नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ७, २०७८

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज ७ दिन अवधिको रिपो जारी गर्न लागेको हो । 

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही १४ असोजमा परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । 

यसअघि नेराबैंकले गत १७ भदौमा ७ दिन अवधिको २० अर्ब, २४ गते १४ दिनको ३० अर्ब र ३१ भदौमा २० अर्ब रुपैयाँ रिपोमार्फत उपलब्ध गराएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले नियमित रूपमा एसएलएफ सुविधा लिने गरेका छन् । 

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले चालू आवमा बुधबारसम्म ४ खर्ब ९ अर्ब ५६ करोड रुपैयाँ एसएलएफमार्फत उठाएका छन् । बैंक वित्तीय संस्थाले बुधबार मात्र १२ पटकमा २७ अर्ब २४ करोड रुपैयाँ एसएलएफमार्फत उठाएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।