कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध छ: देउवा

कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध छ: देउवा
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ७, २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । 

पर्वतको कुश्मा बजारस्थित बीपी स्मृति भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन् ।

सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको उल्लेख गर्दै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा भर्चुअल माध्यमबाट उनले भने, 'हामी आफ्नै शक्तिले देशको ठूलो पार्टी हुने हो । कम्युनिस्ट फुटेका कारण ठूलो पार्टी हुने होइन ।' 

वरिष्ठ नेता पौडेलले पछिल्लो समय नेपाली कांग्रेसमा लोकतान्त्रिक मूल्य, मान्यतामा ह्रास आएको बताउँदै आन्तरिक लोकतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिए । उनले कांग्रेसको आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्ने बताए । 

कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले पार्टीभित्र गुटबन्दीको अन्त्य हुनुपर्नेमा जोड दिए । 

११ कात्तिक २०६६ मा शिलान्यास गरिएको सो भवन झण्डै १२ वर्षमा सम्पन्न भएको छ । कुल एक करोड ४७ लाख रुपैयाँको लागतमा सो भवन निर्माण भएको समितिका संयोजक जोशीले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि विभिन्न संघसंस्था, व्यक्ति तथा शुभेच्छुकसँग रकम संकलन गरिएको छ । संकलित रकममध्ये ६५ लाख रुपैयाँ बचत भएको र यसलाई अक्षय कोषमा राखिने उनले जानकारी दिए ।