हुनेछ ।

यस्तै, केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहनेछन् । अध्यक्षमा माधव नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल यसअघि नै तोकिसकेको छ ।